राति ढिलो सुत्नेको मस्तिष्कको कार्य असामान्य



लन्डन, (एजेन्सी)
हालै गरिएको स्वास्थसम्बन्धी एक अनुसन्धानले राति अबेरसम्म जागा रहेर बिहान ढिलो उठ्ने मानिसको दिउँसोको कार्यशैली अन्यको तुलनामा फरक हुने गरेको तथ्य पत्ता लागेको छ। अनुसन्धानकर्ताले राति साढे २ बजे सुतेर बिहान १० बजेर १५ मिनेट जाँदा उठ्ने तथा बिहान सबेरै उठ्नेहरूको मस्तिष्कको स्क्यान गरेका थिए।
राति अबेरसम्म ननिदाउनेको मस्तिष्कको सचेतनासँग सम्बन्धित क्षेत्रबीचको सञ्जाल सम्पर्क कम रहेको पत्ता लागेको छ। तिनीहरूले कुनै पनि काम कुरामा राम्रो ध्यान दिन नसक्ने, प्रतिक्रिया ढिलो दिने तथा तिनीहरूलाई दिउँसो निद्रा लागिरहने गरेको पाइएको छ।

अनुसन्धानकर्ताले राति उल्लुजस्तै जागा रहनेहरूको दिउँसो कार्य सम्पादन तुलनात्मकरूपमा कम गुणस्तरीय हुने गरेको बताएका छन्। वैज्ञानिकहरूले राति ढिलो सुतेर बिहान पनि ढिलो उठ्ने तथा समयमै सुतेर बिहान सबेरै उठ्ने ३८ जना मानिसको म्याग्नेटिक रिजोनन्स इम्याजिङ ‘एमआरआई’ स्क्यान गरी मस्तिष्कको कार्यको अध्ययन गरेका थिए।

साथै तिनीहरूको निद्रा लाग्ने स्तर पनि मापन गरिएको थियो। बिहान सबेरेै उठ्नेलाई दिउँसो तुलनात्मकरूपमा थकान कम र निद्रा नलाग्ने गरेको तथा तिनीहरूको कार्य क्षमता पनि राम्रो रहेको पाइएको छ।

युनिभर्सिटी अफ बर्मिंघमको मानव मस्तिष्क स्वास्थ केन्द्रका प्रमुख अनुसन्धानकर्ता डाक्टर एलिसे फेसर चाइल्डसले जुनसुकै दृष्टिकोणले पनि राति अबेरसम्म जागा रहनेहरूलाई शारीरिक र मानसिकरूपमा बेफाइदा नै पुग्ने गरेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्