खप्तडको गुफामा शेषनागको समाधि



पतञ्जलि–२२
प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला
समुद्री सतहदेखि ३ हजार ७ सय मिटर अग्लो र २ सय २५ वर्गमिटरमा फैलिएको खप्तडमा अहिले पनि १ सय ४५ प्रजातिका फूल, २ सय ३५ थरी चराहरू र औषधिका रूपमा प्रयोगमा आउने ४ सय थरी जटीबुटीहरू पाइन्छन्। असाध्यरोग भनिने अर्बुदरोग ९क्यान्सर०को उपचारमा उपयोग हुने वनस्पति पनि त्यहाँ पाइने कुरा सम्बद्ध विषयका विशेषज्ञहरू भन्छन्। यी स्वास्थ्यवद्र्धक जडीबुटीहरूबाहेक त्यहाँ कालकूटे बिखजस्ता वनस्पतिहरू पनि छन्, तिनलाई खाँदा मानिस मर्दछ। त्यहाँ त्यस्ता फूल र पोथ्राहरू पनि छन्, जसलाई सुँघ्दा मात्र पनि व्यक्ति रिँगटा र वाकवाकी लाग्ने भई बिरामी हुन्छ। शेषलाई यहाँ आएपछि मत्स्यावतारको कुरा स्मरण भयो। त्यस बेला उनले आयुर्वेदास्त्रको रचना गर्छु भनेका थिए। शेषनाग त्यस ठाउँमा आएर निकै रमाए। त्यस पर्वतको सौन्दर्य हेरेर मक्ख परे। उनी त्यसै हरियो दुभीचौरमा चारैतिरको मनोरम दृश्य हेर्दै विश्राम गर्न बसे। एकछिन्को विश्रामपश्चात् उनको थकाइ मेटियो।

पहिले शेषनागले त्यहाँको त्रिवेणीमा गई आफ्नो स्नानादिकृत्य सम्पन्न गरे। अनि त्यहाँ अवस्थित भगवान् गणेशको दर्शन गरेपछि उनले भगवान् महादेवको शिवलिंग तथा सहस्रलिंग मूर्तिको दर्शन गरे। भगवान् शंकरलाई ताण्डवमुद्रामा नृत्य गरेको हेर्न वैकुण्ठबाट मनुष्यलोकमा आएका शेषनागलाई त्यो पावन खेचर पर्वत साहै्र दिव्य र भव्य लाग्यो। त्यही शिखरमा बसी भगवान् शिव र महादेवी पार्वतीको साक्षात्कारका लागि तपस्या गर्ने निधो गरे उनले। उनी यसका लागि कुनै उचित ठाउँको खोजीमा लागे। ठाउँ खोज्दै गर्दा तिनले त्यहाँ एउटा विशाल कालो पर्वत–शिला भेटे। त्यसै ठाउँमा उनले समाधि कस्ने विचार गरे।

शेषनाग अब त्यस पहाडी चट्टानमा नागबेलीझैँ बाङ्गिदै, सोझिँदै, सुलुल्ल बग्दै त्यस गुफाभित्र पसे। त्यहाँ एउटा फणामात्र उठाई अन्य समस्त शरीरलाई कानको कुण्डलजस्तै एकैठाउँ गुडुल्क्याएर समाधिमा बसे। धेरै वर्षसम्म उनले वायुबाहेक केही खाएनन्। पछि–पछि त त्यही वायुको पनि उनलाई आवश्यकता परेन। शेषनाग जुन बाटो त्यहाँ गए, अहिले पनि त्यस ठाउँमा नागबेलीझैंँ भएर लामै सुलुल्ल बगेको प्रस्तरमय चित्र प्रत्यक्ष देख्न पाइन्छ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्