नेपालले अपनाउनुपर्ने सतर्कता



नेपालको सुमधुर सम्बन्ध रहेको भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै गएको छ । हालै भारत अधीनस्थ कास्मिरको पुलवामा भारतीय सेनामाथि लक्षित आत्मघाती बम हमलामा ४६ जना अर्धसैनिक फौजको ज्यान गएपछि भारतले पाकिस्तानी भुभागमाथि हवाई आक्रमण गरेको छ ।

यो आक्रमणबाट इस्लामिक लडाकु समूहका सयौं हताहत भएको समाचार आइरहेको छ । आफ्नो भूमिमाथि भारतले हवाई आक्रमण गरेलगत्तै पाकिस्तानले पनि भारतमाथि हमला गर्ने चेतावनी दिइसकेको छ । अहिले पनि नियन्त्रित रेखामा दुई पक्षबीच गोली हानाहान भएको छ भने कैयौं हताहत भएका छन् । नेपालको छिमेकी राष्ट्रका रुपमा रहेका पाकिस्तान र भारतबीच तनाव बढ्दै गएर युद्ध हुने अवस्था आउन सक्ने आँकलन गर्दै नेपालले उच्च सतर्कता अपनाउन थालेको छ । खास गरी यी दुई देशबीचको युद्धमा नेपालको भूमि प्रयोग हुन नदिन नेपालले सतर्कता अपनाउनै पर्छ ।

आतंकवादको विरुद्ध नेपालले सशक्त आवाज उठाउनुपर्ने भए पनि दुई देशबीचको आन्तरिक झगडा तथा युद्धमा भने कसैको पक्ष वा विपक्ष लिनु उपयुक्त हुँदैन । भारत–पाकिस्तानबीचको बढ्दो तनावलाई अर्को छिमेकी मुलुक चीनले पनि चासो देखाइरहेको छ । हाम्रो देशले सुरक्षा सतर्कता अपनाएन भने नेपाल भूमि प्रयोग गरेर चीनले समेत चलखेल गर्न सक्नेतर्फ ध्यान पु¥याउनुपर्ने देखिन्छ । सधैँ शान्तिको पक्षमा उभिने नेपालले दुई देशबीचको युद्ध स्वीकार्ने कुरा त हुँदैन तर पनि युद्ध भैहाले यसको प्रभावबाट कसरी बच्ने भन्ने बारेमा भने गम्भीर ढंगले लाग्नुपर्छ । तुलनात्मकरुपमा नेपाल विदेशीले चलखेल गर्न सजिलो देश हो भनेर आलोचना भैरहेको बेला छिमेकी देशहरुको द्वन्द्वमा नेपाल भूमिमा चलखेल गर्न सहज महसुस गरी अवाञ्छित गतिविधि नहोस् भनेर चनाखो बन्नै पर्छ ।

सुरक्षा संयन्त्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र हैन, सीमा नाकामा पनि सुरक्षा सतर्कता अपनाउनुपर्छ । अझ नेपालमा रहेका अन्य देशका राजनीतिक शरणार्थीहरुको बारेमा पनि निगरानी बढाउनुपर्छ । नेपालमा कति संख्यामा राजनीतिक शरणर्थी बसेका छन् भन्ने एकिन तथ्यांक कतै भेटिएको छैन । केही दिनअघि नेपाल समाचारपत्रको कार्यालयमा आएका केही राजनीतिक शरणार्थीहरुका अनुसार पहिला युएनले भत्ता दिने गरेको भए पनि अहिले उनीहरुलाई भत्ता दिएको छैन । नेपालमा विभिन्न मुलकका राजनीतिक शरणार्थीहरु सयौंको संख्यामा रहेको उनीहरुले बताएका थिए ।

मुख्य गरी एक–अर्को मुलुकविरुद्ध नेपालको भूमि प्रयोग नहोस् भन्नेमा विशेष चासो लिनुपर्छ । र, भारत—पाकिस्तानबीचको तनाव बढेसँगै नेपालमा भएका राजनीतिक दलहरुले विदेश नीतिका बारेमा सकेसम्म एउटै धारणा बनाई विभिन्न कोणबाट उच्च सतर्कता अपनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्