सडक दुर्घटना न्यूनीकरण हुन सकेन



दैनिकजसो सडक दुर्घटनामा परी नागरिकले ज्यान गुमाउने गरेका छन् । निर्माण भएका सडक व्यवस्थित छैनन् । वर्षौं लगाएर निर्माण भएका सडक पनि निर्माण सम्पन्न नहुँदै भत्कने क्रम शुरु हुन्छ । सडकको निर्माण र स्तरोन्नतिको लागि सरकारले ठूलो धनराशी खर्च गरेको छ । तर लक्ष्यअनुसारको परिणाम भने निकाल्न सकेको छैन ।

स्थानीय तहको सरकार गठन भएपछिको यो अवधिमा सबैभन्दा बढी विकास निर्माण भएको सडक नै हो । यतिखेर जनप्रतिनिधिहरु नै जोडर मालिक भएका छन् । सडक निर्माण त भएका छन् तर त्यसको व्यवस्थापनमा ध्यान दिएको देखिँदैन । भएको सडकलाई राम्रो र व्यवस्थित बनाउने भन्दा पनि सरकारको ध्यान नयाँ सडक निर्माण गर्नतिर नै छ ।

पहाडी क्षेत्रमा निर्माण गरिएका सडक घुमाउरा र साँघुरा छन् । निर्माण भएको सडकको स्तरोन्नति गर्न ध्यान दिनुपर्ने सरकारले वर्षको अन्तिममा झारा टार्ने काम गर्दै आएको छ । दुर्घटना न्यूनीकरण गर्नको लागि सरकारले नीति निर्माण नगरेको पनि होइन तर सरकारले तय गरेको नीति पनि प्रभावकारीरुपमा लागू हुन सकेको छैन । सडक निर्माण गर्दा नै सुरक्षित र व्यवस्थित बनाउनेतर्फ सरकारको ध्यान जानुपर्छ । सडकको अवस्थासँगै सवारी चलाउने चालकलाई पनि जिम्मेवार बनाउनुपर्छ ।

गत शुक्रबार दार्चुलाको सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । क्षमताभन्दा बढी यात्रु राख्ने र चालकले सावधानी नपनाउँदा दुर्घटना हुने गरेको छ । कतिपय प्राविधिक कारणले दुर्घटना हुने गरेका छन् भने कतिपय अवस्थामा चालकको असावधानीले पनि दुर्घटना हुने गरेको देखिन्छ । दुर्घटना कहाँ र कति बेला हुन्छ भन्न सकिन्न । तर सम्भावित सडकको बनोटको अवस्था, सवारीसाधनको क्षमता, सवारीको गतिलगायतको विषयलाई ख्याल गर्न सकेको अवस्थामा सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

दुर्घटना हुनुको कारणबारे जानकार भएर पनि त्यसलाई आत्मसात् नगर्ने प्रचलन अहिले पनि कायमै रहेको छ । सरकारले पनि सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्नको लागि कार्यक्रम त गरेको छ तर प्रभावकारी भने बन्न सकेको छैन । सडक दुर्घटना न्यूनीकरण गर्नको लागि विशेष गरी चालकलाई जिम्मेवार बनाउन जरुरी छ । यातायात सञ्चालकहरुलाई सवारीको अवस्थाको बेला–बेलमा परीक्षण गराउने कार्यमा पनि जिम्मेवारबोध गराउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्