टेस्ट राष्ट्र छुट्ने विश्वकप



कविरस शर्मा
आगामी मे ३० देखि १४ जुलाईसम्म इंगल्यान्ड र वेल्सले संयूक्त रुपमा १२औं संस्करणको आईसीसी क्रिकेट विश्वकप आयोजना गर्दैछन् । इंगल्यान्डले भने २० वर्षपछि विश्वकप क्रिकेट आयोजना गर्न लागेको हो । पछिल्लो पटक सन् १९९९ मा इंग्ल्यान्डमा भएको विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । अस्ट्रेलिया ५ पटक विश्वकप क्रिकेटको उपाधि जित्ने एकमात्र राष्ट्र समेत हो ।

इंगल्यान्ड र वेल्सको ११ वटा स्टेडियममा ४६ दिनसम्म चल्ने उक्त प्रतियोगितामा कुल ४८ म्याच हुनेछ । यो समेत इंग्ल्याण्डले पाँचौ पटक विश्वकप क्रिकेट आयोजना गर्न लागेको हो । यसअघि इंग्ल्याण्डले सन् १९७५, १९७९, १९८३ र १९९९ गरी चार पटक विश्वकप आयोजना गरेको थियो । सन् १९७९ मा आफ्नै मैदानमा आयोजित प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेपनि वेस्टइण्डीजसंग पराजित हुँदै इंग्ल्यान्डले उपविजेतामा चित्त बुझाएको थियो ।

केही समय अघि क्रिकेट विश्वकप ट्रफि वल्र्ड टूर क्याम्पियले पनि चर्चा पाएको थियो । विश्वकप क्रिकेट सुरु हुन अब १ सय दिनभन्दा कम समय बांकी रहेको छ । विश्वकपमा यसपटक १० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा पहिलो पटक टेस्ट मान्यता प्राप्त सम्पूर्ण १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छैनन् । टेस्ट खेल्ने दुई देश आयरल्यान्ड र जिम्बाब्वे विश्वकपमा छनोट हुन सकेनन् ।

एसोसिएट राष्ट्रबिहीन विश्वकप
सन् २०११ र २०१५ को विश्वकपमा १४ टीमले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । तर यसपटक भने एउटा पनि एसोसिएट राष्ट्र (वान डे मान्यताबिहीन टिम) विश्वकपमा देखिने छैन । गत वर्ष भएको विश्वकप छनोट चरणमा कुनै पनि एसोसिएट राष्ट्र छनोट हुन नसकेपछि अहिले यो नतिजा आएको हो ।

आयोजक इंगल्यान्ड बाहेक ३० सेप्टेम्बर २०१७ सम्म आईसीसीले जारी गरेको एकदिवसीय (वानडे) वरियतामा रहेको शीर्ष ७ टिमहरुले सोझै विश्वकपमा छनोट पाएका हुन् । अन्य दुई टीमले भने छनोट खेल्दै विश्वकपमा स्थान बनाए । ती दुई राष्ट्र अफगानिस्तान र वेस्टइन्डीज हुन् । इंगल्यान्ड आयोजकको नाताले विश्वकपमा छनोट भएको हो ।

जिम्बाब्वे ३६ वर्षपछि विश्वकपमा नदेखिने
आसन्न विश्वकपका लागि छनोट चरण जिम्बाब्वेमा नै खेलिएको थियो । तर आयोजक टिम भने फाइनलमा पुग्न सकेनन् । उक्त नतिजासँगै सन् १९८३ पछि पहिलो पटक जिम्बाब्बे विश्वकपबाट बाहिरिएको हो । अर्कोतिर सन् २००७ पछि पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्र आयरल्यान्ड पनि प्रतियोगितामा देखिने छैनन ।

राउन्ड रोबिन ढांचामा प्रतिस्पर्धा
विश्वकपमा छनोट भएका सबै १० टोलीले राउन्ड रोबिन ढांचा अनुसार एक अर्काविरुद्ध खेल्नेछ । जसमध्ये उत्कृष्ट ४ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको पहिलो म्याच ओभल स्टेडियममा खेलिनेछ । यसैगरी जुलाई १४ मा हुने फाइनल म्याच भने ऐतिहासिक लर्ड्स मैदानमा हुनेछ ।

विश्वकप २०१९ खेल्ने राष्ट्र
अस्ट्रेलिया, बंगलादेश, इंगल्यान्ड, भारत, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका, अफगानिस्तान र वेस्टइन्डीज ।

प्रतिक्रिया दिनुहोस्