तटबन्ध निर्माणको योजनामा किचलो



मनोज भट्ट, महेन्द्रनगर ।
सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महाकाली नगरपालिका–७ महाकाली नदीको भङ्गालो पुर्णागिरी घाटमा तटबन्ध निर्माणकालागि चालु आर्थिक बर्ष २०७५÷०७६ का लागि विनियोजन गरेको ७५ लाख रुपैया बजेटको योजनामा विवाद आएकोछ ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कञ्चनपुर मार्फत महाकाली नगरपालिका ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको अध्यक्षतामा गत २ माघमा उपभोक्ता समिति गठन गरिएको थियो । स्थानीय दान बहादुर रोकायाको अध्यक्षताका गठन भएको उपभोक्ता समितिले काम पनि शुरु गरेको छ ।

उपभोक्ता समिति गठन गरेको एक महिना भन्दा बढि समयपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस महाकाली नगर समितिले बिरोध गरेको छ । काँग्रेस नगर समितिले महाकाली नगरपालिका र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा लिखितै योजनाको काम रोक्न माग अघि सारेको छ । काँग्रेसले विधि प्रकृया नपुर¥याई आफ्ना मान्छेलाई उपभोक्ता समितिमा राखेर नगरपालिकालाई समेत जानकारी नदिईकन काम शुरु गरिएको भन्दै उनीहरुले बिरोध गरेका थिए ।

काँग्रेस महाकालीका नेता शुशिल राना मगरले उपभोक्ता समिति गठनमा जनतालाई थाहै नदिएर सुटुक्क काम हुँदा बिरोध गरेको बताए । उनका अनुसार सोमबार डिभिजन कार्यालय र काँग्रेस कार्यकर्ताविच एकसाताभित्र नयाँ उपभोक्ताका लागि सहमती खोज्ने र सहमती नभए ठेक्का मार्फत योजना संचालन गर्ने सहमती भएको बताए ।

महाकाली नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले स्थानीयकै सहभागितामा उपभोक्ता समिति गठन गरिएको बताए । ‘उपभोक्ता समिति गठन हुँदा कसैले विवाद र बिरोध गरेन, ‘उनले भने, ‘अहिले काम शुरु भएको छ , खै किन बिरोध गरिरहेका छन् ।’ बिरोधको कुनै तुक नभएको भन्दै वडाध्यक्ष क्षेत्रीले वैचारिक आधारमा बिरोध गरिएको टिप्पणी गरे । विधि, विधान सबै प्रकृया पुरा गरेर उपभोक्ता गठन गरिएको उनको दावि छ ।
महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले उपभोक्ता समिति गठन भएको बारे नगरपालिका अनविज्ञ रहेको बताए ।

कञ्चनपुर क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित सुप प्रदेश सभा सदस्य मान बहादुर सुनारले विकास निर्माणको काममा बिरोध अवरोध गर्नुको कुनै तुक नभएको बताउदै काम रोक्न माग गर्नु विकास बिरोधी काम भएको टिप्पणी गरे । ‘काम अघि बढिसकेको भन्दै अब काम रोक्नु भन्नु उचित छैन, ‘उनले भने, ‘राम्रो काम गराउनका लागि प्रतिपक्षीको सकारात्मक भूमिका हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्