एकाएक राजधानीमा त्रास



नेपाल समाचारपत्र, काठमाडौं
व्यस्त शहरी दैनिकी । सवारीको चहल पहल उस्तै । शान्ति सुरक्षाको हिसावले शान्त र खतरामुक्त । शुक्रबार बेलुकी साँढे आठ बजेसम्म देशको मुख्य राजधानीको ताजा अबस्था यस्तै थियो । तर त्यसपछिको अबस्थाले अर्कै रुप लियो । राजधानीबासीमा त्रास निम्त्यायो ।

ललितपुरको नख्खुमा भएको बम विष्फोट र राजधानीकै नक्सालमा फेला परेको बमले गर्दा राजधानीबासी एक्कासी आक्रान्त बने । नक्सालमा फेला परेको बम सेनाले निस्कृय पारे पनि नख्खुमा विष्फोटनै भयो । मानबीय क्षती नै हुन पुग्यो ।

एनसेलको मुख्यालयलाई लक्षित गरी राखिएको प्रेसर कुकर बम पड्किँदा ३ जना घाइते भएका थिए । घाइतेमध्ये गम्भिर घाइते भएका एकको उपचारको क्रममा मृत्युसमेत भएको छ भने अन्य दुईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विष्फोटमा परी घाइते बनेका लमजुुङका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । ४९ वर्षीय गुरुङ सिंगापुरे लाहुरे भएको खुलेको छ । उनी ३ वर्षअघि सिंगापुर प्रहरीबाट अवकास पाएर स्वदेश फर्केका थिए । गुरुङको दुबै खुट्टामा गम्भिर चोट लागेको, कम्मरका हड्डीहरु भाँचिएको र रगत बग्ने ठूला नसाहरु काटिएकोले अत्यधिक रक्तश्रावका कारण मुत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य दुई जना घाइतेहरु ललितपुर बाग्डोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रे बनेपा घर भएकी २५ वर्षीया उरुषा मानन्धरको स्वास्थ्य अबस्था चिन्ताजनक नभएको अस्पतालले जनाएको छ ।

घाइतेहरु खड्का र मानन्धर अल्का र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने मृतकको उचित क्षतीपूर्ति र घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने गृहमन्त्री रामबहादुर थापाले घाइतेहरुको स्वास्थ्य अबस्था बुझ्न आउने क्रममा बताउनुभयो ।

घाइते मानन्धर मेडिसिटीकै स्टाफ नर्स हुन् । उनको खुट्टामा गहिरो चोट लागेको छ भने अर्की घाइते खड्काको पातोमा चोट लागेको अस्पतालले जनाएको छ ।

यस्तै बम विष्फोटमा संलग्न भएको आशंकामा एनसेलकै दुई सुरक्षा गार्डलाई विष्फोट भएको केहीबेरमै नियन्त्रणमा लिइएको थियो भने शनिबार अन्य ४ जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको छ । उनीहरुलाई महानगरीय प्रहरी परिषर ललितपुरमा राखिएको परिसरका उच्च स्रोतले बताएको छ । स्रोतले पक्राउ पर्नेहरुको नाम गोप्य राखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु घटनामा संलग्न देखिएकोले म्याद थप गरी अनुसन्धान थालिएको परिषर प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्