सहकारी धर्मराउँदा समृद्धिमा धक्का



सहकारीहरुलाई नियमन गर्ने मात्रै नभई सहकारीहरुको क्षमता अभिवृद्धि गर्ने अभिभावक संस्था जिल्ला सहकारी संघमा अनियमितताको पहाड चुलिँदा सम्बन्धित सरोकारवाला मौन छन् । अनियमितताको छानबिन गर्ने र कारबाही गर्ने निकायसमेत चुप बसिरहेका छन् ।

अख्तियारको सहित अधिकार प्राप्त जिल्ला प्रशासन कार्यालयसमेत सहकारीजस्तो पवित्र संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघमा भएको अनियमिततामा आँखा चिम्लिरहेको छ । हरेक दिनजसो ंसञ्चारमाध्यममा आएका समाचारले काभ्रेपलाञ्चोक जिल्लामा भएका सहकारी र सहकारी अभियानका अभियन्ताहरु सबै उस्तै हुन् कि भन्ने भ्रम सिर्जना हुन थालेको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा तथ्यांकका हिसाबले १ हजार ५ सयभन्दा धेरै सहकारी छन् । ती सहकारीहरुको छाता संगठन भनिएको जिल्ला सहकारी संघभित्र भएको अनियमिततामा किन सरोकारवाला निकाय मौन छन् ?

अनियमिततामा राजनीतिक गन्ध देखिन थालेको छ । काभ्रेपलाञ्चोक जिल्लाका सहकारी अभियानका अभियन्ताहरु भनिएकाहरुले सहकारीबाट सेवाभन्दा मेवा प्राप्त गरिरहेको महसुस भएको छ । सहकारी विभाग, मन्त्रालय तथा युएनडीपीको समेत सहयोगमा हुने कार्यक्रमहरुमा नक्कली बिलहरु तयार गरी भुक्तानी लिएका तथ्यहरु सार्वजनिक भएका छन् । सहकारी संघका अध्यक्ष विनोद पराजुली फलफूल तथा तरकारी व्यवसायीहरुको छाता संगठनका केन्द्रीय अध्यक्ष हुन् ।

युवा स्वरोजगार कोषबाट प्राप्त ऋणसमेत नतिरी कालोसूचीमा परेका पराजुलीलाई धुलिखेल नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष बनाइएको छ । सहकारी संघका सचिव दिलीप शर्मा र सञ्चालक ठाकुर अधिकारीसमेतको संलग्नतामा प्रकाशन नभएको पुस्तकमा भुक्तानी गरेको, खरिद नै नगरेको कम्प्युटरको भुक्तानी गरेको, एउटै कार्यक्रममा फर्जी बिल बनाएकोजस्ता दर्जनौं आरोपहरु लागेका छन् । आरोपहरु खण्डन गर्नुको सट्टा पत्रकारहरुमाथि आक्रमणमा सञ्चालक सदस्य उत्रिनुले अनियमिततामा थप प्रश्न तेर्सिएको छ ।

सहकारी अभियानलाई बदनाम गर्ने अभिप्रायका साथ अनियमितता गर्ने पदाधिकारी जोगाउन राजनीतिक चलखेल भएको छ । दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा राजनीतिक संरक्षणमा चोख्याउने षड्यन्त्रप्रति सिंगो सहकारी अभियन्ताहरुले खबरदारी गर्नुपर्छ । दोषीलाई कारबाही नहुँदा सहकारी अभियान भनेकै कमाउन र सदस्यहरुको रकममा मोजमस्ती गर्न हो कि भन्ने भ्रम पर्न जान्छ ।

अतः सहकारी संघ काभ्रेपलाञ्चोकमा भएको अनियमितता छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु जरुरी छ । अर्थतन्त्रको तीनखम्बे सहकारीको पिलर धर्मराउँदा मुलुकको समृद्धिमा धक्का पुग्ने निश्चित छ । देशभर रहेका विषयगत सहकारी संस्थाहरुको अवस्था, सहकारीमा नेतृृत्व गर्ने व्यक्तिहरुको आचरण र अनुशासन, जिम्मेवारी र दायित्वका बारेमा समेत बहस गर्नुपर्ने जरुरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्