सय हेक्टरमा सुन्तला बगैँचा



दुल्लु ।
दैलेखको दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १०० हेक्टर जमीनमा सुन्तलाको बगैँचा बनाउने भएको छ ।

उक्त परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक वर्षमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका १०० हेक्टर जमीनमा सो बगैँचा बनाउन लागेको हो ।

उक्त बगैँचाको व्यवस्थापन, मलखाद, सुन्तलाको बोट काँटछाँट, सिँचाइ, प्रशोधनलगायत तालीम सञ्चालनका साथै पोष्ट हार्भेट सेन्टर र कस्टमर हेयरिङ सेन्टर स्थापना, भकारो सुधार, साना सिँचाइ, बीमा व्यवस्थापनलगायत योजना तर्जुमा गरिएको एकाइ प्रमुख राजु भुजले बताउनुभयो ।

“कृषकको लापर्बाही र आवश्यक प्राविधिक ज्ञानको अभावका कारण सुन्तला खेतीमा केही समस्या देखापरेका थिए”, उहाँले भन्नुभयो, “दुल्लु नगर र भैरवी गाउँपालिकामा सुन्तलाखेती व्यवस्थित गर्नका लागि हामीले अहिले बगैँचामै गएर तालीम दिएका छौँ ।” गत वर्ष कृषकलाई दिइएका औजारसमेत हराएको बताउँदै प्रमुख भुजले सुन्तलाको बोटमा आवश्यक मल र सिँचाइ अभावले बोट मर्ने गरेको बताउनुभयो ।

आगामी वर्षदेखि प्रत्येक कृषकको घरघरमा सिँचाइका लागि पोखरी निर्माण गर्ने र यो वर्ष बोटमा देखापरेको समस्या न्यूनीकरण गर्न हालसम्म ३०० भन्दाबढी कृषकलाई विषादी औषधि वितरण गरिएको जानकारी दिँदै उहाँले परियोजनालाई सफल बनाउन ५० प्रतिशत लगानी कृषक र बाँकी ५० प्रतिशत परियोजनाको रहेको एकाइ प्रमुख भुजले जानकारी दिनुभयो ।
चालू आवमा यहाँका कृषकले ६५० हेक्टर जमीनमा सुन्तलाखेती गरेकामा करीब रु पाँच करोड बराबरको सुन्तला उत्पादन भएको थियो । यसअघि दुल्लु नगरका १३ वटै वडा र भैरवी गाउँपालिकाका ३ देखि ७ वडासम्म सञ्चालित कार्यक्रम चालू आवदेखि भैरवी गाउँपालिकाका दुई वडासमेतलाई समेटिएकोे छ । परियोजनाले सुन्तलाखेती गर्ने किसानलाई कम्पोष्टमल मात्रै प्रयोग गर्न आग्रह गरेको छ । गत असोजमा यहाँ उक्त एकाइको कार्यालय स्थापना गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्