मंगलामा फोहोरबाट मोहोर



प्रताप बानियाँ, म्याग्दी
फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्ने थाहा पाएपछि पछिल्लो समयमा फोहोरलाई मोहोरमा रुपान्तरण गर्न थालिएको छ । विगतमा प्लाष्टिकजन्य बस्तु, सिसाका टुक्रा, काठपात र धुलोलगायत प्रयोग गरेर सकेका सामग्रीहरु फोहोरका रुपमा जहाँतहीँ फाल्ने गरिए पनि अहिले त्यसलाई व्यवस्थान गरिएको हो ।
फोहोरजन्य वस्तुहरु जथाभावी रुपमा फ्याँक्ने गरिएकाले वातावरणको स्वरुप नै कुरुप बन्दै जान थालेपछि पछिल्लोपटक उपभोक्ताहरु पनि सचेत बन्दै गएका छन् । फोहोरले घर, टोल र छरछिमेकका साथै वरिपरीको वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर गर्न थालेपछि यसलाई उचित तरिकाले व्यवस्थापन गरेर मोहोरमा रुपान्तरण गर्न लागिएको छ ।

यसैक्रममा पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आफ्नो सदरमुकाम बाबियाचौर बजार क्षेत्र वरपर हुने फोहोरलाई व्यवस्थापनमा सघाएको छ । गाउँपालिकाले वडामार्फत फोहोरलाई मोहोरमा रुपान्तरण गर्नका लागि तालिम सञ्चालन गरेर फोहोर व्यवस्थापन गरी मोहोर उत्पादनको काम अघि बढाइएको मंगला गाउँपालिकाले जनाएको छ । अहिले बाबियाचौर बजार क्षेत्रबाट फोहोर सङ्कलन गरी मंगला–२, पानाबगरमा खनिएका दुईवटा खाडलमा व्यवस्थापन गरिएको छ ।
आर्थिक वर्ष २०७३÷७४ को वार्षिक बजेटबाटै फोहोर व्यवस्थापनको अवधारणा अगाडि सारिएको बाबियाचौरका वडा सदस्य चक्रलाल पाण्डे (राजु)ले बताए । बजारवासीबाट मासिक रुपमा एकसय रुपैयाँ शुल्क उठाएर फोहोर सङ्कलन गरी व्यवस्थापन गर्ने गरिएको उनले जानकारी दिएका छन्।

सङ्कलन गरिएको फोहोरलाई ट्याक्टर भाडामा लिई खाडलमा लगेर व्यवस्थापन गर्ने गरिएको वडा सदस्य पाण्डे बताउँछन् । बाबियाचौर बजार क्षेत्रमा मात्रै १ सय ५५ घरधुरी रहेका छन् । तीमध्ये केही घरधुरीले फोहोरको व्यवस्थापन आफै गर्ने गरेका छन् । उनले भने– ‘बाबियाचौर बजार क्षेत्रमा पसल सञ्चालन गर्ने, उद्योगी, व्यवसायी र भाडामा बस्नेहरुबाट मासिक एकसय रुपैयाँ लिन्छौं ।’ ‘कुहिने र नकुहिने फोहोरलाई घरबाटै छुट्याएर राखिन्छ भने, महिनाको हरेक शनिबार ट्याक्टरले फोहोर उठाउने गर्छ ।’ एकपटकमा ट्याक्टरले झण्डै ५ टिप जति फोहोर ओसार्ने गरेको छ । यसवापत ट्याक्टरलाई मासिक रुपमा १५ हजार रुपैयाँ भाडा उपलब्ध गराउने गरिएको छ ।

फोहोर सङ्कलन गर्नका लागि सबैका घरघर तथा बजारको चोकचोकमा डस्टविन, बाल्टिन र ड्रमहरु राखिएको छ । कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै जम्मा गर्ने गरिएको छ । यसरी कुहिने फोहोरलाई साङ्गा मल (प्राङ्गारिक) उत्पादनका लागि व्यवस्थापन गरिएको छ ।

कुहिने फोहोरका साथै वनजङ्गलमा पाइने वनमारा, तीतेपातीलगायत झारपात र पातपतिङ्गहरु सङ्कलन गरेर मल बनाउने गरिएको वडा सदस्य पाण्डले बताए । उनले दिएको जानकारी अनुसार केही समय पहिले साङ्गा मल उत्पादनसम्बन्धी गाउँपालिकाले तालिम दिएपछि अहिले १० जना युवाहरु मल उत्पादनमा लागेका छन् । उनीहरुले उत्पादन गरेको प्राङ्गारिक मललाई गाउँपालिकाले प्रतिकेजी २५ रुपैयाँमा खरिद गरेर व्यावसायिक रुपमा सुन्तलाजात फलफुल लगाएका कृषकहरुलाई वितरण गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्