नियतवश मान्छे किच्नेलाई आजीवन कारावास



मेलवर्न, (एजेन्सी)
मेलवर्नमा आफ्नो कारले किचेर ६ जनाको ज्यान लिएको तथा अन्य २७ जनालाई घाइते बनाएको अभियोगमा एक अस्ट्रेलियाली पुरुषलाई शुक्रबार आजीवन कारावास सजाय सुनाइएको छ।
२९ वर्षीय जेमस गार्गासोलासले सन् २०१७ को जनवरीमा सिटी सेन्टरमा जानीजानी चोरिएको कारले मानिसलाई किचेको थियो। उनले पछि अदालतमा अदृश्य पूर्वाभाषका कारण आफूले सो आक्रमण गरेको भनी विवादास्पद अभिव्यक्ति दिएका थिए।
सेभेन न्युजका अनुसार न्यायाधीश मार्क वेयनवर्गले भनेका छन्– ‘अस्ट्रेलियाको इतिहासमै यो सबैभन्दा भयावह आमनरसंहार हो। अभियुक्तले बटुवाहरूलाई ज्यान जोगाउने कुनै मौका नै नदिई जानीजानी तिनीहरूलाई कारले किचेर मारेका हुन्।’
सो आक्रमणमा ३ महिने शिशु जाचारी ब्रायनट, १० वर्षीय थालिया हाकिन, २२ वर्षीया जेस म्युडी, २५ वर्षीय योसुके कान्नो ३३ वर्षीया भाभिता पटेल र ३३ वर्षीय म्याथ्यु सीको ज्यान गएको थियो। गार्गासोलासले ४६ वर्षपछि मात्र क्षमादानका लागि अपिल गर्न सक्ने बताइएको छ।
शुरूमा व्यस्त बोर्क सेन्टरमा भएको सो आक्रमणमा आफ्नो दोष नरहेको अडान लिँदै आएका उनले पछि अपराध कबुल गरेका थिए। उनले लिखितरूपमा आफ्नो कार्यप्रति क्षमायाचनासमेत गरेका थिए। गार्गासोलासउर्फ डिमित्रियसले ६० किमि प्रतिघन्टाको वेगमा कार चलाएर आक्रमण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्