अधिकारीसहितलाई भावपूर्ण श्रद्धाञ्जली



हरेक दुर्घटना दुःखदायी र अप्रिय हुन्छन्। नेपालमा दिनहुँ कहीं न कतै दुर्घटना भएकै हुन्छन्। हरेक दुर्घटनाले शोक दिलाएर जान्छन्। कहींकतै दुर्घटना नहोउन् र कसैको पनि दुर्घटनामा परी मृत्यु नहोस् भन्ने कामना गर्दागर्दै पनि आकस्मिकरूपमा दुर्घटना भइदिन्छन्। बुधबार पनि त्यस्तै भयो ताप्लेजुङको फुङलिङ तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना। पूरै देशलाई स्तब्ध पार्ने गरी भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको अकल्पनीय निधन भयो।

तेह्रथुमको चुहानडाँडामा कार्यक्रम सकेर ताप्लेजुङको प्रख्यात पाथिभरा माईको दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा मन्त्री अधिकारी, सफल पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव भोचिभया, सरकारका सचिव युवराज दाहाल, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको ज्यान गयो। देशले एक उदीयमान युवा नेता मात्रै गुमाएन, उच्चपदस्थ अधिकारीदेखि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र सुरक्षाकर्मीसमेत गुमाउन पुग्यो। यसले देशलाई अपूरणीय क्षति पुग्नुका साथै देशबासीलाई गहिरो पीडाबोध भएको छ।

नेपालका राजमार्गदेखि आकाशसम्म असुरक्षित रहँदै आएको छ। देशको भौगोलिक अवस्था र मौसममा भइरहने फेरबदलका कारण हवाई यात्रा असुरक्षित र चुनौतीपूर्ण रहँदै आएको छ। प्राविधिकरूपमा पनि नेपालको हवाई क्षेत्र कमजोर छ। बुधबारको हेलिकोप्टर दुर्घटनाको प्रमुख कारण खराब मौसम वा अन्य प्राविधिक कारण के थियो, त्यो सरकारको विस्तृत छानविनबाटै जान्न सकिने विषय हो। नेपालमा यसअघि पनि ०६३ असोजमा सोही क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको थियो, जसमा तत्कालीन मन्त्री गोपाल राई, मूर्धन्य विद्वान् डा. हर्क गुरूङलगायत देशका विशिष्ट व्यक्तित्वहरूको निधन भएको थियो। बुधबार पनि प्रतिकूल मौसमका कारण पाइलटले हेलिकोप्टर उडाउन इन्कार गर्दागर्दै दबाबस्वरूप उडाउन बाध्य पारिएको बताइएको छ, यसबाट खराब मौसममा सतर्कता अपनाउन नसक्दा पनि अप्रिय दुर्घटनाको नियति भोग्नुपर्ने वास्तविकता उजागर गरेको छ।

हेलिकोप्टरमा ५ जनाभन्दा बढी उडान गर्न नमिल्ने मान्यता रहँदारहँदै पनि कुन बाध्यता वा परिस्थितिले ७ जनाको यात्रा गराइयो ? यसमा जिम्मेवार अधिकारीहरूले जवाफ दिनुपर्छ। दुर्घटनाका कारणहरूको निवारणतर्फ ध्यान नदिने हो भने यस्ता दुर्घटनाको पुनरावृत्ति भइरहनेछ। र, यस्ता कहालीलाग्दा दुर्घटनालाई नियति सम्झेर देशले राष्ट्रिय शोक मनाउने, परिवारजन शोकाकुल हुने र जनताले सामाजिक सञ्जालमा भावपूर्ण श्रद्वाञ्जलीका स्टाटस राखेर दुःख मनाउ गर्ने शृंखला चलिरहनेछ।

देशका लागि अपरिहार्य व्यक्तिहरूको निधन हुँदा पर्न जाने अपूरणीय क्षति त पूरा हुन सक्दैन। तर, हरेक दुर्घटनाबाट पाठ सिक्न सके थुप्रै दुर्घटना टार्न सकिन्छ। नेपालका हवाई सेवा जोखिमपूर्ण बन्दै गइरहेको सन्दर्भमा सरकारले नीतिगतरूपमै उडान सुरक्षाका विषयमा अध्ययन थाल्नु अपरिहार्य भएको छ। दुर्घटना न्यूनीकरण गर्ने हो भने सर्वप्रथम नेपालको भौगोलिक स्थिति, हेलिकोप्टर÷जहाजको प्राविधिक अवस्था, मर्मतसम्भार तथा दक्ष जनशक्ति जस्ता विविध पक्षका बारेमा सावधानी अपनाउनै पर्छ। नेपाली आकाश असुरक्षित हुनु देशको पर्यटनलगायत समग्र क्षेत्रकै लागि दुर्भाग्य हो। यस्तो आकस्मिक नियति कसैले पनि भोग्नु नपरोस् भन्नाका लागि सरकारले हरेक कोणबाट दुर्घटनाको सत्यतथ्य छानविन गरी आगामी यात्रा सफल बनाउनेतर्फ प्रभावकारी भूमिका खेल्नुपर्छ। कहालीलाग्दो दुर्घटनामा निधन भएका युवा नेता अधिकारीलगायत दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ⁄
– राहुल अधिकारी, पोखरा।

हिंसात्मक गतिविधि गलत
मुलुकमा राजनीतिक स्थायित्वपश्चात् आशाको मुना पलाउन लागिरहेका बेला पुनः हिंसात्मक गतिविधि बढ्न थालेका छन्। लामो सशस्त्र युद्ध भोगेका नेपालीलाई राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी तथा हत्याका घटना सार्वजनिक हुँदै गर्दा त्रास बढाएको छ। मुलुकमा विभिन्न आन्दोलनपश्चात् राजनीतिक परिवर्तन भई नयाँ संविधान कार्यान्वयनको चरणमै रहेका बेला मुलुकलाई हिंसातर्फ धकेल्ने कार्य हुनु निन्दनीय छ। हत्या, हिंसाको राजनीति कति भयावह हुन्छ भन्ने दृष्टान्त दसवर्षे सशस्त्र माओवादी द्वन्द्वलाई हेर्दा नै पर्याप्त हुन्छ।

आज नेपाली जनताले द्वन्द्वकालको स्मरण पनि गर्न चाहँदैनन्। नेपाली समाजको विकासको गति अवरूद्ध हुनुका साथै १७ हजारभन्दा बढी निहत्था नागरिकले अनाहकमा जीवन उत्सर्ग गर्नुप¥यो। अझै पनि समाजमा द्वन्द्वका अवशेषहरू मेटिइसकेका छैनन्। हजारौं जनता अंगभंग भएर बाँच्नुपरेको छ। सयौं पीडितमा न्याय र परिपूरण हुन सकेको छैन। संक्रमणकालीन न्यायको सन्दर्भ अद्यापि उठिरहेकै छ। वर्षौंसम्म राजनीतिक अस्थिरता र फोहोरी राजनीतिक खेलका कारण देश अधोगतिमा धकेलिएको यथार्थ हामी सबैलाई अवगतै छ। हिंसात्मक गतिविधिका कारण आजित भइसकेका जनताले शान्तिको सास फेर्न नपाउँदै पुनः बम विस्फोट र हिंसात्मक गतिविधि देखिनु चिन्ताको विषय हो।

एकातर्फ दुई तिहाइको बहुमतको सरकार सञ्चालन गरिरहेको नेकपाका जिम्मेवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक मञ्चबाटै अर्को माओवादी जन्मिने धम्कीयुक्त अभिव्यक्ति दिनु र अर्कोतर्फ मुलुकबासीलाई नै त्रास फैलाउने हिंसात्मक गतिविधि हुनुका पछाडि तादत्म्यता देखिनु एउटा संयोग मात्रै हो ? विभिन्न कोणबाट सवाल उठेको छ। अब पनि हत्या, हिंसाको गतिविधिमार्फत जनतालाई आतंकित तुल्याएर राजनीतिक अभिष्ट पूरा गर्ने सपना कसैले देखेको छ भने त्यो असम्भव छ। जिम्मेवार नेताबाटै हिंसात्मक गतिविधि गर्ने समूहलाई उत्साहित गर्ने गरी अभिव्यक्ति दिनु आफैंमा अनुचित कुरा हो।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि बम विस्फोट गराउँदा भैंंसेपाटीका सिंहप्रसाद गुरुङको मृत्यु भयो भने बागडोलकी प्रतीक्षा खड्का र बनेपाकी उरुषा मानन्धर गम्भीर घाइते भए। नेत्रविक्रम चन्दको नेकपा माओवादीले एनसेलले कर नतिरेको भन्दै टावर ध्वस्त पार्ने चेतावनी दिएको केही दिनमै शृंखलाबद्धरूपमा देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी तथा बम विस्फोट भएबाट सो संगठनबाटै यस्ता क्रियाकलाप भएको अनुमान गर्न सकिन्छ। विस्फोटमा निहत्था नागरिक मारिनु र घाइते बनाइनुले हिंसात्मक घटनामार्फत मुलुकमा त्रास फैलाउने कुत्सित चाहना राखेको बुझ्न गाह्रो पर्दैन।

जनतालाई कति समय डरत्रास र हिंसाको दुष्चक्रमा पारिरहने ? देशमा सुशासनको स्तर नराम्ररी खस्किएको छ। भ्रष्टाचार र अनियमितताका प्रकरणहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुखै नहेर्ने दाबी गरिरहँदा सरकारकै मन्त्रीहरूमाथि अनियमितताका सवालहरू खडा भइरहेका छन्। सरकारका गतिविधिले आमजनतामा निराशा बढिरहेको अवसर छोपेर सशस्त्र समूहले हिंसात्मक कारबाही अघि बढाउन खोजेको देखिन्छ। सरकारले हिंसात्मक गतिविधि गर्ने समूहलाई कानुनी कठघरामा उभ्याउँदै जनतामा सुरक्षाको अनुभूति दिलाउनु जरूरी छ।
– प्रवीण ओझा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्