२ सय ६६ मेट्रिक टन खरी निर्यात



किरन धामी, दार्चुला ।
दार्चुला जिल्लाबाट चालु आर्थिक वर्ष २०७५/०७६ को हाल सम्ममा २ सय ६६ मेट्रिक टन खरी निर्यात भएको छोटी भञ्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मात्रामा नेपालबाट भारत खरी निर्यात भएको कार्यालयले जनाएको छ ।

चालु आवको पुस महिनामा ७६ मेट्रिक टन, माघमा १ सय १४ मेट्रिक टन र फागुन महिनाको हाल सम्ममा ७६ मेट्रिक टन खरी भारत निर्यात भएको भञ्सार प्रमुख नरसिह बडालले जानकारी दिए । पुस, माघ र फागुनमा गरी २ लाख ६६ हजार किलोग्राम खरी निर्यात भएको उनले बताए ।

जिल्लाको दुहुँ गाउँपालिकामा प्रसस्त मात्रामा खरी रहेको भए पछि ढुवानीको समस्याले खरी निर्यात कम मात्रामा भैइरहेको उनको भनाई छ । उक्त खरी अहिले कञ्चनपुरको जियो मिनिरल रिर्जव प्रा.लीले संकलन गर्दै भारत निर्यात गरिरहेको उनले बताए । नेपालबाट सिधै भारतको हल्द्धानी निर्यात हुने उनले जानकारी दिए ।

यस वर्ष ठेकेदार कम्पनीलाई २५ सय मेट्रिक टन खरी निर्यात गर्ने गरी भुगर्भ विभागले अनुमति दिएको उनले जानकारी दिए । खरी निर्यातबाट ३ लाख ९९ हजार ७ सय ९१ रुपैया राजश्व संकलन भएको उनले बताए । गत वर्ष दार्चुलाबाट १ सय ५२ मेट्रिक टन खरी भारत निर्यात भएको तथा ३ लाख राजश्व संकलन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्