दुःखद घटना !



एयर डाइनेस्टीको हेलिकोप्टार ताप्लेजुङमा दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको घटनास्थलमै निधन भएको खबरले यतिखेर सिंगो मुलुक नै शोकमा डुबेको छ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको चुहानडाँडास्थित विमानस्थलको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन गर्न गएको मन्त्री अधिकारीसहितको टोली सवार हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सबैको निधन भएको हो ।

चुहानडाँडा विमानस्थलको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययनपछि पूर्वको तीर्थस्थल पाथिभरा मन्दिरको दर्शन गरी फर्किने क्रममा बुधबार मध्यदिउँसो अकस्मात् दुर्घटना हुन पुगेको थियो । यस घटनामा परी यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र होलिकोप्टरका चालक प्रभाकर केसीको निधन भएको छ । यस शोकको घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जलि !

ऊर्जाशील एवम् सक्रिय युवानेता अधिकारीसहित पर्यटन उद्यमी तथा राष्ट्रसेवक कर्मचारीहरु गुमाउँदा मुलुकमा अपूरणीय क्षति भएको महसुस गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीसहित सातजनाको निधनमा दुःख व्यक्ति गर्नुभएको छ । निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी तथा राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाउनुपर्दा राजनीतिज्ञ मात्र नभएर सम्पूर्ण कर्मचारी एवम् पर्यटन व्यवसायीहरु यतिखेर स्तब्ध भएका छन् । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको जानकारीमा आए पनि यसको वास्तविकता पत्ता लगाउन सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरिसकेको छ । आशा गरौं, यस समितिले दुर्घटनाका बारेमा विस्तृत अध्ययन गरी वास्तविकता पहिल्याउनेछ, साथै यस्ता घटनाको न्यूनीकरणका लागि समितिले सुझावहरुसमेत प्रस्तुत गर्नेछ ।

हुन त नेपालको भौगर्भिक बनावट र छिनमै परिवर्तन हुने मौसमका कारण पनि हवाई दुर्घटना हुने गरेका छन् । पहिला–पहिला पनि यस्ता घटना भइरहेका छन् । जुनसुकै कारणले दुर्घटना भए पनि ती कारण पत्ता लगाएर घटना न्यूनीकरण गर्नु राज्यको दायित्व हो । छानबिन समितिले दिएको प्रतिवेदनलाई आधार मानेर यस्ता दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । पुनः यस्ता घटना नदोहोरिऊन् भन्नका लागि मौसम अनुकूल नभएसम्म हेलिकोप्टोरको यात्रा नगर्नु नै श्रेयष्कर हुन्छ । अन्त्यमा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित दुर्घटनामा परी ज्यान गुमाउनुहुनेहरुमा हार्दिक श्रद्धा सुमन ।

प्रतिक्रिया दिनुहोस्