पतञ्जलि–२३ः खेचर पर्वतको एकान्तमा शिव–पार्वती



शेषनागले शिव–पार्वतीको ध्यान गर्दै समाधि कसेको धेरै समय बित्यो। एकदिनको प्रसंग हो, भगवान् शङ्कर पार्वतीका साथ कैलासबाट गौरीशिखर सगरमाथातिर आकाशमार्गले प्रस्थान गर्दै हुनुहुन्थ्यो। खेचराद्रि खप्तडमा आइपुग्दा शिवजीले माता पार्वतीलाई भन्नुभयो– ‘प्रिये पार्वती ? हामी खेचरपर्वतको ठीक माथि आएका छौं। तल पृथ्वीमा हेर त ⁄ कति सुरम्य छ यो खेचराद्रिशिखर ⁄ ऊ हेर, त्यहाँको शान्त एकान्त वातावरण। आहा ⁄ कति सुन्दर ताल। त्यस तालको पानी घामतिरबाट हेर्दा चाँदीजस्तै टल्केको छ। छायातिरबाट हेर्दा नीलो आकाश प्रतिविम्बित हँुदा त्यो पानी नीलो देखिएको छ। प्रिय ⁄ एकछिन् त्यहाँ ओर्लेर जलविहार गरौं न ⁄ हुन्छ ?
‘यस्तो चिसोमा कसरी जलविहार हुन्छ स्वामी ?’ महादेवीले सोध्नुभयो।

प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

‘तिमी चाहन्छ्यौ भने वरुणदेवले त्यतिन्जेलसम्मका लागि त्यो पानी तातो पनि पारिदिन्छन्। महादेवी ? तिमी इच्छामात्र गर न ⁄’ महादेवले भन्नुभयो। महादेवी पार्वतीले पतिको कुरामा सहमति जनाउनुभयो। अनि शिवले नन्दीलाई भन्नुभयो–
‘नन्दी ? त्यहीँ तल देखिने शिखरमा ओर्ल है।’

‘जो आज्ञा ⁄ महादेव।’ नन्दीले आज्ञा शिरोपर गरे।
यसरी शिव–पार्वतीलाई आकाशमार्गबाट बिस्तारै बिस्तारै तल खप्तड शिखरमा ओराले नन्दीले। महादेव–पार्वती नन्दीबाट ओर्लेर एकछिन् त्यहाँको प्राकृतिक दृश्य हेर्नमा रमाउनुुभयो।

‘मलाई त यो ठाउँ यति सुरम्य होला भन्ने विश्वास लागेकै थिएन। आफ्नो कुनै भित्री उद्देश्य पँरा गर्नलाई होला यहाँ ओर्लिएको ⁄ नत्र गौरीशिखर जान हिँडेका महादेवले नन्दीलाई त्यसै यहाँ किन ओर्लिन भन्नुहुन्थ्यो ? मैले त मनमनै यही भन्ठानेकी थिएँ। तर साँच्चिकै राम्रो रहेछ यो पर्वत त स्वामी ?’ पार्वतीले महादेवतिर हेरेर भन्नुभयो।

‘महादेवी ? तिम्रोमात्र शङ्का होइन यो। प्रत्येक पत्नी आफ्ना पतिका कुरामा यस्तै शङ्कालु हुन्छन्।’ महादेवले व्यङ्ग्य कस्दै हाँस्दै भन्नुभयो। नन्दीलाई त्यहाँको हरियो घँस्याइलो चउरमा चर्न छोडिदिएर महादेव र महादेवी त्यहाँको शान्त र एकान्त वातावरणमा परस्पर हाँसखेल, चुम्बन आलिङ्गन गर्दे त्यस सुरम्य तालको नजिक पुग्नुभयो।
क्रमशः

प्रतिक्रिया दिनुहोस्