सुरक्षा सर्तकता बढाऊ



सरकारले पटक–पटक मुलुकको शान्ति सुरक्षा चुस्त दुरुस्त रहेको, जो कोही पनि निर्धक्क आफ्नो गन्तव्यमा जान आउन सक्ने दावी गरिरहेका बेला मुलुकका विभिन्न भेगमा बम विस्फोटका घटना भएका छन् । विहीवार र शुक्रवार काठमाडौं उपत्यका सहित विभिन्न भेगमा भएका विस्फोटका घटनाले विगतको द्धन्द्धकालकै झल्को दोहो¥याएको छ । निजी क्षेत्रको दुरसेवा प्रदायक कम्पनी एनसेलको मुख्यालय ललितपुरको नख्खुमा शुक्रवार साँझ भएको बम विस्फोटमा ३ जना घाइते भएकामा एक जनाको उपचारका क्रममा निधन भएको छ ।

सो घटनामा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर घाइते भएकामा गुरुङको उपचारका क्रममा शुक्रवार राती मेडिसिटी अस्पतालमा निधन भएको हो । शुक्रवार राती काठमाडौंको कमलपोखरीमा भेटिएको बम नेपाली सेनाले निस्कृय पारेको थियो । त्यसैगरी विहीवार बाग्लुङ, अछाम र नुवाकोटका एनसेन टावरमा पनि अज्ञात समुहले आगजनी गरेको छ । गृहमन्त्री राम बहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सुरक्षा निकायका उच्च अधिकारी, विभिन्न दलका नेताले शनिवार घाइते र मृत्तकका आफन्तलाई भेटेर दोषीलाई जतिसक्दो छिटो कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मुलुकको सुरक्षा अवस्थाबारे विगतमा संसदमा पनि प्रश्न उठ्दै आएको थियो । यसअघि पटक–पटक प्रतिनिधी सभा र राष्ट्रिय सभामा सांसदले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भनेर प्रश्न उठाइरहँदा गृहमन्त्री थापाले सरकार शान्ति सुरक्षा कायम गर्न सक्षम रहेको जवाफ दिनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २२ गते प्रतिनिधी सभामा जरुरी सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्यमा पनि ९६ दशमलव १ प्रतिशत शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको दावी गर्नु भएको थियो । तर विपक्षी दलका सांसदहरुले दुवै सदनमा विभिन्न समयमा घटेका घटनाको जानकारी माग्दै ‘के यी घटनाहरु भने ९६ प्रतिशत बाहेकका अन्य हुन् त’ भन्दै सरकारलाई पटक पटक प्रश्न गर्दै आएका थिए ।

विगतमा शान्ति सुरक्षाको अवस्था कञ्चनपुरकी बालिका निर्मला पन्त र अन्य बलात्कारका घटनासँग जोडिएको थियो, अहिले बम विस्फोटको घटनाले फेरी संसदमा पुरानै प्रश्न दोहोरिने भएको छ । सरकारले पछिल्लो हिंसात्मक घटनाका घाइतेको निशुःल्क उपचार गर्ने र मृत्तकका परिवारलाई उचित राहत उपलब्ध गराउने बताएको छ । सरकारले यस्तो प्रतिवद्धता जनाउनु उसको कर्तव्य हो, अब जतिसक्दो छिटो पीडित परिवारले न्याय पाउनुपर्छ । राजधानी जस्तो सुरक्षा अवस्था चुस्त रहेको ठाउँमा भएको यस्तो घटनाले उपत्यकाबासी त्रसित भएकाले घटनामा संलग्न व्यक्ति÷समुहलाई यथासक्य कानूनी कठघरामा उभियाउनै पर्छ ।

फेरी पनि काठमाडौं र अन्यत्र यस्ता घटना दोहोरिन सक्छन्, त्यसैले सुरक्षा अवस्थाप्रति गम्भिर हुनैपर्छ । साथै हिंसात्मक गतिविधी राजनीतिक अभिप्रायको हो या अन्य कुनै त्यो पनि सुनिश्चित गरी आगामी कदम अघि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्