‘गोली खान आँट गरेको मान्छे कसैको धम्कीले डराउँदिनँ’



प्रदीप यादव
सांसद संघीय समाजवादी फोरम नेपाल

प्रदीप यादब संघीय समाजवादी फोरम नेपालका सांसद हुनुहुन्छ । पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित उहाँ पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ तेस्रो कार्यकालको लागि जिल्ला अध्यक्ष भएर काम गर्दै हुनुहुन्छ । गाउँ बिकास समितिको सचिव भएर समेत जनतालाई सेवा दिनुभएका उहाँले अहिलेको आफ्नो एकमात्र उद्येश्य जनताको न्याया, बिकास र सामाजिक परिवर्तनको मुद्यालाई लिएर हिँडेको बताउनुभएको छ ।

आफ्नो क्षेत्र दुर्गम र बिकट भएको बताउने उहाँ २०७० सालको संविधानसभाको निर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो तर एमालेका उम्मेदवार बिचारीप्रसाद यादबले जित्नुभयो तर अहिले बिचारीसहित कांग्रेसका वहालवाला सांसद अनिल रुङ्गटालाई पराजित गर्नुभयो । फोरम सरकारमा जानुको उद्येश्य संविधान संशोधन र मधेशी जनताको हित र मुक्ति भएको भन्ने उहाँको भनाई छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य उहाँ वाइडबडी काण्डमा निकै ठूलो घोटाला भएको र त्यसलाई बाहिर ल्याई कारबाही गरिनुपर्छ भनेर प्रष्ट रुपमा बोल्दै आउनुभएको छ । यी सबै विषयमा उहासँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक राजनीतिक कुराकानी–

–अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्था अत्यन्तै संकटग्रस्त छ । सरकार बनेको १ वर्ष बितिसक्दा पनि जनताले गुनासो गर्न छोडेका छैनन् । मुख्यकुरा सरकार बनेपछि केही होला भन्ने सबैको अपेक्षा थियो त्यो हुन सकेन । हाम्रो पार्टी पनि सरकारमा छ तर कुनै स्वार्थले हामी सहभागी भएका होइनौं । २ बूँदे सहमति गरेर सरकारमा गएका हौं अझैपनि हामीसँग गरिएका प्रतिवद्धता पूरा भएका छैनन् त्यसको लागि आन्दोलन गरिरहेका छौं, सडकमा निस्केका छैनौं सरकारसँग छलफल भइरहेको छ ।

प्रधानमन्त्रीलाई भेटेर सम्झाएका छौं, आशा गरौं माग पूरा होला । म सांसद भएको पनि १ वर्ष पुगेको छ । काम गर्न धेरै बाँकी छ । निर्वाचनका बेला प्रतिवद्धता गरिएका वाचा पूरा गर्नेतर्फ लागिरहेको छु । तर अरुले देश बनाउनेतिर सोच्न सकेनन्, मन्त्रीहरु पनि आफ्नै बिकास गर्न लागे, आफू बने सबै भइहाल्छ भन्ने सोचेकाले समस्या आएको छ तर म भने सधैं जनताकै पक्षमा लागिरहेको छु, त्यो मैले भन्नुभन्दा पनि मानिसहरुले मैले गरेको काम देखेर बुझेका छन् ।

–निर्वाचनमा जाँदा जनतालाई के आश्वासन दिनुभएको थियो ?
मैले आश्वासन दिएको होइन केही काम गर्छु भनेको थिएँ, भइरहेको छ तपाईंले गएर सोधे हुन्छ । निःस्वार्थ रुपले राजनीति गर्ने हो भने कसैले केही भन्ने छैन तर अहिले राजनीतिमा जे विकृति आएको छ त्यसले मजस्तालाई समस्या भएको छ । राजनीति त समाजसेवा हो त्यो सम्झनु जरुरी छ । मैले पनि कामै नगर्ने सधैं गफमात्र गर्ने भए तपाइले मलाई पनि आश्वासन भन्न मिल्थ्यो तर मैले जति सक्छु त्यतिमात्र वचन दिएको छु । मेरो क्षेत्र दुर्गम र विकट छ, यहाँका जनतामा गरिवी, अशिक्षा र पछौटेपन छ । यो अवस्थालाई उकास्न म लागेको छु । संसद क्षेत्र पूर्वाधार कार्यक्रमको लागि सरकारले दिएको बार्षिक ४ करोडको सही सदुपयोग गरेको छु ।

विशेषगरी सडक, खानेपानी र शिक्षामा छुट्याएको छु । प्रत्येक वडामा बिबाह गर्न मिल्ने गरी ठूलो क्षेत्रफलमा भवन बनाउँदैछु । संविधान संशोधन र नागरिकताको ‘ईस्यू’ हाम्रो लागि मुख्य विषय हो । घरघरमा खानेपानी लाँदैछु । बिगतमा बाटो बनाउने भन्दै माटो छर्किनेमात्र काम भयो अहिले जनताले बिकास महसुश गर्न पाएका छन् र खुशीको आशा जागको छ । मुसहर बस्तीमा विद्यालय बनाएर नमुना बनाउने सोच छ ।

धार्मिक क्षेत्रमा पनि केही लगानी गरेको छु । नारायणी उपक्षेत्रीय अस्पताललाई राष्ट्रिय अस्पताल बनाइँदैछ । खेलकुद रंगशाला बनाउने अर्को योजना हो । म कृषकको छोरो हुँ त्यसैले पनि कृषकका समस्यालाई नजिकबाट बुझेको छु । बीरगञ्जलाई औद्योगिक नगरी बनाउने भनिएको छ तर अझैपनि त्यो अनुसारको सञ्रचना बन्न सकिरहेको छैन । भइरहेका सञ्रचनाको बिकास गर्दै लाने र नयाँ बनाउने मेरो योजना हो । १ वर्षभित्र जति काम गरें त्यसमा खुशी छु । मलाई जनताले जे भनेर पठाएका थिए संसदमा बोलेर जनताको पक्षमा न्याया गरेको छु भन्ने लाग्छ ।

–त्यो क्षेत्रका जनताको मागचाहिँ के छ ?
मुख्य कुरा बेरोजगारी समस्या छ । यसअघिको बिकासको कुरा गर्दा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तो भएको छ । नेता र कार्यकर्ता मोटाएका छन् जनताको समस्या जस्ताको त्यस्तै छ तर अब भने परिवर्तन हुने गरी काम गर्छु । मलाई अबैध काम गरेर संसदको नाम र लोगो बेचेर कमाउनु र बद्नाम हुनु छैन । मेरो र परिवारको जिवन चलाउने मेरो अरु नै पेशा व्यवसाय छ त्यसले पुग्छ । संसदीय कार्यकाल जनताकै हितमा खर्चनेछु ।

संघीयतालाई व्यवहारिक रुपमा कार्यान्वयन होस् । हामीले अहिलेसम्म गरिव जनता, मुश्लिम समुदाय र मधेशी जनताको हितमा समय बितायौं । तर संघीयतालाई गाउँसम्म नपु¥याउने खेल भएजस्तो लागेको छ , यो दुर्भाग्य हो ।
–तपाईंको पार्टी पनि सरकारमा गयो, के उसले पनि केही काम नगरेकै हो ?
हामी अहिले सरकारमा छौं तर शान देखाउन वा रहरले मन्त्री बन्न पाए ठूलो मान्छे भइन्छ भनेर गएका होइनौं । हामीले पाएका मन्त्रालयमा राम्रो काम गरेका छौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको छ ।

मन्त्रालयले फाइल अघि बढाएपनि अझैसम्म वीर अस्पतालमा उपकुलपति नियुक्त गर्न प्रधानमन्त्रीले अलमल गरिरहेका छन् । हामी सरकारमा जाँदा बजेट बाँडफाँड भइसकेको थियो, पैसा नै नभएको मन्त्रालय चलाउनुपर्दा पनि सोचेजस्तो काम गर्न सकिएन । यसअघिका धेरै समय हामीले आन्दोलन र संघर्षमा नै बितायौं । झण्डै ३ महिनामात्र सरकारमा सहभागी भयौं यसअघि । अहिले संविधान संशोधन र बिकास निर्माणको मुद्धा लिएका छौं, यो विषय पनि अलमलमा छ । सरकारमा भएपनि सत्य कुरा भन्न डराएका छैनौं ।
सरकार अहिले जनताको पक्षमा हुन सकेको छैन । उसको बाटो गलत छ ।

हामी पनि त्यही जहाजमा यात्रा गरिरहेका छौं तर जहाज डुब्न लागेको छ भनेर सचेत गराएका छौं । मन्त्री हुने हाम्रो रहर होइन । भनेजस्तो भएन भने जुनसुकै बेलापनि सरकारबाट बाहिरिन सक्छौं । सरकार बनेको १ वर्ष बितेको छ, प्रधानमन्त्री केपी शर्मा ओली गफमात्र गरेर हिडिँरहेका छन् । यसले न त देश बन्छ न त सरकार नै राम्ररी चल्छ । प्रदेशलाई बलियो बनाउन संघले नै चाहेको छैन । प्रदेशलाई अधिकार दिनुपर्नेमा प्रधानमन्त्रीले लुकाएर राखेका छन् । सधैं प्रदेशसभामा गएर सम्बोधन गर्दैमा र सधैं भाषण गरेर जनताका आँखामा छारो हाल्दैमा न्याया हुनेवाला छैन ।

सरकारले काम गरेर देखाउने हो । अरुलाई गाली गरेर र विपक्षीलाई कड्के नजर लगाएर हुनेवाला केही छैन । काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता हो । संघीयता चाहेको हो कि होइन भन्ने प्रश्न अहिले उठेको छ । सरकारको गतिविधि खुशी भइहाल्ने खालको छैन । आश्वासनबाहेक केही पाइएन । काण्डैकाण्डले सरकार संकटमा छ । प्रधानमन्त्री सबै जस आफैंमात्र लिन खोज्दैछन् तर भएको भने केही छैन । ल कसैले मलाई यो सरकार आइकन योचाँहि काम भयो भन्छ भने भनिदियोस् अनि बिचार गरौंला । भ्रष्टाचारीलाई तह लगाउँछु भनिएको छ तर उनीहरुसँगै ‘सेटिङ’ गर्ने काम भएको छ । भ्रष्टलाई कुर्सिमा राख्ने काम भएको छ । गलत काम गर्नेलाई कारवाही र सही काम गर्नेलाई प्रशंसा गरेर उत्साहित पार्ने चलन छैन ।

प्रधानमन्त्रीले नै फाइल लुकाउने काम गर्छन् । अघिल्लो दिन निर्णय भएका राम्रा काम पनि भोलिपल्ट उल्टिन्छ । कुनैपनि कुराको तत्काल निर्णय गर्ने बानी छैन । फाइल कि सदर गर्नुप¥यो कि बदर अनि त्यसमा पनि कारण दिएर पुष्टि गर्नुपर्छ ।


–२ नम्बर प्रदेश त तपाइहरुको आधार ईलाका हो तर पनि त्यति राम्रो सन्देश गएको छैन नि के भएको होला सधैं बिबाद र मतभेदमात्र छ ।
जबसम्म केन्द्रले अधिकार दिँदैन यो समस्या यस्तै रहन्छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जति पनि अधिकार छैन मुख्यमन्त्रीलाई । सिडिओलाई छोटेराजा बनाउन खोजिएको छ । संघले समयमा नीति, नियम नबनाउँदा प्रदेशले देखाएको सक्रियताको पनि गलत व्याख्या गरिएको छ । २ नम्बर प्रदेश सबैभन्दा कमजोर प्रदेश भनेर चिनिन्छ तर समृद्ध बनाउने योजनामा छौं । शिक्षामा बढी लगानी गर्नुपरेको छ । झापा र मोरङलाई पनि २ नम्बर प्रदेशमा ल्याउन सकियो भने थप सजिलो हुन्छ, यो हाम्रो पुरानै एजेण्डा हो ।

–तपाईंको पार्टी फोरम र राष्ट्रिय जनता पार्टी त २ नम्बर प्रदेशमा मात्र सिमित छ के अन्य जिल्ला नभएपनि हुने हो ?
राष्ट्रिय जनता पार्टीको विषयमा मलाई बोल्नु छैन । हाम्रो पार्टीको कुरा गर्ने हो भने अहिले देशव्यापी संगठन गरेका छौं । २ नम्बर प्रदेशबाहेक शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले बाँकेबाट निर्वाचन जित्नुभयो । समानुपातिकमा देशैभरबाट मत आएको छ । हिजोको दिनमा हामीलाई लाग्ने आरोप पनि यही हो सिमित क्षेत्रमा रहयो भन्ने । यो भ्रम चिर्नु पनि अहिलेको आवश्यकता हो । तपाई हेर्दै जानुहोला अर्को निर्वाचनमा हाम्रो शक्ति देख्नुहुने छ त्यतिबेला हामी निर्णायक पार्टी बन्छौं ।

–तपाईं प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सदस्य हुनुहुन्छ, वाइडबडी घोटालाको छानबिन गर्न गठित उपसमितिको पनि सदस्य त्यहाँ खास भएकोचाहिँ के रहेछ ?
मैले यो उपसमितिमा बसेर काम गर्दा धेरै कुरा सिक्न पाएँ । जे भएको हो त्यो सत्य बोल्दा मलाई धम्क्याउने र हप्काउने काम पनि भए तर पछि हटिन । हिजो मधेश आन्दोलनमा ज्यान दिएर लागेको मान्छे हुँ कसैले चानचुने सम्झनु भएन । प्रतिवेदन तयार पार्ने र तथ्यहरु संकलन गर्ने क्रममा पनि धेरै दुःख पाइयो । कसैले पनि विवरण दिन चाहेनन् । मन्त्रालय पनि प्रष्ट हुन सकेन ।

यतिसम्म कि यो बेला यी मन्त्री थिए भन्नसमेत सकेन । हामीले रातदिन लगाएर आफ्नो जिम्मेवारी निभायौं । धेरैले मलाई यस्तो काममा नलाग्न र छानबिन नगर्न भने तर म त देश र जनताको पक्षमा काम गर्न भनेर सपथ खाएर आएको हुनाले इमान्दारिता देखाँए । यही काण्डमा म अलिकति लचक भएको भएपनि सत्य बाहिर नआउन सक्थ्यो । तर दुःखको कुरा के भने भ्रष्टाचारमा पनि राजनीतिक सहमति भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनि प्रधानमन्त्री ओलीको नाम जोडिएपछि काण्ड नै ढिसमिस पार्ने काम भयो, यो दुर्भाग्य हो । प्रधानमन्त्रीको चाहनामा बनाएको छानबिन समितिले पनि केही काम गर्न नसकेर निस्क्रिय भएको छ ।

त्यो समिति बनाउनुमा पनि स्वार्थ छ भन्नेमा शंका छैन । अपराध ढाकछोप गर्न बनाएको समिति देखाउनको लागिमात्र हो । मिडिया, नागरिक समाज, बौद्धिक व्यक्तित्व, सांसद र सर्वसाधारण जो राजनीति बुझ्छन् उनीहरुले पनि भ्रष्टाचार हो भनेका छन् अब भ्रष्टाचार गर्नेले मात्र होइन , हामी चोखो छौं भनेर हुन्छ र । अब यो विषय सडकदेखि सदनसम्मको चासोको विषय भइसकेको छ । अब यो विषयमा कोही पनि कुनैपनि हालतमा पछि हट्नु हुँदैन । देउवा, ओली, पूर्वमन्त्रीहरु यो काण्डमा मुछिएका छन् । नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार मुख्य दोषी हुन्, यो भन्न मलाई डर छैन ।

अचम्मको कुरा त के छ भने जसलाई पनि उनी नै चाहिने, के क्षमता छ होला सबैलाई रिझाउने । मलाई यो छानबिन गर्दा ‘इमोसनल थ्रेट’ आयो । म क्रान्ति गएर आएको हुँ, मलाई बोल्न डर छैन । अहिले पर्यटनमन्त्री आफू चोखो रहेको भन्दै हिँडेका छन् त्यसो भए १६ अर्व किन निकासा दिए जवाफ चाहियो । के हेरेर पैसा पठाइयो ? बिमान खरिद गर्ने कम्पनी नै गलत छ, नयाँ कम्पनी खडा गरेर सेटिङ मिलाइएको छ । प्रतिस्पर्धा गरिएन पैसा खानको लागि अनेक जुक्ति लगाइयो ।

–वाइडबडीको सत्थतथ्य सार्वजनिक हुँदा को को पर्छन् ?
यो त खतरा छ । आफूलाई मै हुँ भन्ने नेताहरु पर्छन् र अहिलेका ठूला पार्टीहरुको राजनीति स्वाहा हुन्छ । अब जनता पनि बाठा भएकाले अर्कोपटक भ्रष्ट र देशघाती पार्टीलाई भोट नै हाल्दैनन् । त्यही भएर पनि घटना तोडमोड गर्ने र चोखिने चलखेल भइरहेको छ ।


–तपार्इं सांसद नहुँदा गाउँमा के गर्नुभयो र जनताले पत्याए ?
मैले गाउँमा हुँदा सधैं अरुको नै पक्षमा काम गरें । बिकास निर्माणमा बढी चासो दिएँ । म सामान्य नागरिकमात्र हुँदा त्यति धेरै गरें अब सांसद हुँदा त झन् धेरै काम गर्लान् भनेर पत्याए । जनताले जुन विश्वास दिएका छन् त्यसमाथि घात गर्ने छैन । सामुदायिक विद्यालय पढ्ने छात्रालाई प्रोत्सािहत गर्न साइकल उपलब्ध गराएँ । महिलालाई व्यवसायिक र सिपमूलक तालिम सञ्चालन गरें । मैले पर्साको तुलसीवर्वा गाउँ बिकास समितिको सचिव भएर पनि काम गरें । यो बेला ममाथि अनेक आरोप लगाइयो । मुद्धामामिला पनि झेलें । मलाई कांग्रेसीले धेरै दुःख दिने गरेका थिए ।

–सुरुमा राप्रपाको राजनीति गर्नुभयो के कारणले पार्टी परिवर्तन गर्नुभयो, के तपाईंलाई पनि पार्टी चहार्ने रोग लागेको हो ?
त्यसरी आरोप लगाइहाल्न मिल्दैन । एउटा पार्टीमा बसेर नै सधैं काम गरिरहनुपर्ने छैन । समय अनुसार परिवर्तन गर्नु अस्वभाविक होइन । फेरि मैले त दिनैपिच्छे पार्टी परिवर्तन गरेको पनि होइन । राप्रपाको क्षेत्रीय सभापति भएँ, मधेश आन्दोलन सुरु भयो अनि त्यतातिर मोडिएँ । राप्रपा पनि संकटमा पर्दै गयो, पार्टीमा विभाजन देखियो र उसले चाहेका लक्ष्य पूरा गर्ने सम्भावना देखिएन । अनि मैले जहाँ बसेर पनि जनताकै पक्षमा काम गर्ने भएपछि फरक बाटो समाएको हुँ । म जहाँ छु सही ठाउँमा छु त्यसमा कुनै दुःख छैन ।

राप्रपाका नेता राजिब पराजुलीसँग मेरो राम्रो सम्बन्ध थियो र अझै पनि छ । म प्रायःजसो उहाँसँगै हुन्थे र कुरा मिल्थ्यो । पार्टी फरक भएपनि हाम्रो सम्बन्ध छँदै छ । कुरा के भयो भने एकदिन राती पनि उहाँकै घरमा सुते, बेलुका भन्न डर लाग्यो भनौं वा मन मानेन । अनि बिहान उठेपछि मैले यो पार्टीमा बसेर काम गर्दिन, नयाँ बाटो लिएर मधेश र मधेशी जनताको पक्षमा लागेर सामाजिक न्याया र समानता स्थापित गर्छु भनें । मैले अचानक यस्तो कुरा गर्दा राजीव पराजुली पनि छक्क पर्नुभयो । मलाई पार्टी नछोड्न भन्नुभयो तर मैले निर्णय गरिसकेकाले फर्किन सक्दिनँ भनें ।

प्रतिक्रिया दिनुहोस्