ठूला गाडीले यात्रुलाई सास्ती



बलेवा ।
साँघुरो जमीनमा फैलिएको बागलुङ बजारमा ठूला सवारीसाधनको लापरवाहीका कारण यात्रुलाई सास्ती हुने गरेको छ ।

सामान ढुवानी गरेका ठूला सवारीसाधन दिउँसो पार्किङ नगर्ने वा बजारभित्र छिर्न नदिने भन्ने नियम दिनदिनै उल्लङ्घन गर्दै बजारभित्र पार्किङले यात्रुलाई सास्ती भएको हो । नगरभित्रका मुख्य सडकमा दिउँसो मालबाहक सवारी भित्र्याउन नपाउने नियम ठूला व्यापारीले अटेर गरेको स्थानीयवासीको गुनासो छ ।

ठूला सवारीले सिमेन्ट, रड, खाद्यान्नलगायतका सामग्री लोडअनलोडका लागि घण्टाँै बाटो अवरुद्ध गर्दै अएका छन् । अस्पतालका लागि आएका एम्बुलेन्सले बाटो नपाएर घुमाउरो बाटो हिँड्न बाध्य छन् । सदरमुकामका चोक व्यवस्थापन गर्ने र ट्राफिक चिह्न राख्ने गरी बनाइएको योजना अलपत्र भएको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले बताउनुभयो ।
“दुईतर्फ ट्रक पार्किङ गर्दा पैदलयात्रीले बाटो काट्न नसकिने भयो”, स्थानीयवासी किरण राजेशले भन्नुभयो, “सवारी छन् भनेर जे गरे पनि हुन्छ भन्ने लापरवाही गर्नु भएन ।” छेउका नालीसमेत च्यापेर उनीहरुले सवारी रोक्ने गरेको उहाँले बताउनुभयो ।

ट्राफिक कार्यालयले बजार व्यवस्थापनका लागि कार्ययोजनासहित नगरपालिकामा पेश गरेको १० बँुदे सुधार योजना अहिलेसम्म छलफलमा समेत लगेको छैन । नगरपालिकाले अहिलेसम्म व्यवस्थापकीय कामका लागि बजेट नदिएको ट्राफिक प्रमुख विकले टिप्पणी गर्नुभयो । बजारमा जेब्रा क्रस, फुटपाथ छुट्याउने, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना राख्ने कामका लागि कार्ययोजना बनाइएको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्