प्रदेश ५ को नाम र राजधानी तोक्न पुनः तीन महिना म्याद थप



यमलाल भुसाल, बुटवल ।
प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्न प्रदेश पाँचमा गठन गरिएको विशेष समितिको म्याद थप गरिएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले समितिको म्याद तेस्रो पटक थप गरेको हो ।

प्रदेशको नामाकरण र स्थायी राजधानीको सिफारिस गर्नकालागि गत साउनमा विशेष समिति गठन गरेको थियो । समितिले काम नगर्दै म्याद सकिएपछि यस अंगाडी हिउँदे अधिवेशनको सुरुमै तीन महिना म्याद थपिएको थियो । थपिएको म्यादमा पनि समितिले प्रतिवेदन पेश गर्न नसकेपछि पुन तीन महिनाकालागि म्याद थप गरिएको संसद सचिवालयले जनाएको छ । उक्त समितिको म्याद यहि फागुन २६ गते सकिँदै छ ।

समितिले बनाएका ६ वटा टोलीले हालैमात्रै प्रदेशका १२ वटै जिल्लामा पुगेर लिखित सुझाव संकलन गरेको छ । जस अन्तरतगत रुपन्देहीमा १६८, पश्चिम नवलपरासीमा ५९, पाल्पामा ८७, गुल्मीमा ७२, कपिलवस्तुमा १०१, वर्दियामा १११, बाकेमा १२६ , दागंमा २२८, अर्घाखाचीमा ११७, रुकुममा ६०, रोल्पामा ८९, प्यूठानमा १०४ वटा सुझाव सहितका फारम समितिले अध्ययनकालागि लिएर आएको छ । फारममा प्रदेशको राजधानी कहा राख्दा उपयुक्त हुन्छ, प्रदेशको नाम के राख्दा उपयुक्त हुन्छ लगायतका ८ वटा र नामकालागि तीन वटा प्रश्न सोधिएको थियो । प्रदेशको स्थायी राजधानी र नामाकरण कहिले टुंगो लाग्छ भन्ने अन्योल कायमै छ ।

बुधबारको प्रदेश सभा बैठकमा सामाजिक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश पाँच खेलकुद सम्वन्धि व्यवस्था गर्न बनेको बिधेयक पेश गर्नुभयो । त्यस्तै प्रदेश पाँच स्वास्थ्य सस्था स्थापना, सञ्चालन नबकिरण तथा स्तरोन्ती गर्न बनेको बिधेयक र प्रदेश पाँच बालबालिकाको हक अधिकार संरक्षण सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक माथी छलफल भएको छ । छलफलमा सांसदहरु जल्पा भुसाल, कमला बिक, गिता थापा, तिलकराम शर्मा र दीपा बिकले भाग लिनु भएको थियो ।

बैंठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले बर्दियाबाट निर्वाचित प्रदेश सभा सदस्य भूवनेश्वरप्रसाद चौधरीको घरमा रातीको समयमा भएको प्रहरी खानतलासीको बिरोध गर्दै निश्पक्ष छानविन गरि सदनलाई जानकारी गराउन माग गरेका छन् ।

बैठकमा सांसद सुरेन्द्रबहादुर हमालले सांसद चौधरीको घरमा केही दिन अंघि प्रहरीले खानतलासी गरेको र त्यस्तोकार्य निन्दनीय रहेको बताउँदै सत्यतथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

त्यस्तै सांसद दिपेशकुमार थारुले किसानलाई मलखादको व्यबस्था गर्न तथा प्रदेश पाँच र सात बिचको सीमा विवाद समाधान गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद वसिउद्धिन खाँले सांसद चौधरीको घरमा प्रहरीले गरेको व्यबहार दुःखद रहेको बताउँदै प्रहरीको उक्त व्यबसहारले साँसद चौधरीको मानमर्दन गरेकाले सत्यतथ्य सदनलाई जानकारी गराउन तथा यस्ता घटना नदोहोर्याउन माग गर्नुभयो । उहाँले मालपोत कार्यालयमा अनलाईन सिष्टम सञ्चालन भएकोमा विद्युत आपूर्ति बन्द हुँदा सेवा अवरुद्ध हुने गरेकाले वैकल्पिक उर्जाको व्यबस्था गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्