शान्ति सुरक्षामा प्रहरीको ‘नो कम्प्रोमाइज’



हेटौंडा ।
मकवानपुर सरुवा हुनुभएका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जिल्लामा शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी नराखिने दाबी गर्नुभएको छ । मकवानपुर प्रहरी जिल्लाको समग्र शान्तिसुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले कुनै आवरणमा हुने अपराधमाथि प्रहरीले कारबाही गर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा विहीबार भएको पत्रकार सम्मेलनमा उहाँले आपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रण प्राथमिकतामा रहने बताउनुभयो । ‘सुरक्षामा कुनै कम्प्रोमाइज हुन्न, यसमा जिल्लाबासी ढुक्क भए हुन्छ,’ उहाँले भन्नुभयो ।

सुरक्षाका लागि ठोस रणनीतिसाथ आफू अघि बढ्ने बताउँदै उहाँले आफ्नो कार्यकालमा आपराधिक गतिविधि न्यूनीकरणमा हरसम्भव प्रयत्न गर्ने दाबी गर्नुभयो । शान्तिसुरक्षा कायम गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले सहयोगका लागि आग्रह गर्नुभयो ।

यसअघि सप्तरीको प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा कार्यरत् हुनुहुन्थ्यो प्रउ सिंह । उनै सिंहले मकवानपुरको प्रहरी प्रमुख सम्हालेपछि पहिलोपटक पत्रकारहरुसँग बिहीवार भेट्नुभएको हो ।

प्रदेश–३ को राजधानी हेटौंडा, थाहानगर र १० वटा गाउँपालिकाको शान्तिसुरक्षाको जिम्मेवारी सम्हाल्नुभएका प्रहरी प्रमुख सिंहले ‘म जे बोल्छु, त्यो गरेर देखाउँछु’ भन्नुभयो । सुरक्षा र न्यायका विषयमा कोही कसैलाई ‘पावर’ (शक्ति) लगाउनुपर्ने अबस्था आउन नदिने उहाँको भनाइ छ । ‘जनताले राम्रोसँग सुरक्षा र न्याय पाउनुपर्छ । हाम्रो कुरा यही हो । त्यसका लागि कोही कसैले पनि भनसुन, दबाब र शक्ति लगाउनु आवश्यक पर्दैन ।

‘जनताका निम्ति हामी बसेका छौं, अन्यलाई भनसुन गर्नुपर्दैन,’ प्रउ सिंहले भन्नुभयो– जनतालाई कुनै कोणबाट पनि अन्याय हुन दिन्नँ । सिंहले कोहीबाट पनि सुरक्षा र न्याय नपाएको भन्ने गुनासो आउन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले पीडितलाई न्याय दिलाउन प्रहरी संवेदनशीलरुपमा अगाडि बढ्ने सुनाउनुभयो ।

पीडितलाई पूर्ण न्याय दिलाउने बताउनुभएका सिंहले गल्ती गर्नेलाई नछाड्ने चेतावनी पनि दिनुभयो । काममा इमान्दारिता देखाउने बताउनुभएका सिंहले गल्ती गर्न कसैलाई छुट नभएको बताउनुभयो । ‘मेरो पहिलो प्राथमिकता जिल्लाको शान्तिसुरक्षा राम्रो बनाउने हो ।

जनतासँग सुमधुर सम्बन्ध स्थापित गरेर अगाडि बढ्छु,’ सिंहले भन्नुभयो–मकवानपुरमा लागुऔषध कारोबार र दुव्र्यसनको खतरा छ । यसलाई निर्मूल पार्न सक्दो कोशिस गर्नेछु ।

यसअघि मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएर सरुवा भएपछि मकवानपुरमा सिंह प्रहरी उपरीक्षकका रुपमा आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्