नेपालमा हवाई दुर्घटनाको तीतो इतिहास



ज्ञानमणि नेपाल कालोटोपी
नेपालको हवाई क्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था तथा निकायहरूले बेला–बेलामा प्रतिवेदन सार्वजनिक गरिरहेको समयमा बुधबार अर्को अकल्पनीय दुर्घटना हुन पुगेको छ। एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेढुंगा भीरमा दिउँसो साढे १ बजे दुर्घटना भएको हो। सो दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुःखद निधन भएको छ। निधन भएका अन्यमा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र होलिकोप्टरका चालक प्रभाकर केसी रहेका छन्। तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा बनाउन लागिएको विमानस्थलको सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारीसहितको टोली त्यसतर्फ गएको थियो।

यसै गरी नेपाली आकाशमा सन् २००६ मा ताप्लेजुङमा नै भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाएका थिए। हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो। विगतमा भएका विमान दुर्घटनाका इतिहास केलाउने हो भने यस शृंखलाले ०७५ सालमा पनि निरन्तरता पाएको छ। गत जेठ २ गते विहान मकालु एयरको कार्गो विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको केहिबेरमै दुर्घटनामा परेको थियो। यस दुर्घटनामा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको निधन भयो। पछि मंसिरमा पनि विमान दुर्घटना भएको थियो। गतवर्ष ०७४ फागुन २८ मा राजधानीमै विमान दुर्घटनामा परेपछि त्यसलगत्तै अरू २ वटा विमान पनि दुर्घटनामा परेका थिए। नेपाली आकाशमा एकपछि अर्को विमान दुर्घटनामा परेपछि अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ।

०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनका रूपमा लेखिएको छ। बंगलादेशको ढाकाबाट नेपालका लागि आएको यूएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो। विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना यात्री सवार रहेका थिए। जसमध्ये केहिलाई घटनास्थलबाट जीवित नै उद्धार गरिए पनि ५१ जना यात्रीको दुःखद निधन भएको थियो। दुर्घटनामा मानवीय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो। यसरी पटक–पटक नेपाली आकाशमा विमान दुर्घटना दोहोरिने शृंखलाले नेपाली हवाई क्षेत्रप्रति नै प्रश्न उठ्न थालेका छन्। के साँच्चै नै नेपाली आकाश असुरक्षित नै छ त भन्ने प्रश्न यति बेला चुनौतीका रूपमा उभिएको छ।

नेपालमा विमान दुर्घटनाहरू कहिले र कसरी भएका थिए त भनेर हामीले यसपटक दुर्घटनाको इतिहास केलाउने प्रयास गरेका छौं। ०७४ को जेठ महिनामा पनि नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भएका थिए। जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा चालक पारशकुमार राईको ज्यान गयो भने १७ गते बाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङसहित २ जनाको निधन भयो। ०७३ सालको साउन महिनामा पनि एउटै महिनामा ३ वटासम्म विमान दुर्घटना भएका थिए।

दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदन दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना बढाएको छ। अघिल्लो दुर्घटनाको प्रतिवेदनपछि सतर्कता अपनाएर आगामी दिनमा दुर्घटना रोक्न सक्ने रणनीति तय गर्ने हो भने धेरै हदसम्म यस्ता दुर्घटनामा कमी ल्याउन सकिन्छ।

भर्खरै मात्र थपिएको सहित नेपालमा ९३ वटा विमान दुर्घटना भएका छन्। यद्यपि मानवीय क्षति भएको हिसाबले हेर्ने हो भने यो ५०औं दुर्घटना हो। नेपालमा हवाई यात्राको शुरूआत विसं २००६ देखि अहिलेसम्म ८ सय ५५ जनाभन्दा बढीले यसकै कारण ज्यान गुमाएका छन्। यो पक्कै पनि दुःख लाग्दो अवस्था हो। नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरू हुने गरेका भए पनि पछिल्ला दिनहरूमा यसका कारण खराब मौसम, विमान चरासँग ठोक्किनु, प्राविधिक कारणलगायतबाट एकपछि अर्को दुर्घटना थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ।

नेपालमा पहिलो विमान दुर्घटना विसं २०१२ मा भएको थियो। कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो। त्यस्तै विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो। इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो। त्यसपछि साना–ठूला दुर्घटना थपिँदै गए। पछिल्लो ५ वर्षयता वर्षेनी झन्डै २ वटाको दरमा भएका विमान दुर्घटनालाई फर्केर हेर्दा नेपालमा हवाई यात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ।

नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र बढी मानवीय क्षति भएको दुर्घटना आजभन्दा २६ वर्षअगाडि विसं २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ। पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै १ सय ६७ जना यात्रीको दुःखद निधन भएको थियो। संयोग नै हो, पछिल्लो पटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो। यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालो दिनका रूपमा लिन सकिन्छ।

यस्तै विसं २०४८ मा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो। यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानवीय क्षति हुन पुगेको दुर्घटनाका रूपमा रहेको छ। २०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यति एयरलाइन्सको विमान दुर्घटना भयो। यसमा १८ जना यात्रीको मृत्यु भएको थियो। २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरस्थित तोरीबारीमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो। ०६७ कै मंसिर २९ गते ओखलढुंगामा तारा एयरको विमान दुर्घटना भयो। यसमा २२ जना यात्रीले ज्यान गुमाउनुप¥यो। यस्तै विमान दुर्घटनाको शृंखला ०६८ असोज ८ गते पनि दोहोरियो। ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।

त्यस्तै ०६८ सालकै कात्तिक १ गते नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो। २०६९ जेठ १ गते अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो। १५ जनाले यसमा ज्यान गुमाए। ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यकाभित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको थियो। यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायु सेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो। अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए। ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो। तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो। म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरूको निधन भएको थियो। सानातिना दुर्घटनाको त लेखाजोखा नै छैन।

यो कहालीलाग्दो शृंखलाका पछाडि कहिले विमानमा प्राविधिक समस्या त कहिले चरासँग विमान ठोकिनु अनि खराब मौसम नै मुख्य कारण रहेको खुल्न आएको छ। यसरी विश्वमा सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाई यात्रा नेपालमा भने दिनदिनै असुरक्षित बन्दै जानु पक्कै पनि राम्रो होइन। यसले एकातिर हाम्रो आर्थिक र मानवीय क्षतिलाई बढाइरहेको छ भने अर्कातिर विश्वमा नेपालको असुरक्षित हवाई यात्राको गलत सन्देश प्रवाह भइरहेको छ। यसरी बढ्दै गइरहेको हवाई दुर्घटनालाई न्यूनीकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले कुनै पहल गरेको देखिँदैन। यसमा उनीहरूको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ। दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिति गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदन दराजमा थन्क्याएर राख्ने सरकारी कार्यले पनि विमान दुर्घटना बढाएको छ। अघिल्लो दुर्घटनाको प्रतिवेदनपछि सतर्कता अपनाएर आगामी दिनमा दुर्घटना रोक्न सक्ने रणनीति तय गर्ने हो भने धेरै हदसम्म यस्ता दुर्घटनामा कमी ल्याउन सकिन्छ।

हुन त अन्तर्राष्ट्रिय निकायबाट नेपालको एकमात्र ठूलो र बा≈य देशसँगको सम्पर्क बढाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उपत्यका वरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातिका चराका कारण असुरक्षित भएको निष्कर्ष निकालिसकिएको छ। त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चील, बाज, गिद्ध, हुचिललगायतका चरा बढ्दै गएको र यिनीहरूकै कारण दुर्घटना हुने गरेको पनि प्रस्ट छ। नेपालको भौगोलिक अवस्था र मौसम खराबी जस्ता कारण पनि हवाई यात्राका मुख्य चुनौती हुन्। पुराना र धेरै वर्ष प्रयोगमा आइसकेका विमानलाई समय–समयमा मर्मत नगरिँदा पनि दुर्घटना बढ्दै गएको तथ्यलाई नकार्न सकिँदैन। दक्ष प्राविधिक र चालकको अभावले पनि यस्तो त्रास बढाएको छ। यी र यस्तै विषयलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनमा पक्कै पनि यस्ता कहालीलाग्दा हवाई दुर्घटनालाई न्यूनीकरण गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्