थपिँदै छन् नीलगाई र सारस



टीका बन्धन, काठमाडौं
सदर चिडियाखानाले जोडीविहिन जन्तुलाई जोडी बाध्ने प्रकृया अघि बढाएसँगै दुई जन्तु थपिदैछन् । चिडियाखानाले यही साता निलगाई (घोडगधा) र सारस ल्याउँदैछ ।

निलगाई बर्दिया र सारस कञ्चनपुरबाट काठमाडौं ल्याउने तयारी गरिएको हो । प्राकृतिक बासस्थान छोडेर वस्ती पसेको निलगाई डिभिजन वन कार्यालयले उद्दार गरी राखेको हो भने सारस स्थानीय बासिन्दाले घरमा हुर्काएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरेका हुन् । दुवै जन्तु यही साता ल्याउने प्रकृयाअघि बढाइएको चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जीवी प्रसाद पोखरेलले जानकारी दिनुभयो ।


मानव संगतमा रहेका ती जन्तुलाई प्राकृतिक वासस्थानमा छोड्न अनुपयुक्त हुने विज्ञहरुको सुझावका आधारमा कृतिम बासस्थान (चिडियाखाना) ल्याउने निधो भएको उहाँले बताउनुभयो । ‘चिडियाखानामा नभएका र जोडीविहिन जन्तुलाई जोडी बाध्ने पहल भइरहेका बेला संयोगले त्यस्तै हामीले जन्तु पाएका छौ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पहलमा अन्य जिवजन्तु पनि थप्ने प्रयास भइरहेको छ’–पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

चिडियाखानामा एक वर्षयता निलगाई छैन भने करिव २ वर्षयता सारस जोडीविहिन भएको छ । चिडियाखानामा अहिले विभिन्न १ सय १९ प्रजातीका १ हजार १ सय १३ वटा जिवजन्तु प्रर्दशनीमा राखिएका छन् । बाघ, गैंडा, जलगैंडा, सिमाङ्ग (वन मान्छे), जरायो, घोरल, नाउर, हिमाली भालु पोथीविहीन छन् भने घडियालका भाले छैनन् । नेपालभित्रै उपलब्ध जिवजन्तु चिडियाखाना ल्याउनेबारे वन्यजन्तु विभाग मार्फत पहल अघि बढाइएको र नेपालमा उपलब्ध नभएका जिवजन्तु थप्न कुटनीतिक पहल जरुरी भएको डा. पोखरेलले बताउनुभयो ।


‘नेपालमा नभएका जीवजन्तु थप्न कुटनीतिक स्तरमै प्रकृया अघि बढाइनुपर्छ, यसबारेमा वन्यजन्तु विभाग मार्फत सरोकारवाला मन्त्रालय र अन्य निकायमा ध्यानाकर्षण गराइएको छ’–उहाँले भन्नुभयो । निलगाई, अन्य साना र मझौला स्तनधारी जन्तु र पन्छीका लागि चिडियाखानाले नयाँ खोर र अन्य पूर्वाधार तयार गरेको छ । घाइते, समस्याग्रस्त र विभिन्न कारणले उद्दार गरेका जिवजन्तु चिडियाखाना पु¥याउने गरिएको छ ।

गत मंगलबार भक्तपुरको सूर्य विनायकबाट एउटा स्याल र माघमा भक्तपुरको दधिकोटबाट चितुवा उद्दार गरी जावलाखेल पु¥याएको थियो । तर स्याल भने बुधवार उपचारका क्रममा मरेको चिडियाखानाका बरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्