नारी दिवस सार्थक बनोस्



आज नारी दिवस । नारी उन्मुक्तिको दृष्टिले यस दिनको विशेष महत्व छ । सम्बन्धित सरकारी निकाय एवम् महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले यो दिवस मनाउने क्रममा देशभर ¥याली, गोष्ठी र अन्तरक्रिया गर्दै छन् । यसरी विभिन्न कार्यक्रम गरी हरेक वर्ष महिला दिवस मनाउनु महिला उन्मुक्ति एवम् सशक्तीकरणका लागि राम्रो कुरा हो ।

तर महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको शताब्दी नाघिसक्दा पनि आज महिलाहरु अपहेलित भएर बाँच्नुपरिरहेको अवस्था छ । आज पनि महिलालाई बोक्सीको आरोपमा अपमानित ढंगले हत्या गर्ने जस्तो कार्य रोकिन सकेको छैन । त्यसैले नारी दिवस यस्तो गरी मनाउऔं कि जसले महिला हिंसा रोकियोस्, व्यावहारिकरुपमै महिलाले आफ्ना अधिकारहरुको उपयोग गर्न सकून् ।

महिलाका विषयमा जति भाषण छाँटे पनि अहिलेसम्म समाज र संस्कार चलाउन छोरा नै चाहिन्छ भन्ने मान्यताले जरो गाडेको छ । छोरीको जन्मलाई निषेध गर्ने कार्यमा महिलाहरु आफैंलाई पनि लाग्न बाध्य पारिएको छ । लिंग पहिचान गरी गर्भमा छोरा देखिए राख्ने र छोरी भए तुहाउने कार्य मुलुकभरि व्याप्त छ । कतै दाइजोको निहुँमा महिलालाई यातना दिइएको छ त कतै बोक्सीको आरोपमा मलमूत्र खुवाइएको छ । आफ्नै बाबु तथा हजुरबा नाता पर्नेहरुले समेत बलात्कारका प्रयास गरेका समाचार आइरहन्छन् ।

महिलाका लागि सरकारले केही गरेन भन्नचाहिँ सकिँदैन । उनीहरुका लागि केही क्षेत्रमा सरकारले कोटा छुट्याएको छ तर पूर्णरुपमा सबै महिलाले यसको प्रतिफल प्राप्त गर्न सकेको देखिँदैन । महिला भएकै आधारमा आरक्षित कोटामा परेका उच्च जातका, समृद्ध, घरानिया, टाठाबाठा र सम्भ्रान्त महिलाले तुलनात्मकरुपमा आरक्षण व्यवस्थाको भरपूर फाइदा उठाइरहेका छन् । आरक्षण पाउनुपर्ने वास्तविक लक्षित वर्गले आरक्षणको उपयोग गर्न सकेको देखिँदैन । हाल अपनाइएको आरक्षण व्यवस्थालाई लक्षित वर्गका महिलासम्म सहजरुपमा पु¥याउनका लागि यसमा देखिएका कमी–जोरीहरुलाई सुधार्न जरुरी छ ।

पुरुषले नारी हक–अधिकारका बारेमा ठूला भाषण गर्ने भन्दा पनि हरेक पुरुषले वर्षभरि नै आ–आफ्ना घरमा नारी–मैत्री वातावरण निर्माण गर्नु अपरिहार्य छ । अनि मात्र गाउँ, समाज हुँदै राष्ट्रिय स्तरमै नारीको सम्मान हुन्छ । महिला एवम् पिछडिएको वर्गको हकहितमा बढी नै जोड दिई निर्वाचनमा समेत सफलता हात पारेको एनेकपा पार्टीको नेतृत्वमा सरकार बनेको छ । सोही पार्टीकै नेतृ राष्ट्राध्यक्षमा छिन् । महिला नै राष्ट्रप्रमुख भएको यस अवस्थामा महिला उत्थानका कार्यक्रम राज्यको प्राथमिकतामा पर्नुपर्छ ।

जुनसुकै निहुँमा महिलामाथि हुने अन्याय, उत्पीडन र विभेदको समूल अन्त्य गर्दै हिजोको भन्दा फरक धारमा आममहिलालाई उभ्याउन सक्नुपर्छ यो नारी दिवसले । कर्मकाण्डीरुपमा नभएर सार्थक र उपलब्धिमूलक बनाउन सकियो भने मात्र दिवस मनाउनुको औचित्य हुन्छ । नारी दिवस सार्थक बनोस् ।

प्रतिक्रिया दिनुहोस्