च्यासल २१औं तिलोत्तमा गोल्डकपको अन्तिम चारमा



यमलाल भुसाल, बुटवल ।
यस वर्षको लिग विजेता मनाङ मस्र्याङ्दी क्लबलाई पाखा लगाउंदै भ्याली च्यासल युथ क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपका्े अन्तिम चारमा पुगेको छ ।

देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा च्यासलले मनाङमाथि १—० को कठिन जित निकालेको हो । च्यासलको जितका लागि खेलको ४८ औं मिनेटमा हेमन थापामगरको पासमा विदेशी खेलाडी अर्माण्डले हेडमार्फत गरेको गोल नै निर्णायक बनेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि दुबै टिमले आक्रामक खेल पस्केका थिए । दोस्रो हाफको शुरुवातीमै गोल गरेर अग्रता लिएको च्यासलका सामुु पटकपटकको अवसर सदुपयोग गर्न चुक्दा लिग विजेता मनाङ प्रतियोगिताबाटै बाहिरिन पुग्यो । खेलमा च्यासलका गोलरक्षक दिनेश थापामगर म्यान अफ द म्याच घोषित हुंदै नगद १० हजार हात पारका छन ।

शुक्रबार पहिलो सेमिफाइनल खेल आयोजक रुपन्देही ११ र दाफिन्स एफसी क्यामरुनबीच हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिनु भयो ।
फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्