चिर परिचित कलाकारको गुनासो: राज्यले चिन्नै सकेन,मिडियाले स्थान दिएनन्



यमलाल भुसाल, बुटवल ।
राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको चिर परिचित कलाकारहरुले गुनासो गरेका छन् ।

बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतीक महोत्सव संचालन गरिरहेका र सोमा भागलिएका कलाकारहरुले मंगलवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेपालका राज्य संचालकहरुले कलाकारिता क्षेत्रको बिकास र संरक्षणका लागि आश्वासन बाहेक कलाकारलाइ कुनै प्रकारको सम्मान र स्थान नदिएको गुनासो गरेका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपालको कलाकारहरु चर्चामा आउन की त मर्न पर्ने की बिबादमा पर्नै पर्ने ? भन्दै प्रश्न गर्नु भएको थियो ।

नेपालमा अहिले मिडियाहरु धेरै खुलेका छन् तर कलाकारको चर्चा गर्न,लेख्न कन्जुस्याङ भएको भन्दै दुखेसो सुनाउनु भयो ।

‘कलाकारका लागि पत्रकार घर छाउने खर जस्तै हो ,पहिले कम मिडिया थिए, अहिले धेरै छन् तर पहिलेको तुलनामा कलाकारको चर्चा र महत्व कम भयो ,हाम्रो बेवास्था भयो की ?’ उहाँको कथन थियो ।

‘कि मर्न पर्ने की बिबादमा पर्नै पर्ने ?,हामी राज्यसंग पनि लडेकै छौं,हामी चाहन्थ्यौं राज्यको पांचौ अंग बनाइयोस् तर राज्यले अंग त दिएन,तर अब ढंग पुर्याओस् अंग चाहिएन उहाँको माग थियो ।’

उहाँले बुटवलमा जारी अर्ना दोहोरीलाइ सफल बनाउन सबैको सहयोग र पहल हुनुपर्ने बताउनु भयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निर्बतमान अध्यक्ष चन्द्र शर्माले २०३९ बाट हेटौडाबाट शुरु भएको दोहोरी गीत प्रतियोगिता अहिले समयसापेक्ष परिष्कृत हुदै गएको बताउनु भयो ।

बुटवलको महोत्सवमा ५६ टीम सहभागि भएको र आफुहरु कलाकार स्थापित गर्ने अभियान चलाइरहेको बताउदै २ लाख पुरस्कारको दोहोरी गीत चानेचुने बिषय होइन,सर्जकलाइ सम्मान,हौसला दिने काम सबैले गरौं ’ उहाँको भनाई थियोे ।

प्रतिष्ठानका प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपाली लोकदोहोरी क्षेत्रले संस्कार र संस्कृतीको संरक्षण गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्