जब प्यासीले गाए के भुल भयो प्रिया…



तिमीले दिने माया अजम्बर छ भने गायक नरेन्द्र प्यासीले मञ्चमा उभिएर आफूलाई चिनाउने अर्को सदाबहार गीत जब के भुल भयो प्रिया मसँग बोल्दिनौ, उज्यालो जुन उघार्दै पर्दा रातको खोल्दिनौ गाए, राष्ट्रिय नाचघरको माहौल नै फेरियो। उनकै गीत सुन्न दर्शकदीर्घामा बसेका सबै गीत संगीतप्रेमी रमाउन थाले।
सांस्कृतिक संस्थानको आयोजनामा संस्थानकै हल राष्ट्रिय नाचघरमा बिहीबार राति नरेन्द्र प्यासी एकल सांगीतिक साँझ २०७५ मा प्रस्तुत हुँदै गायक प्यासीले लगातार २ घन्टासम्म आफ्ना लोकप्रिय र कालजयी गीत गाएर दर्शकलाई मोहित तुल्याए। आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङसहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकल साँझ शुरू गरेका थिए। गीतकार एवं फिल्म निर्देशक यादव खरेलको आतिथ्यमा सम्पन्न एकल साँझमा नरेन्द्रले १ दर्जनभन्दा बढी गीत गाएर सबैलाई रोमाञ्चित तुल्याए।

के भुल भयो प्रियाबाट एकल साँझ आरम्भ गरेका गायक प्यासीले कार्यक्रमभरि दर्शकको साथमात्र पाएनन्, लगातार वाहवाही र वान्स मोर पाइरहे। पहिलो गीत सक्दा नसक्दै दोस्रो गीत गाउनुअघि नै वान्स मोरमाथि वान्स मोर पाएका गायक प्यासीले आप्mनो लोकप्रिय गीतहरू अरू पनि भएको छनक दिँदै तिमीले दिने माया गाएर फेरि दर्शकलाई खुसी तुल्याए। गीतमा उनलाई गायिका शिला विष्टले साथ दिएकी थिइन्। दर्शकको लगातार तालीको साथका साथ गायक प्यासीले भरिभराउ हलका बीच तिमी बिनाको जीवन, तिम्रो दिलमा चोट लाग्दा, म त तिम्रो मान्छे बन्न सकिनँ, एउटा परदेशी आयो, मनलाई, माया ओ माया, जाम क्यारे उडेर, मेहफिलमा आज, नजर पापी, चन्द्रमाले, फूलको दिलमा पनि, काठमाडौं छुट्यो हेर्दा हेर्दैजस्ता आप्mना हिट नम्बर गाएर दर्शक लोभ्याए।

एकल सांगीतिक साँझमा गायक प्यासीलाई प्रत्यक्ष वाद्यवादनमा रूपेस सिंह, अनुप दास, भरत बुढाथोकी, रविन कार्की, दिनेशराज रेग्मी, सुरज प्रधान, दीपक थापा, कुमार महाराज, भुवन गन्धर्व, सुधिर चौधरी र रत्न विकले साथ दिएका थिए। ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी यही एकल साँझका लागि काठमाडौं आएका हुन्। यो एकल साँझ आफूले सोचेको भन्दै निकै सफल भएको गायक प्यासीले कार्यक्रममा बताए। गायक प्यासीको बारेमा सांस्कृतिक संस्थानका वरिष्ठ नाटक प्रबन्धक प्रभाकरदेव शर्माले प्रकाश पारेको कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो। नेपाली गायन क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सुगम संगीतबाट योगदान पु¥याएको भन्दै एकल साँझको आयोजनासहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए। संस्थानका अध्यक्ष उद्योग राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका उद्देश्यबारे प्रकाश पारेका थिए।

 

प्रतिक्रिया दिनुहोस्