धर्मका नाममा हुने विकृति बन्द होस्



सोमबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर महाशिवरात्रि पर्व मनाइयो । शिवजीका मन्दिरमा मात्रै होइन घर–घरमा विशेष पूजाआजा भए । आमनेपाली हिन्दूहरुले यो पर्वलाई उल्लासका साथ मनाए । हिन्दूहरु रहेको भारत, बंगालादेश, मलेसिया, अमेरिकालगायतका देशहरुमा पनि विविध कार्यक्रमको आयोजना गरी महाशिवरात्रि मेला लाग्यो । हरेक धर्मका आ–आफ्नै मान्यता र परम्परा रहेका हुन्छन् । जस्तै– क्रिश्चियन धर्म मान्नेहरुले ख्रिट्मसको बेलामा अनेकौं खर्च गरेर चौचकी र बाउबकी गर्छन्, जुन कुराको केही अर्थ नहुन सक्छ । त्यस्तै हिन्दूले दशैंमा लगाउने टीकादेखि तिहारमा खेलिने देउसीसम्मको विषयमा बेतुकको परम्परा भनेर प्रश्न उठ्ने गरेको छ । उता इस्लामिकहरु इदको बेलामा एक महिनासम्म निराहार बस्नु र रातको समयमा अनावश्यक खानु अनि अन्तिम दिन भगवान्का नाममा गरिने खर्चको विषयमा पनि बेला–बेलामा प्रश्न खडा हुने गरेको पाइन्छ ।

धर्म र संस्कारअनुसारका कर्महरु चलिआएका हुन्छन् । हामीले मनाउने जनसुकै धर्म पनि निकै समयपहिलादेखि चलिआएका धर्म हुन् । ती कर्महरु तत्कालीन समयमा पच्ने र आवश्यक पनि रहेका हुन सक्छन्, जुन कुरा इतिहासका अध्येताहरुले गरेको खोज–अनुसन्धानबाट प्रस्ट भएका छन् । महाशिवरात्रि मनाइरहँदा अन्य पर्वहरुमा जस्तै केही विकृत रुपहरु देखा परे, जुन कुरा सुधार गर्न आवश्यक छन् । शिवजीको प्रसादका नाममा नेपालको कानुनले बन्देज गरेका लागुऔषधजन्य पदार्थहरुको यस वर्ष पनि लुकिछिपी प्रयोग भए । कतिपय घर, मन्दिरमा भएका कार्यक्रमहरुमा गाँजा, चरेश, धतुरोजस्ता वस्तुहरु प्रसादको नाम दिएर प्रयोगमा आए । यस्ता वस्तुहरु मानव स्वास्थ्यको लागि हानिकारक भन्दै राज्यले बन्देज लगाएको कुरालाई हामीले हेक्का राख्न जरुरी छ ।

पर्वहरुको आ–आफ्नै महत्व हुन्छ । यिनै पर्वहरुको बहानामा आफ्नो निहित स्वार्थका लागि केही मानिसले लादेका कर्महरुलाई हामीले कतै धर्मको मर्म मानेर व्यवहारमा ल्याएका त छैनौं ? यो कुराको सबैले हेक्का राख्न जरुरी छ । पर्वका नाममा अनावश्यक गरिने खर्च, अनावश्यक खाइने खाना, लुगाफाटा, विलासिताका वस्तुहरुको प्रयोग र अनावश्यक कार्यक्रमहरुले हाम्रो सर्वनाश त गरिरहेका छैनन् ? यो कुरा कसले खोज्ने ? पर्वकै नाममा हामीले प्रयोग गरेका वस्तुहरुका कारण निम्तिने सामाजिक विकृतिको कसले जिम्मेवारी लिने ? त्यसैले हरेक धर्म, सम्प्रदायमा रहेका पर्वहरु मनाउँदा समय अनुकूल परिमार्जन र परिस्कृत गर्दै अहिलेको समाजको माग र अहिलेको जीवनको आवश्यकताका आधारमा मनाऊँ । पर्व मनाउँदा भएको कमजोरी कसैको जीवनको अभिशाप नबनोस् ।
– सुविक्षा बोगटी, एयरपोर्ट, काठमाडौं ।

नेपालको हवाई मार्ग किन यति असुरक्षित ?
पर्यटनमन्त्री रवीन्द्र अधिकार र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथीभरा क्षेत्रमा गत हप्ता भएको हेलिकोप्टर दुर्घटनाले थुप्रै पाठहरु सिकाएको छ । सावधानी नअपनाउँदा देशले ठूलो क्षति व्यहोरेको छ । प्रतिकूल अवस्था रहँदारहँदै पनि मन्त्री र हेलिकोप्टर धनीलाई चाँडो गन्तव्यमा पु¥याउने दबाब चालकमा देखिन्छ नै, तर दुर्घटनाको कारण यति मात्र पनि नहुन सक्छ । दुर्घटनाको कारण जेसुकै भए पनि मानवीय त्रुटि नै प्रमुख कारण हुन्छ ।

प्रतिकूल मौसममा यात्रा गर्नुहुँदैन भन्ने सर्वमान्य कुरा हो तर हामी यात्रा गर्दा आफ्नो जीवन बिर्सन्छौं र जति सक्दो चाँडो गन्तव्यमा जान हतारिन्छौँ । आगामी यात्रा सुरक्षित छ भन्ने ढुक्क नभई यात्रा गर्नु राम्रो मानिदैन तर पनि हामीले त्यही गरिरहेका हुन्छौँ । यसकै कारण बर्सेनि दुर्घटना भइरहेका हुन्छन् । नेपालमा पटक–पटक विमान दुर्घटना हुने गरेका छन् । विमानभन्दा अझ सुरक्षित मानिने हेलिकोप्टर पनि दुर्घटना भइरहेका छन् ।

नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ । नेपाली आकाश असुरक्षित बन्दै जानुका थुप्रै कारण छन् । त्यसैले, सम्बन्धित निकायले ती समस्यालाई केलाएर आगामी दिनमा आवश्यक कदम चाल्न जरुरी छ । त्यसै गरी, विगतका दुर्घटनाको कारणहरुलाई हेरेर सम्बन्धित सबैले पाठ सिक्न आवश्यक छ । अतः नेपालको आकाशलाई सुरक्षित बनाउन जिम्मेवार सबै निकाय गम्भीर बन्न जरुरी छ ।
– नवीन रोका, भक्तपुर ।

खानेपानी संरक्षण गरौं
प्राकृतिक स्रोत–साधनको सही ढंगले सदुपयोग गर्न नसक्दा सिन्धुलीका विभिन्न क्षेत्रमा शुद्ध खानेपानीको समेत अभाव हुँदै आएको छ । प्राकृतिक सम्पदाको राम्रो व्यवस्थापन गर्न सकिएन भने स्रोत उपलब्ध भएर मात्रै केही हुँदैन । सिन्धुलीमा अहिले पनि धेरै जनसंख्याले स्वस्थकर एवं पिउनयोग्य पानी खान पाएका छैनन् । अहिले पनि जिल्लाका भित्री ठाउँहरुमा खोला किनारका जरुवा, पोखरी, कुवाको पानी पिएर जीवन गुजार्नेहरुको संख्या ठूलो छ ।

शहरीकरणतर्फ अगाडि बढ्दै गएको सिन्धुलीको कमलामाई नगरपालिकालगायतका क्षेत्रमा अहिले नै खानेपानीको समस्या छ भने आगामी दिनमा यो संकट अझ बढ्ने निश्चित छ । सुरक्षित खानेपानी नहुँदा रोगी बढ्ने हुँदा स्वास्थ्यमा सुधार ल्याउन पनि सुरक्षित खानेपानी आवश्यक छ ।
खानेपानी र सरसफाइको अभावमा कुनै मानवीय क्षति हुन नदिन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्छ ।

जिल्लामा बढ्दो शहरीकरणबाट खानेपानीमा पुग्ने क्षतिको आँकलन गर्दै सन्तुलित विकासमा जोड दिन जरुरी छ । विपतको समयमा खानेपानीको अभाव र सरसफाइको कमीको कारण ठूलै महामारी आउन सक्ने सम्भावना भएकाले पूर्वतयारीको खाँचो छ । अतः खानेपानी र सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धिसहितका कार्यक्रमहरु निरन्तर सञ्चालन हुनुपर्छ ।
– सौरभ सुनार, सिन्धुली ।

प्रतिक्रिया दिनुहोस्