कम्रेडको खास कुरो



दुई वाम दललाई एक बनाउने लमी कहलिएका वाम नेता हुन् बामदेव गौतम । चुनाव हारेर के भो गौतम बेला मौकामा राम्रैसँग चर्चामा आउँछन् । संसद छिर्ने सिधा बाटो बन्द भएसी उनी गोरेटो बाटोको खोजी गर्दै कहिले डोल्पा कहिले काठमाडौं, कहिले प्यूठान पुग्या चर्चा भएकै हो ।

बर्दिया चुनाव हारेपछि गौतमले निधक्क भन्या थिए–‘मेरो खाँचो संसदलाई छ, त्यसका लागि म सांसद हुनै पर्छ ।’ उनको प्यास मेटाउन काठमाडौैंमा आफ्नै पार्टीका नेता रामविरले रामवाण त्याग्छु भनेकै थिए तर के गर्नु सवत्र आलोचनाको डडेलो चलेसी लल्याक लुलुक हुन बाध्य भए बरा बामदेव ।

आफूलाई वाम नेता मात्रै होइन नेपाली राजनीतिका मियो भन्न रुचाउने गौतमको मुख्य ध्यान संसदतिरै छ । पर्यटनमन्त्री अधिकारीको दुःखत दुर्घटनापछि संसदमा एक सिट के खाली भा’थ्यो गौतम सलबलाउन थाल्या छन् । धरहराले बुझ्या खास कुरो यही हो, तर उनी प्रतिवाद गर्दै भन्दैछन्–‘फेरी मेरो चरित्र हत्या गर्न खोजियो, दिवंगत रविन्द्र अधिकारीको क्षेत्रबाट चुनाव लड्न लाग्यो भनेर म माथि आरोप लाग्न थाल्या छ ।’

तर कम्रेड यो तर्क त भर्खर लव पर्न लाग्या केटाकेटीको कुरा जस्तो भएन र भन्या । केटोले केटी मन पराउने, केटीले पनि केटो मन पराउने तर केटा केटीले साथीभाईलाई प्रतिवाद गर्दै ‘हैन, मैले कहाँ त्यस्तो सोच्या हो र ऊ त साथी मात्रै हो’ भन्या जस्तो भएन र भन्या ।

प्रतिक्रिया दिनुहोस्