सब्जी बजार उद्घाटन गर्दै प्रचण्ड



गंगा बराल, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोली शनिबार भक्तपुरमा सब्जी बजार उद्घाटन गर्दैछन्् ।

नेकपाका यूवा नेता तथा नेकपा एमाले हुँदाका प्रचार विभाग प्रमुख श्याम बस्नेतले सञ्चालनमा ल्याएको भक्तपुर तरकारी तथा फलफूल बजार प्रालिको उद्घाटन गर्ने भएका हुन् । गठ्ठाघरको चारदोबाटोमा माघ १ गतेबाट सञ्चालनमा आएको बजारको भोली उद्घाटन गर्न लागिएको हो ।

उद्घाटन समारोहमा मन्त्री, सांसद तथा नेताहरुको उपस्थिति रहने बस्नेतले जनाए । बस्नेतले सब्जी बजारको आवश्यकता भएकाले त्यो मर्मलाई बुझेर नयाँ व्यवसायको थालनी गरिएको बताए ।

‘राजनीति गर्नेले व्यापार व्यवसाय गर्दैनन्, सधैं नराम्रो मात्र गर्छन् भन्ने गलत सन्देश गएको छ’ उनले भने ‘ मैले व्यवसाय गरेपछि एक हजारभन्दा बढीले रोजगार पाएका छन्, जसका कारण बिदेशिन तयार भएका युवाहरु पनि यहीँ बसेर सब्जी व्यवसायमा लागेका छन् ।’

बस्नेतले सस्तो मूल्यमा गुणस्तरीय सेवा दिने योजना भएको बताएका छन् । ‘यो अभियानबाट एकातिर बिचौलियाको अन्त्य भएको छ भने उपभोक्ताले सस्तो मूल्यमा सागसब्जी खान पाएका छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्