असारसम्म ५५ सबस्टेसनको निर्माण गर्ने लक्ष्य



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षमा ५५ वटा सबस्टेसनको निर्माण र स्तरोन्नती पूरा गर्ने लक्ष्य लिएको छ। लोडसेडिङ अन्त्यपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आवमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चालू आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन्। प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ। पछिल्ला तीन दिनमा निर्माण सम्पन्न भएका पाँच वटा सबस्टेसनको उद्घाटन गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सबस्टेसनको उद्घाटन गर्नुभएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३÷११ केभी र पहलमानपुर १३२÷३३÷११ केभी सबस्टेसन तथा बिहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न भएका १३२÷३३ केभी सबस्टेसनको उद्घाटन गर्नुभएको थियो।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेका मन्त्री पुनले आगामी दिनमा मुलुकभित्र उत्पादित विद्युत्लाई स्वदेशमै गराउने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवम् स्तरोन्नती अभियानकै रूपमा सञ्चालन भइरहेको बताउनुभयो। ‘विगतमा विकराल लोडसेडिङका कारण हामी अध्याँरोमा थियौं, अहिले लोडसेडिङ अन्त्य भई उज्याँलो हुँदा रमाइरहेका छौं, अब यसैमा रमाउने मात्रै हैन विद्युत् खपत बढाउन उद्योग कलकारखाना खोल्नतर्फ लाग्नु पर्छ,’ उहाँले भन्नुभयो–‘अहिले बिजुली दिनुहोस् भन्ने जनताको माग छ, अब यसको अन्त्य भई बिजुली पर्याप्त खपत गरी उत्पादन बढाई जीवनयापनमा सुधार गर्नुहोस् भन्ने अवस्था आउँदैछ, यसका लागि विद्युत् प्रसारण तथा वितरणका संरचना पनि सोही अनुसार बनाइरहेका छौं।’ प्रसारणलाइन तथा सबस्टेसन निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न आग्रह गर्दै मन्त्री पुनले भन्नुभयो–‘समयमै सक्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने छौं, काम गर्नेलाई निर्माण कार्य छानी छानी दिने र त्यस्ता कम्पनीबीच नै ठेक्का प्रतिस्पर्धा गराउने छौं।’

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ। यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारणलाइन तथा सबस्टेसन बनाउनेलगायतका काम गरिरहेको छ। निजी लगानीको सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत् लाइन विस्तार गर्ने सरकारी नीति अनुरूप निर्माण गरिएको कुसुक ९बाँ के०–हापुरे ९दाङ० १३२ कभी प्रसारण ाइन र १३२÷३३ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ। ४३ करोड रुपियाँ लगानी गरी निर्माण गरिएको आयोजनाबाट दाङमा संचारनमा रहेका र स्थापना हुने सिमेन्ट उद्योगले पर्याप्त विद्युत् पाउने भएका छन् भने आम उपभोक्ताले गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने भएका छन्। ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत् वितरण प्रणाली सुधार तथा विस्तारमा रहेको बताउनुभयो। ‘यसबाट विद्युत्को पहुँच बढ्ने छ, विद्युत् आपूर्तिमा सुधार भई उपभोक्ताले गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपभोग गर्न पाउने छन् र उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन सक्नेछौं।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युत् आपूर्तिलाई गुणस्तरीय बनाउन सबस्टेसन निर्माण तथा स्तरोन्तीको काम देशभरी चलिरहेको जानकारी दिनुभयो। ‘हामीले चलाएको अभियानबाट एकातर्फ चुहावट प्राविधिक चुहावट नियन्त्रण र भोल्टेजमा सुधार हुने छ भने अर्कोतर्फ उपभोक्तालाई मागेजति विद्युत् दिन सकिने छ,’ उहाँले भन्नुभयो। प्राधिकरणले जनकपुर, हेटौडा, चितवन, भैरहवालगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्