कोटेश्वर–कंलकी चक्रपथमा जोखिम हटाऊ



काठमाडौं उपत्यकाभित्रको नमुना सडक बनेको छ कोटेश्वर–कंलकी चक्रपथ सडक । केन्द्रीय राजधानी काठमाडौंमा चीन सरकारको सहयोगमा बनेको यस सडकले विकासको नमुनाको प्रतिकको पनि काम गरेको छ । सडक चिटिक्क छ र फराकिलो पनि छ । सडक निर्माण त भयो तर सुरक्षा सतर्कता नअपनाउँदा रातको समयमा सवारीचालक र सर्वसाधारण यात्रु जोखिम मोलेर हिँड्न बाध्य भएका छन् । सडक सफा र सुन्दर छ तर निर्माणकै क्रममा सरकारले पर्याप्त ध्यान नदिँदा जोखिम पनि उत्तिकै बढेको छ । सडक पार गर्नका लागि ठाउँ–ठाउँमा हुनुपर्ने आकाशे पुल निकै लामो दूरीमा रहेको छ ।

यसको कारण सर्वसाधारण यात्रुहरु आवतजावत गर्न आकाशे पुलभन्दा पनि जोखिम मोलेरै सडकबाट हिँड्ने गरेका छन् । सडक फराकिलो भएसँगै सवारीसाधन पनि तीव्र गतिमा गुड्ने गरेका छन् ।

कलंकी–कोटेश्वर सडक आठ लेनको बनेको छ तर यसमा साइकल लेन छैन । यतिसम्म कि तीव्र गतिमा सवारीसाधन गुड्ने सडकमा बीच भागमा कुनै तारबार लगाइएको छैन । सर्वसाधारण यात्रुहरुले जहाँ पायो त्यहीँबाट सडक पार गर्नाले दुर्घटना पनि बढ्दै गएको छ । सडक निर्माणकै क्रममा अपनाउनुपर्ने सावधानी अपनाउन नसक्दा सडकमा जोखिम बढेकोतर्फ सडक विभागको ध्यान जान जरुरी छ । सडक निर्माण भएर सञ्चालनमा आउँदासमेत सडकको दायाँ–बायाँ अहिलेसम्म सडक बत्ती राखिएका छैनन् ।

ट्राफिक लाइटहरु पनि राखिएका छैनन् । रातिको समयमा सडक बत्ती नहुँदा यात्रुहरुलाई कहाँ कतिखेर ज्यान जाने हो भन्ने चिन्तासमेत थपिएको छ । पर्याप्तरुपमा आकाशे पुल निर्माणमा पनि सरकारले ध्यान दिन सकेको छैन ।
सडक निर्माण हुनु सकारात्मक पक्ष हो । तर बेलैमा सुरक्षा सतर्कता नअपनाउँदा पाइलैपिच्छे जोखिम पनि बढेको छ । सरकारले यात्रुहरुको दैनिकीसँग जोडिएको सडकलाई सुरक्षित बनाउन ध्यान दिनै पर्छ । दुर्घटना भएपछिको व्यवस्थापनभन्दा दुर्घटना नै हुन नदिनु महत्वपूर्ण कुरा हो ।

पहिले नै सचेत भएमा मानवीय क्षति हुनबाट रोक्न सकिन्छ । दुर्घटनाको कारणबाट पछुताउनुभन्दा दुर्घटना न्यूनीकरण गर्नतिर विशेष योजनासहित सडक निर्माणको क्रममा भएको त्रुटि सच्याउन ढिला गर्नुहुँदैन । सडकमा रहेको जोखिम हटाउन सरकारले समयमा नै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्