गीतको विषयले मुलुक लज्जित नहोस्



नेपाली रंगमञ्चमा केही समयअगाडि पशुपति शर्माको गीतले तहल्का नै मच्चायो । युट्युबमार्फत सार्वजनिक भएको शर्माको गीतका कारण नेपाली राजनीतिमा ठूलो तरङ्ग नै पैदा ग¥यो । उनले गीतमा प्रयोग गरेका शब्द तथा गीतको भावलाई लिएर नेपाली राजनीति पक्ष र विपक्षमा उभिएको भान भयो । गीतले विवाद तथा चर्चा बटुलेपछि दुई दिनमै उनले आफ्नो युट्युब च्यानलबाट गीत हटाए पनि । उनको गीतबाट राष्ट्रपति, सरकार तथा सामाजिक बेथितिको विषयमा तिखो व्यङ्य गरिएको थियो ।

गीतका विषयमा सत्ताघटक नेकपा निकट युवा संगठनले प्रेस विज्ञप्ति निकालेर गीतमा राखिएका कतिपय शब्द सच्चाउन आग्रह गरेको कुरा बाहिरिए पनि अन्यले केही बोलेनन् । सडकमा शर्माको गीतलाई लिएर सरकारलाई गाली गरिरहेकाहरुले भनको जसरी सरकारले शर्माको गीतको विषयमा कुनै पनि आशयको कुरा बाहिर ल्याएको छैन । न त सत्ताघटक पार्टीले नै उनको गीतको विषयमा केही बोलेको छ ।

शर्मा आफैंले युवा संघको सामान्य विज्ञप्तिपछि गीत सच्याएर फेरि ल्याउने गरी युट्युबबाट हटाएको बोलिरहेका छन् । व्यङ्यात्मक तरिकाबाट शर्माले पछिल्लो नेपालको यथार्थलाई गीतमा उतार्न खोजेको कुरामा कसैको दुईमत छैन । तर उनले गीतका कतिपय शब्दहरुमा त्रुटि गरेको कुरा स्वयंले स्वीकार गरेको कुरा हो । राष्ट्रपतिजस्तो सम्मानित संस्थाका विरुद्धमा उनको आवाज छ ।

यदि अर्बौंको हेलिकोप्टरको विषयमा बोल्नुपर्ने थियो भने त्यो हेलिकोप्टर उपलव्ध गराउने सरकारले हो । राष्ट्रपतिलाई नै किटानी गर्नुभन्दा सांकेतिक र व्यङ्यात्मकरुपमा सरकारलाई सजग बनाउन सक्नुपर्दथ्यो । कलाकारसँगै शर्मा यो देशका नागरिक पनि हुन् । आफ्नो अधिकारको प्रयोग गर्दा कर्तव्यको पालना गर्नुपर्ने व्यवस्था पनि नेपालको संविधान २०७२ ले गरेको छ ।
शर्माको गीतमा प्रयोग भएका यमराजले राज्य चलाउँछन्, कुकुरजस्तै भुक्ने कार्यकर्ताजस्ता शब्दहरुमा अलिक परिवर्तन गर्न सकिने थियो ।

त्यसबाहेक उनको गीतमा बोलिएका सामाजिक यथार्थलाई कसैले पनि नजरअन्दाज गर्न मिल्दैन । यो गीतको विषयमा प्रतिनिधिसभा बैठकमा दोहोरी चल्नु भनेको देशकै लागि लज्जाको विषय हो । सरकारले यदि गीतमाथि प्रतिबन्ध लगाएको भए त्यो अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षप हुन्थ्यो, त्यस्तो कुनै पनि हालतमा गरिनुहुँदैन । शर्माले युट्युबबाट हटाएको गीतलाई पुनः प्रकाशन गर्नुपर्छ । किनकि त्यो सिर्जना हो । गल्तीलाई स्वीकार गर्नु महानता हो, त्यो महानता पशुपतिले देखाइसकेका छन् । आफ्नै अपमान हुने गरी देशको बेइजती हुने काम कलाकारहरुबाट पनि नहोस् । यसैमा सबैको कल्याण हुुन्छ । गायक शर्माले गीतमा भएका केही शब्दलाई परिमार्जनसहित पुनः सार्वजनिक गर्नुपर्छ ।
– भरत पन्त, काठमाडौं ।

भरतपुर बजार कुरुप भयो
देशकै केन्द्र भागमा रहेको भरतपुर महानगरको बजार विभिन्न कारणले कुरुप बन्दै गएको छ । नगर क्षेत्रभित्रको सडक ठाउँ–ठाउँमा भत्किएको छ । त्यस्तै, बजार क्षेत्रमा फोहोरको समस्या उस्तै छ भने छरपस्ट टाँगिएका विद्युत् र टेलिफोनका तारका कारणसमेत भरतपुरलाई जिस्क्याइरहेको छ ।

भरतपुरनजिकै रहेको धार्मिक पर्यटकीय क्षेत्र देवघटधाम तथा सौराहा र पटिहानी आउने पर्यटकहरु दिन–प्रतिदिन बढिरहेका छन् । ठाउँ–ठाउँमा फाटेको सडक र नालीबाट निस्किने दुर्गन्धित ढल त्यही फाटेको सडकमा जमेका कारण अर्को समस्या पैदा भएको छ । कुनै आधुनिक साजसज्जाविना नै भरतपुरको सुन्दरताले देशका सबै क्षेत्रका मानिसको ध्यान केन्द्रित गर्न सक्छ तर यस्ता स–साना समस्या समयमा समाधान नभएका कारण बजार कुरुप बन्दै गएको छ ।

भरतपुर महानगरले वार्षिकरुपमा केही सडकहरु मर्मत गर्ने गरेको भए पनि ढलको उचित व्यवस्थापन नहुँदा भत्किने गरेको हो । त्यस्तै, सबै प्रकारका फोहोरहरु नालीमा फाल्दा ढल बाटो नै बन्द भएर दुर्गन्ध फैलिने गरेको हो । नालीमाथि राखिएको स्ल्याब पनि ठाउँ–ठाउँमा फुटेका कारण दुर्घटना निम्त्याउने खतरा बढेको छ । पानी मात्रै बग्न पनि कठिन हुने नालीमा जथाभावी फोहोर फाल्ने गरेका कारण नालीमा जमेको पानी सडकमा निस्किने गरेको छ भने त्यही पानीका कारण पक्की सडकको कालोपत्रे उप्किने गरेको छ । बजारको नालीलाई व्यवस्थित बनाउने, फाटेका सडकहरुलाई टाल्ने, जथाभावी राखिएका प्रचारात्मक होडिङ बोर्ड हटाउने र बजारलाई सुन्दर रुप दिन स्थानीय सरकारले थप मेहनत गर्न जरुरी छ । बजारलाई नै कुरुप बनाउने गरी यत्रतत्र छरिएका तारहरु हटाउन आवश्यक छ ।

बजार क्षेत्रमा प्रयोगविहीन अवस्थामा रहेका तारहरुका कारण बजारको सुन्दरतामा ह्रास आएको छ भने कैयौं दुर्घटनाको जोखिम पनि रहेको छ । बजारको सुन्दरता हाम्रो सम्पत्ति र पहिचान हो । बाहिरबाट यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आँखामा पहिलोपटक पर्ने भनेकै हाम्रो बजारको सौन्दर्यता हो । चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको यस बजारलाई जति प्रकृतिले साथ दिएको छ त्यति नै मानवीय कारणले सौन्दर्यमा ह्रास आएको छ । बजारको सौन्दर्यका कारण तत्कालीन अवस्थामा आर्थिक क्रियाकलापमा कुनै असर नपरे पनि दीर्घकालीन प्रभाव भने अवश्य पर्न सक्छ । देशकै केन्द्र भागमा रहेको भरतपुरको सन्देश देशभरि मात्रै नभएर विश्वमा समेत पुग्ने भएकाले यहाँको सौन्दर्यका लागि बलैमा सोच्नु जरुरी छ ।
– सञ्जु काफ्ले, भरतपुर–९, चितवन ।

प्रतिक्रिया दिनुहोस्