मल्हनियाको संरक्षणमा स्थानीय



पुष्पा थापा, सर्लाही
सर्लाहीको हरिपुर १ मा रहेको मल्हनिया तालको संरक्षणमा स्थानीय बासिन्दा जुटेका छन। ऐतिहासिक तालको सुन्दरता बढाउन यो अभियान थालिएको मल्हनिया ताल समितिका संयोजक गोपाल बस्नेतले जानकारी दिनुभयो ।

ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहिले तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास आवश्यक रहेको उहाले बताउनुभयो । पहिलादेखि नै तालको संरक्षण गर्न सम्बन्धित निकायसँग धेरै पटक हारगुहार मागेपनि कतैबाट ठूलो सहयोग नपाएकाले अब स्थानीय बासिन्दा आफै ताल संरक्षणमा जुटेको बिहानी सामुदायिक वनका अध्यक्ष दिनेशराज थापाले बताउनुभयो । सामुदायिक वनका उपभोक्तहरुले तालको वरिपरि रहेको गल्ने र नगल्ने फोहोरलाई व्यवस्थापन गर्दै लैजाने बताएका छन। वनभोज खाएर जथाभावी फालिएका फोहोरले गर्दा तालको स्वरुप नै बिग्रिन थालेपछि उनीहरु सरसफाइमा जुटेका हुन ।

तिन बिघा क्षेत्रफलमा फैलिएको मल्हनिया ताल पुर्व पश्चिम राजमार्गको नयाँरोडबाट नौ किलोमिटर दक्षिण हरिपुर (१को मुर्तिया जंगलमा पर्दछ। मल्हन अथवा मल्हनिया स्थानीय बज्जिका भाषामा भोर्लाको लहरैलहरा भएको स्थानमा ताल रहेकाले मल्हनिया ताल नाम रहेको स्थानीय बताउछन । तालको सुन्दर दृश्य अवलोकन गर्ने र ताल भित्र ढुङ्गामा सयर गर्नेहरुका लागि यो रमणीय स्थल रहेको छ।

ऐतिहासिक मुर्तिया मन्दिरसँगको सम्बन्ध रहेकोले ताल परिसरमा नयाँ वर्ष र मंसिर महिना वनभोज खान स्थानीय पर्यटक आउने गरेको स्थानीय बताउँछन् । गर्मी मौसममा तालको वरिपरि गर्मी छल्न आउनेहरुको संख्या समेत बढन लागेकाले तत्कालै तलको संरक्षण आवश्यक परेकाले स्थानीय त्यस तर्फ जुटेको उनीहरु बताउछन ।
मल्हनिया तालको कारण त्यस क्षेत्रमा जंगली जनावर र पाहुना चराहरु आउने गरेको स्थानीय मेघराज दाहालले बताउनुभयो ।दाहाल भनुहुन्छ ञञ सायबेरियाबाट पाहुना चरा यहाँ आउछन, एक दुई महिना बस्छन, बच्चा कोरल्ने र हुर्काउने गरेपछि फेरि फर्किएर उतै जान्छन्। मल्हनिया तालको सुन्दरता बढाउन र ताललाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा चिनाउन स्थानीय सरकार लागि परेको हरिपुर नगरपालिका मेयर जमरुदिन मंसुरले बताउनुभयो।

स्थानीय सरकार तालतलैया, पोखरी, वन, वन्यजन्तु जैविकबिबिधता जोगाउने काममा जहिले पनि लागि पर्ने बताउँदै हरिपुर नगरपालिका भित्रको प्राकृतिक जलाशयको संरक्षण र साना जलाशय निर्माणकार्य गर्न बजेट छुट्टयाइएको उहाले बताउनुभयो । मल्हनिया ताल र मुक्तेशवर मन्दिरलाई पर्यटकीय स्थान घोषणा गर्न स्थानीयले हस्ताक्षर अभियान संचालन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्