वकिलहरुको महँगो निर्वाचन



बालकृष्ण मैनाली
निश्चित अवधिपछि भइरहने विभिन्न संघ–संगठनहरुको निर्वाचनहरुमध्ये २०७५ सालको अन्तिम महिनाको १६ गते कानुनी र सामाजिक अभियन्तामा दरिएका विशेष गरी रिस उठेको बेलामा पोखिने उद्गार ‘कालोकोटेहरु’को निर्वाचन सम्पन्न हुन गइरहेको छ । हुन सक्छ कुनै–कुनै कालोकोटेलाई यो शीर्षक र आलेखमा प्रश्न पनि उठ्न सक्छ । बारमा के विकृति छ अनि बारको निर्वाचन कसरी महँगो ? हो, यो कुरा र भनाइ जसले उठाउँछ उसका लागि ठीक नै हो तर थुप्रै कालोकोटे साथीहरुलाई चाहिँ प्रत्येकपल्ट हुने महँगो निर्वाचनजस्तै यो निर्वाचन पनि महँगो नै साबित हुन पुगेको छ । यो कालाकोटे आलेखकर्ता पनि यस कुरामा सहमति जनाउँछ । प्रजातान्त्रिक भन्ने शब्दको सबैको अधिकार क्षेत्रभित्र पर्ने भएकोले बाँकी पक्ष–विपक्षहरुको विचार अन्य कालाकोटे साथीहरुकै जिम्मा ।

वास्तवमा हुनुपर्नेचाहिँ २०४६ पछि अग्रज र अनुभवी कालाकोटेहरुले यस विषयमा ध्यान पु¥याई भर्खर उदयीमान हुन लागेका कालाकोटेहरुप्रति कुनै पनि बेला हाबी हुन सक्ने दलीय प्रवृत्तिलाई बेलैमा खबरदारी गराउँदै मात्र कानुनी शासन न्यायपालिकाको सुदृढीकरण र कालाकोटेहरुको विभिन्न क्षमता अभिवृद्धि र अन्य हितसम्बन्धी मुद्दाहरुलाई मात्र प्राथमिकता दिएर सबल संगठन बनाई आउने युवापुस्ताका कालेकोटेहरुलाई नेतृत्व हस्तान्तरण होला कि भन्ने आशामा बसेका प्रायः कालाकोटेहरु आजको मितिसम्म आइपुग्दा जिल्लिएको जिल्लिएकै छन् । विडम्बना ! बार बारको रुपमा रहन नसकेर अवस्थाअनुसार दलीय पक्ष–विपक्षमा रुपान्तरण हुन गई दलीय नेतृत्व अथवा खुङ्खार राजनीतिक व्यवसायीहरुले जुन भाषा बोल्छन् त्यही भाषालाई समर्थन गर्ने र वकालत गर्ने संस्थाको रुपमा कालाकोटेहरुको संस्था चित्रित भइरहेको छ ।

सरसर्ती कालाकोटेहरुलाई प्रायः तीन वर्गमा राखेर मूल्यांकन गर्ने गरिन्छ । पहिलो कानुनी र सामाजिक अभियन्ता, दोस्रो कानुनी अभियन्ता मात्र र तेस्रो सामाजिक अभियन्ता मात्र । पहिलो अभियन्ता कानुनी र सामाजिक अभियन्तामा पर्न जाने कालाकोटे साथीहरुचाहिँ देशमा भएको कानुनको माध्यमबाट समाजमा भैरहेको र देखिइरहेको सामाजिक विचलनलाई यथास्थानमा ल्याउन सहयोग पु¥याई समाजमा सुशान्ति कायम राख्ने सवालमा पनि योगदान पु¥याएका हुन्छन् । उदाहरणको लागि देशको विशेष गरी पश्चिमाञ्चल क्षेत्रमा व्याप्त सदियौंदेखि प्रचलनमा रहेको छाउपडी प्रथा अन्त्य गर्न यो वर्गमा पर्न जाने कालाकोटेहरुको भूमिका महत्वपूर्ण रहन्छ ।

दोस्रो वर्ग अर्थात् कानुनी अभियन्तामा मात्र रुचि राख्ने कालाकोटेहरु जसले प्रचलित कानुनको सेरोफेरोमा मात्र रही सेवा प्रदान गर्ने गर्दछन् । धेरै संंख्यामा कालाकोटेहरु यसै वर्गभित्र पर्दछन् । यस वर्गमा पर्न जाने कालाकोटेहरुले कानुनमा भएका छिद्रहरु केलाएर सेवाग्राहीहरुले चाहेअनुसारको सेवा प्रदान गर्ने जमर्को गर्दछन् । व्यावसायिकरुपमा यस खालका कालाकोटेहरु संख्यात्मकरुपमा बढी नै हुन्छन् । तेस्रो वर्गमा पर्ने सामाजिक अभियन्ताहरु अर्थात् कानुनको ज्ञान हासिल गरेको भए तापनि कानुनको छिद्रमात्र नखोजी पीडितको हकलाई सम्मानित गर्ने खालका कालाकोटेहरु । यस वर्गका कालाकोटेहरु सही सामाजिक मूल्य मान्यतालाई स्थापित गर्ने सवालमा लागिपरेका हुन्छन् ।

हारजितको विषयलाई महत्व नदिईकन उम्मेदवारी दिएर बारमा मौलाइरहेको दलीय विकृतिविरुद्ध आवाज उठाउन खोज्ने केही कालाकोटेहरुको सपना यसपालि पनि उम्मेदवार मनोनयनको महँगो शुल्कले गर्दा पूरा हुन सकेन । निर्वाचनमा नाम मनोनयन शुल्क देख्दा नै थुप्रै कालाकोटेहरुले निर्वाचनमा उम्मेदवारी देखाउने आँट गर्नै सकेनन् ।

जघन्य अपराधमा संलग्न कुनै पक्षले आफ्नो पक्षमा पूरा सफाइ पाउने वकालतको लागि अनुरोध गर्न आएमा ठाडै इन्कार गर्छन् र पूरा सजायमा सफाइ पाउन सकिँदैन, सजायमा केही कमी ल्याउने सवालमा वकालत गर्न सकिन्छ भन्ने अडानमा रहन्छन् यस खालका कालाकोटेहरु । यस्ता खालका कालाकोटेहरुसँग व्यावसायिक मुद्दामामिला हुँदै हुँदैन भने पनि हुन्छ । फौजदारी प्रकृतिको मुद्दाबाहेक अन्य जुनसुकै मुद्दामा पनि पक्षहरुलाई मिल्ने कुरामा नै जोड दिन्छन् यिनीहरु । यस प्रकृतिका कालाकोटेहरुको संख्याचाहिँ कम संख्यामा मात्र हुन्छ ।

यी विभिन्न वर्गमा रहेका कालाकोटेहरुको छाता संगठन नेपाल बारमा आगामी चैत्र १६ गते नयाँ नेतृत्वको चयन हुँदै छ । नेतृत्व चयनका सवालमा राजनीतिक गन्धबाट अलि टाढै रहेर नेतृत्व चयन भए हुन्थ्यो भन्ने यो आलेखकर्ताजस्ता थुप्रै कालाकोटेहरुको आशामा यसपालि पनि तुषारापात भइछाड्यो । बार स्वतन्त्र हुनुपर्दछ, कालकोटेहरु जुन–जुन दलीय आस्थामा विभक्त भए पनि कम्तीमा निर्वाचनको वेला कालाकोटेहरुले दलीय भक्तिबाट उन्मुक्ति प्राप्त गरी निर्वाचनमार्पmत नेतृत्व चयन हुनुपर्दछ र होस् भन्ने वर्षौंदेखिको शुभचिन्तकहरुको आशिष यसपालि पनि सार्थक हुन सकेन । दलीय विभक्त भई छाड्यो । निर्वाचनपूर्व जति पनि यो विषयलाई लिएर कुर्ले पनि त्यो कुर्लाइको कुनै अर्थ र महत्व रहेन ।

दलीयकरणले गर्दा यसको असर अर्को विषयमा पनि पर्न गएको छ । अर्थात् प्रत्येक बारको निर्वाचन महँगो पर्दै गएको छ । एउटा छाता संगठनको निर्वाचनमा लाख होइन, अब करोडौं खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । निर्वाचन प्रतिस्पर्धामा धनी कालाकोटेहरुकै वर्चश्व देखिने कुरामा मत बाझिँदैन । निर्वाचनमा नाम मनोनयन गर्ने शुल्कदेखि लिएर सबै प्रदेशमा रहेका सम्बन्धित मतदाताहरुलाई आफूप्रति आकर्षित गराउन गरिने तामझाम, गोप्य छलफल, विविध अश्वासन र सार्वजनिक हुन जाने प्रचारप्रसारका तडकभडक यो निर्वाचनमा पनि देखिन्छ भन्ने कुरामा कसैको मत बाझिँदैन ।

यदि मत बाझियो र साँच्चै खर्च कम भयो भन्ने कतै कुनै समाचार सुन्न र देख्नमा आयो भने अपवाद मान्नुपर्दछ । यस अर्थमा यसपालि जे–जस्तोरुपमा हुन्छ हारजितको विषयलाई महत्व नदिईकन उम्मेदवारी दिएर बारमा मौलाइरहेको दलीय विकृतिविरुद्ध आवाज उठाउन खोज्ने केही कालाकोटेहरुको सपना यसपालि पनि उम्मेदवार मनोनयनको महँगो शुल्कले गर्दा पूरा हुन सकेन । निर्वाचनमा नाम मनोनयन शुल्क देख्दा नै थुप्रै कालाकोटेहरुले निर्वाचनमा उम्मेदवारी देखाउने आँट गर्नै सकेनन् । यो वा त्यो नाममा दलीय अश्वासन प्राप्त उम्मेदवारहरुको नामावली दर्ता हुनु छुट्टै विषय भयो । निर्वाचनको लागि उम्मेदवारी हुन चाहनेहरुको लागि निर्धारण गरिएको शुल्कको विपक्षमा कसैले पनि मत जाहेर नगर्नु भनेको ‘ल आऊ न त आऊ, कोभन्दा को कम ! पैसा जाबो के कुरा, जति राखन शुल्क, तिर्न हामी तयार छौं’ भन्ने सन्देशलाई यसपालि पनि कायमै राखे कालाकोटधारीहरुले ।

भलै बारलाई आम्दानीमा केही वृद्धि भयो होला । अध्यक्षमा उम्मेदवारी दिन चाहनेको लागि ४० हजार, अन्य पदाधिकारीहरुको लागि ३० हजार र सदस्यहरुका लागि २० हजार शुल्क कायम गरिएको रहेछ यसपालिको निर्वाचनको लागि उम्मेदवारी शुल्क । यो शुल्क निर्धारणले बारलाई केही आर्थिक राहत पुगेकोचाहिँ हुनुपर्दछ, यो छलफलका लागि अलग विषय बन्न सक्ला । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको तथ्यलाई नियाल्दा आठजना अध्यक्षहरुको उम्मेदवारीबाट ४० हजारको दरले ३ लाख २० हजार, १७ जना उपाध्यक्ष, तीन जना महासचिव, तीनजना कोषाध्यक्ष गरी २३ जना पदाधिकारीहरुको ३० हजारका दरले ६ लाख ९० हजार र ३० जना सदस्यहरुको २० हजारको दरले ६ लाख गरी जम्मा १६ लाख १० हजार आम्दानी भएको छ बारलाई ।

यसमा उम्मेदवारी फिर्ता र अन्य शुल्क भए समावेश गरिएको छैन । एकातिर बारको आम्दानीलाई उपयुक्त ठानिए तापनि शुल्क वृद्धिको कारणले अन्य केही इच्छुक बारमा देखिएको विकृतिविरुद्धमा शुभ सन्देश प्रवाह गर्न खोज्ने केही कालाकोटे अभियन्ताहरुको नाम मनोनयन हुन नसक्नुचाहिँ दुःखको विषय हुन पुगेको छ । बार सञ्चालनको लागि समस्या नै पर्न गएमा सामान्य आह्वानले मात्र पनि स्वेच्छाले नै रकम जुट्ने अवस्था विद्यमान हुँदाहुँदै पनि उम्मेदवारी दर्ताको नाममा चर्को शुल्क लिनु उपयुक्त थिएन भन्ने चर्चालाई अन्यथा भन्ने ठाउँचाहिँ छैन ।

उम्मेदवारीहरुको अन्तिम नामावली प्रकाशित हुनुअघि र पछि गरी नेपाल बारको निर्वाचनसम्बन्धी आएका समाचार र आलेखहरुले आगामी बारको निर्वाचन पनि दलीय हस्तक्षेपबाट मुक्त रहनेछैन भन्ने कुरालाई नै यथेष्टरुपमा प्रमाणित गराई छाड्यो । विशेष गरी दुई खेमामा विभाजित दलीय पत्रिकाहरुले आ–आफ्ना दलप्रति आस्था राख्ने र सहयोग गर्ने कालाकोटे साथीहरु नै विजयी बन्ने कुराको फेहरिस्त प्रस्तुत हुन गएको कारणले पनि प्रायः देखिने घात–प्रतिघातको अवस्था आए पनि आखिर विजयी बन्ने र माला लगाउने कार्यचाहिँ दलीय पद्धत्तिअनुसार नै हुन्छ भन्ने कुरामा विमति नराख्दा हुन्छ भन्ने सन्देश नै प्रवाहित भयो । यस मामिलामा दलीय हस्तक्षेपको पछिल्लो ज्वलन्त उदाहरण पूर्वमहान्याधिवक्ता रमण श्रेष्ठको उम्मेदवारी रोक्न प्रधानमन्त्री पदकै दुरुपयोग भएको समाचार र अर्को देउवा र देउवा विरोधी गुटबीचमा उम्मेदवारी दिने सवालमा भएका अन्तर्संघर्षसम्बन्धी समाचार नै यथेष्ट प्रमाण बन्न पुगेको छ ।

बारमा दलीय विकृति अन्त्य गर्न चाहेको भए कालाकोटे साथीहरुले र अग्रजहरुले हस्तक्षेप गरेर भए पनि दलीय हस्तक्षेप बन्द गर्न सक्थे । सो कार्य गर्न धेरै समय लाग्दैनथ्यो । दलीय आस्था जे–जे भए पनि, मनमा जे कुरा राखे पनि, हामी कालोकोटधारीहरुले चाहे उम्मेदवारको रुपमा होस् वा सामान्यरुपमा होस् भनी हिँड्ने कुरा के हो भने– ‘हामी वकिलहरु आफ्नो व्यवसायी हितका लागि अनि राजनीतिक हस्तक्षेपका विरुद्ध, सुशासन, कानुनको शासन अनि न्यायपालिकाको सुदृढीकरणमा हाम्रो प्रतिबद्धत्ता रहनेछ’ भनेर नै बोल्दै हिँड्ने हो । त्यस कार्यको लागि प्रतिबद्ध भएर लाग्नेछौं भनेर हल्ला गर्ने नै हो ।

यदि बारम्बार फलाकिरहने यो कुरालाई सत्यमा परिणत गराउने प्रयास हुन्थ्यो भने सबै इच्छुक उम्मेदवारहरुलाई एकै स्थानमा भेला गराई प्रत्येकको बारलाई बारकै रुपमा कायम राख्ने रणनीतिबारे चर्चा–परिचर्चा गराइन्थ्यो । सकेसम्म निर्विरोध उम्मेदवारीको चयन हुने वातावरणको सिर्जना हुनुपथ्र्यो । त्यसको अलावा त्यसबीचमा कुनै पक्ष सहमतिमा आएर पनि वा नआईकनै निर्वाचनमा गए पनि त्यसलाई पराजित गराउने वातावरणको निर्माण गरिनुपथ्र्यो । विडम्बना ! यसपालि पनि यो गहन कार्य गर्नबाट बार चुक्न पुगेको छ । कम्तीमा अब निर्वाचनपश्चात् विजयी हुने सबै खेमाका कालाकोटे साथीहरुले आफ्नो कार्यकालमा यस विषयलाई गम्भीररुपमा सोच्नुहुनेछ र आगामी दिनमा बारलाई नयाँ दिशा प्रदान गर्नुहुनेछ भन्ने आशासहित निर्वाचित हुने जो–कोहीलाई अग्रिम बधाइका साथ शुभकामना !
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्