नेपालमा अर्काको असफलतामा खुसी हुने परम्परा छ– दीपकराज गिरी



नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को तेस्रो दिन शनिबार विविध विषयमा बहस र कलाकारका संघर्ष तथा सफलताका कथा सुनाइएको छ।

अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले शनिबारको कार्यक्रममा आफ्नो संघर्ष र सफलताको कथा सुनाउँदै एकाग्र भएर अघि बढ्नुपर्ने अनुभव बाँडे। फिल्म बनाउँदा आफूले बुझेको विषय रोज्नुपर्नेमा पनि उनले जोड दिए। ‘नेपालमा आफ्नो सफलताभन्दा पनि अर्काको असफलतामा खुसी हुने नराम्रो परम्परा छ’, आफ्नो अनुभव साट्दै गिरीले भने– ‘सुरुसुरुमा यो क्षेत्रमा अघि बढ्न धेरै ठूलो हण्डर खानुपरेको थियो।’ दीपकले आफ्नो दक्षता र खुबीको पहिचान आफैंले गर्न सकिए लक्ष्यमा पुग्न सजिलो हुने अनुभव सेयर गरे।

त्यसै गरी क्याराभान फिल्ममार्फत नेपाली फिल्मलाई विश्वको मानचित्रमा पुर्याउने निर्देशक एरिक भ्यालिले पनि नेपालमा चलचित्र निर्माण गर्दाको आफ्नो अनुभव बाँडेका थिए भने राम्रो फिल्म बनाउँदा विभिन्न खालका बाधा आउने र परीक्षाको सामना गर्नुपर्ने अनुभव पनि उनले सुनाए। ‘फिल्म एउटा सिर्जनात्मक अभिव्यक्तिको माध्यम हो त्यसैले यो कुनै गणितको नियममा बाँधिएको हुँदैन’, उनले भने– ‘मैले फिल्म बनाउन शुरू गर्दा यसबारेमा खासै ठूलो अनुभव थिएन। नेपाल आउँदा यहाँ देखिएको विषयले नै त्यसमाथि फिल्म बनाउन अभिप्रेरित भएँ।’ त्यसैबाट अभिप्रेरित भएर द हनी हन्टर र क्याराभान बनाउन मद्दत पुगेको उनले बताए।

चीनका राष्ट्रपति सि जिन पिङले अघि सारेको बेल्ट एन्ड रोड विचारमा आधारित रहेको यो क्षेत्रबीच फिल्म निर्माणमा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा भएको बहसमा चीनको बेइजिङ फिल्म एकेडेमीका प्रोफेसर ल्याङ स्याओ, भारतका फिल्मविद् प्रेमेन्द्र मजुमदार, बंगलादेशका फिल्म निर्देशक एवं अभिनेता इस्तियाकबीच विचार आदानप्रदान भएको थियो भने यो बहसको सहजकर्ता सञ्चारकर्मी, अभिनेता एवं फिल्मकर्मी अरूणदेव भट्ट रहेका थिए। बहसमा बेल्ट एन्ड रोड अन्तर्गत पर्ने देशहरूबीच सहकार्यमा फिल्म निर्माण गर्दा एकअर्का देशका कलाकार, प्राविधिकहरू प्रयोग गरी लाभान्वित हुने ठम्याइएको थियो। चीनका विभिन्न कथानक फिल्म र टिभी सिरियलहरू नेपालीमा स्वरांकन भई प्रकाशमा आइसकेको बारे चर्चा भएको कार्यक्रममा नेपालमा फिल्ममार्फत पर्यटन विकास विषयक प्यानल डिस्कसनमा फिल्मकर्मी यादव खरेल र पर्यटन व्यवसायी विक्रम पाण्डे वक्ताका रूपमा रहेका थिए भने यो बहसको सहजकर्ताका रूपमा पर्यटन व्यवसायी तथा अभिनेता राजन सिम्खडा रहेका थिए।

निफको चौथो दिन आइतबार नेपाली फिल्मजगत्मा खल अभिनेताका रूपमा ख्याति कमाएका सुनील थापाले आफ्नो संघर्षका कथा सुनाए भने कथा वाचन पनि गरिएको थियो। कथा वाचनअन्तर्गत छोटा कथाहरू वाचन भएका थिए भने वाचन भएका कथाहरूमा लघु फिल्म बनाउन नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ को आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आर्थिक लगानी गर्ने जनाइएको छ। वाचन गरिएका कथाहरूबाट योग्य कथा छनोट गर्नका लागि साहित्यकार तथा फिल्म लेखक नयनराज पाण्डे र फिल्म अन्वेशक शेखर खरेल दुई जना निर्णायक रहेका थिए।

शनिबार निर्देशक नरेशकुमार केसीको चर्चित फिल्म डाइङ क्यान्डल र मैथली संस्कृतिमा आधारित फिल्म भोर प्रदर्शन गरियो। भोर यादवकुमार भट्टराईले निर्देशन गरेका हुन्। शनिबार नै अविनाश विक्रम शाही निर्देशित तटिनी, प्रशन्न मालिको मातृत्व, पासाङ छिरिङ छोर्टेंग्पाको बर्दो, नेपाल र बेलायतको संयुक्त प्रयासमा निर्मित अश्मिना र आयरल्यान्डको ११९०, जर्जियाको एट मिनेट, फ्रान्सको द क्वीन अफ द हाउस, हङकङको द डिनर, भारतको बिहाइन्ड द मुन, रोमानियाको जोक, चीनको द इन्ट्रेस्टिङ लाइनलगायतका फिल्म प्रदर्शन गरियो।

प्रतिक्रिया दिनुहोस्