एउटा समय “बारुदमाथि उड्दा”



चिरञ्जीवी मास्के
नागरिकहरूले अहिले पनि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको बारेमा प्रश्न उठाउने गरेका छन्। १७ हजारभन्दा बढी मानिसको ज्यान गएको र धेरै मात्रामा भौतिक सम्पत्तिको क्षति भएको १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले मुलुकलाई के दियो ? नेपाली जनताले के प्राप्त गरे ? अनि यसको जवाफ पनि मानिसहरू आफैं दिने गर्छन्– हात लाग्यो शून्य !

के उपलब्धि हात लाग्यो शून्य नै हो त ? पक्कै हैन। केही त परिवर्तन गरेको छ १० बर्से सशस्त्र द्वन्द्वले। मुलुकमा यति छिट्टै गणतन्त्र आउनुमा कहीँ न कहीँ १० बर्से सशस्त्र द्वन्द्वको भूमिका रहेको छ। आममानिसमा देखिएको अधिकारप्रतिको सचेतता र संघीयताको पृष्ठभूमिमा पनि १० बर्से सशस्त्र द्वन्द्व प्रतिविम्बित हुन्छ। भलै जनताको अपेक्षा, तत्कालीन माओवादी कार्यकर्ताहरूको आशा र भौतिक एवं मानवीय क्षतिको हिसाबले उपलब्धि नगन्य छ। तर जसरी आमरूपमा १० बर्से सशस्त्र द्वन्द्वले केही उपलब्धि हुन सकेन भन्ने व्याख्या हुँदै आएको छ, त्यसले भने १७ हजार नागरिकको सहादतलाई अपमान गरेको ठहरिन्छ।

१० बर्से सशस्त्र द्वन्द्वको विषयमा दुई खाले विश्लेषण हुने गरेका छन्। एउटा पक्षले त्यो द्वन्द्वले हत्या, हिंसालाई मात्र प्रोत्साहित गर्यो, उपलब्धि भने केही दिन सकेन भन्ने कोणबाट कुरा अगाडि बढाउँछन् र त्यो सशस्त्र द्वन्द्व नभएर आतङ्ककारी गतिविधि मात्र भएको निष्कर्ष सुनाउँछन्। अनि अर्को थरीले अहिले जे–जति उपलब्धि भएको छ (संघीयता, गणतन्त्र, मुलुकको विकास) सबै सशस्त्र द्वन्द्वकै परिणाम हो भन्ने गरेका छन्। जहाँ दुवै विश्लेषण अतिवादी ठहरिन्छ। किनभने १० बर्से सशस्त्र द्वन्द्वले केही उपलब्धि, केही क्षति, केही हिंसा, केही अपेक्षा, केही विकास र केही विनाश गरेको छ।

द्वन्द्वको भित्री पाटो

यी विषय सशस्त्र द्वन्द्वको दोस्रो पाटो हुन्। सशस्त्र द्वन्द्वको पहिलो र भित्री पाटो निकै भयावह, रोमाञ्चक, आश लाग्दो र कहाली लाग्दो छ। १० बर्से सशस्त्र द्वन्द्वमा केवल द्वन्द्वरत पक्ष (तत्कालीन माओवादी र सुरक्षा फौज) मात्र सहभागी छैनन्। सर्वसाधारण, व्यवसायी, पत्रकार, मानव अधिकारकर्मी, किसान, मजदुर (गैरसैनिक) पनि जोडिएका छन्। र, तिनै गैरसैनिकभित्रका एकपात्र हुन् क्याप्टेन रामेश्वर थापा। जसले १० बर्से सशस्त्र द्वन्द्वलाई नजिकबाट नियाल्ने अवसर मात्र पाएनन्, त्यसमा प्रत्यक्ष÷अप्रत्यक्षरूपमा सहभागी हुने र सशस्त्र द्वन्द्वको भित्री पीडा बुझ्ने, कमी–कमजोरी औंल्याउने तथा त्यसको शान्तिपूर्ण अवतरणको लागि भूमिका खेल्ने अवसरसमेत प्राप्त गरे।

‘बारुदमाथि उड्दा’ पुस्तक क्याप्टेन रामेश्वर थापाले १० बर्से सशस्त्र द्वन्द्वमा देखेको र भोगेको एउटा समयको सुमधुर संस्मरणको संगालो हो। ‘बारुदमाथि उड्दा’ पुस्तक पढ्दै जाँदा पुस्तकको पन्नाहरूसँगै सशस्त्र द्वन्द्वको पीडा बल्झिँदै जान्छ र हरेक पाठकलाई केही नयाँ काम गर्ने प्रेरणा थपिदिन्छ। किनभने त्यो पुस्तक पढेपछि जो–कोहीले सहजै अनुमान लगाउन सक्छन् कि राजनीतिको वेग र समाजको वेदनाले थलिएको हाम्रो देश विकास र समृद्धिको मार्गमा विश्वका अन्य मुलुकभन्दा धेरै पछि परेकै कारण सशस्त्र द्वन्द्वको जन्म भएको हो। राजनीतिकरूपमै शुरु भएको विभेद, शैक्षिक सुस्तता, भौगोलिक विकटता, सामाजिक विकृति आदिले द्वन्द्वलाई मलजल गर्यो अनि असम्भव अभिष्ट र अपत्यारिला आश्वासनले १० वर्षसम्म द्वन्द्वलाई अघि बढाउन सक्यो।

विश्वका धेरै मुलुकहरूले स्वतन्त्र भएको छोटो समयमा भौतिक, मानवीय र चेतनाको विकासको दृष्टिले धेरै प्रगति गरेका छन्। तर नेपालमा हरेक समय राजनीतिक संक्रमण रहने र स्वतन्त्रतालाई स्वच्छन्दताको रूपमा परिभाषित गर्ने गलत परम्परा भएकोले १ सय ४ वर्षको राणा शासन तथा ३० वर्षको पञ्चायती शासनको अन्त्य हुँदा पनि मुलुकले विकास र समृद्धिमा फड्को मार्नु त परकै कुरा पाइलो सार्नसमेत नसकेको अवस्था रह्यो। यसको परिणाम मुलुकले १० बर्से सशस्त्र द्वन्द्व भोग्नुपर्यो अनि विकास र समृद्धिको एउटा अध्याय शुरु नै नभई अन्त्य हुन पुग्यो।

‘बारुदमाथि उड्दा’ पुस्तकमा वर्णन गरिएको २०६१ चैत्र २६ को खारा आक्रमण होस् या २०५३ पुस ३ गते डोल्पाको त्रिवेणी आक्रमण होस्। अथवा २०५५ जेठदेखि २०५६ वैशाखसम्म सुरक्षा फौजले चलाएको ‘किलो सेरा टु अप्रेसन’ होस् वा २०५६ चैत १ गते प्युठानको भिङ्ग्रीमा भएको आक्रमण अथवा २०५६ चैत २१ गते रुकुमको तकसेरामा भएको आक्रमण नै किन नहोस्, त्यति बेलाको हृदयविदारक अवस्थाले जो–कोहीलाई तरङ्गीत बनाउँछ। द्वन्द्वमा प्रत्यक्ष संलग्न भएर बाँच्न सफल तत्कालीन माओवादी नेता, कार्यकर्ता र सरकारी सुरक्षा फौजले त्यति बेलाको अवस्थालाई संस्मरण गरेर अहिले परिवर्तनको लागि केही काम गरे कि गरेनन् त ? यो सवाल ‘बारुदमाथि उड्दा’ पुस्तकका लेखक क्याप्टेन रामेश्वर थापाको मनमा जसरी नाचिरहेको छ त्यसै गरी द्वन्द्वलाई आफैंले या मिडिया तथा अन्य माध्यमबाट देखेका, भोगेका नेपाली जनताको मनमा पनि नाचिरहेको हुनुपर्छ।

क्याप्टेन थापाले ‘बारुदमाथि उड्दा’ पुस्तकमा झन्डै ३५ वटा भिडन्तहरूको सजीव चित्र शब्दमार्फत प्रस्तुत गरेका छन्। रगतका आहाल, सुरक्षा फौजको कोलाहल, माओवादीको भागदौड, सर्वसाधारणको आक्रोश, अपेक्षा र आतङ्क, हेलिकोप्टरसँगको उडान, यी सबै विषय कुनै चलचित्रको कथा जसरी बगेका छन् क्याप्टेन थापाको पुस्तकमा। १० वर्षको त्यो द्वन्द्वमा समाजले जुन सास्ती भोग्नुपर्यो, राजनीतिमा जुन खालको रक्तपान भयो, जनताले जे खालको जबर्जस्ती सहनुपर्यो, त्यसको साक्षी बनेको छ क्याप्टेन थापाको पुस्तक ‘बारुदमाथि उड्दा’। १० वर्षको द्वन्द्वले राजनीतिकरूपमा मुलुकको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, भौतिक विकास सबै कुरालाई ठप्प पारिदियो। अनि केही हदसम्म भने विकृति–विसंगतिको अन्त्य, सामाजिक समानताजस्ता कुरालाई स्थापित
पनि गरिदियो।

क्याप्टेन थापाको फ्ल्यास ब्याक

क्याप्टेन थापाको ‘बारुदमाथि उड्दा’ पुस्तकको सार १० बर्से द्वन्द्वको पीडामा दुखित हुने र यस्तो भयो वा यस्तो हुन्थ्यो भनेर थकथकाउने मात्र हैन, लामो समय अवरुद्ध भएको विकास र समृद्धिको उडानलाई उनकै उडानको रफ्तारमा अगाडि बढाउनुपर्छ भन्ने पनि हो। पुस्तकको शुरुमा उनले स्मरण गरेको उनको जीवनको ‘फ्ल्यास ब्याक’ले मुलुकको विकास र समृद्धिको लागि हरेक नागरिकको व्यावसायिक दक्षता, प्रतिबद्धता र निरन्तरता आवश्यक हुन्छ भन्ने कुरा सम्झाएको छ। मानिसले एउटा सम्भावनामा अगाडि बढ्दै गर्दा अरू धेरै सम्भावनाहरू पनि खोज्दै जानुपर्ने र सफलताको लागि सपना देख्नुपर्ने तथ्यलाई क्याप्टेन थापाको पुस्तकभित्र समेटिएको उनको जीवनको फ्ल्यास ब्याकले स्मरण गराइरहनेछ।

अदालतको जागिरमा मात्र सन्तुष्ट बनेको भए क्याप्टेन थापा मुलुकको सफल हेलिकोप्टर तथा मिडिया व्यवसायी बन्न सक्ने थिएनन्। उनले एउटा अवसरको सदुपयोग गर्दै गर्दा अर्को सम्भावनाको खोजी पनि गरिरहे र उपयुक्त समयको आँकलन गरेर अर्को सम्भावनातर्फ पाइला अगाडि बढाए। जसले उनलाई सफलता मात्र दिएन, नेपालकै इतिहासको एउटा महत्वपूर्ण कालखण्ड १० बर्से सशस्त्र द्वन्द्वको अविचलित साक्षीसमेत बनाउन सक्यो। र, उनको यो सफलतामा शालीन व्यक्तित्व, सामाजिक स्तरको आँकलन, व्यक्तिगत सम्बन्धका गुणात्मक फड्को आदि सबैले टेवा पुर्याउन सक्यो।
समग्रमा भन्नुपर्दा पुस्तकमा समेटिएको द्वन्द्वको शब्दचित्र र लेखक थापाको फ्ल्यास ब्याक एक–अर्कोको परिपूरक लाग्छन्। शायद त्यसैले पनि थापाले दुवै विषयलाई एउटै पुस्तकमा अटाएका छन्। फ्ल्यास ब्याक पढ्दा थापाको जीवनको जोड–घटाउ र उनको पेसाप्रतिको लगन, प्रतिबद्धता, निरन्तरता र आशा तथा अपेक्षालाई बुझ्न सकिन्छ। उनको जीवनको त्यही बुझाइबाट द्वन्द्वपछिको भयावह अवस्थालाई अवसरको रूपमा उपयोग गर्न सकिने मनोविज्ञान जो–कोहीले
प्राप्त गर्न सक्छन्।

अन्त्यमा,
त्यसैले पनि क्याप्टेन रामेश्वर थापाको उडान अनुभव ‘बारुदमाथि उड्दा’ पुस्तक शासक, नीति निर्माता, व्यवसायी, तत्कालीन द्वन्द्वरत पक्ष माओवादी र सरकार तथा सुरक्षा फौजका मानिस, सञ्चारकर्मी, अधिकारकर्मी सबैले पढ्नै पर्छ। क्याप्टेन थापाले संस्मरण लेख्दै गर्दा आफ्नो मनोकांक्षा र महत्वाकांक्षालाई लिपिबद्ध गरेको ठानेको भए पनि पुस्तक तयार हुँदासम्म त्यो १० बर्से सशस्त्र द्वन्द्वको एउटा अनुभवको संगालो, अन्वेषणको खुराक र नयाँ आशा तथा अपेक्षाको मार्ग बन्न सफल भएको छ। त्यो पुस्तकले १० बर्से द्वन्द्वको स्मरणमात्र गराउँदैन, राजनीतिक, सांगठनिक, सैनिक कुशलताको लागि आवश्यक तत्वहरूको ज्ञान दिने र बितेका पलहरूबाट नयाँ मार्ग पहिल्याउन सहयोग गर्ने कामसमेत गर्दछ।

भलै जनताको अपेक्षा, तत्कालीन माओवादी कार्यकर्ताहरूको आशा र भौतिक एवं मानवीय क्षतिको हिसाबले उपलब्धि नगन्य छ। तर जसरी आमरूपमा १० बर्से सशस्त्र द्वन्द्वले केही उपलब्धि हुन सकेन भन्ने व्याख्या हुँदै आएको छ, त्यसले भने १७ हजार नागरिकको सहादतलाई अपमान गरेको ठहरिन्छ।

प्रतिक्रिया दिनुहोस्