सल्यानका अधिकांश प्रहरीहरु पानी चुहिने र जीर्ण भवनमा



सरिता चलाउने, सल्यान ।
जिल्लाका अधिकांस प्रहरीहरु पानी चुहिने र जीर्ण भवनमा बस्दै आइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको व्यारेक भवन, इलाका प्रहरी कार्यालय सल्लीबजार, इलाका प्रहरी कार्यालय रागेचौर लगायतका भवन पानी चुहिने र जीर्ण बनेका छन् । तिनै जीर्ण भवनमा बसेर प्रहरीले सेवा दिदै आइरहेका छन् ।

जीर्ण भवनमा बसेर काम गर्दा आफै असुरक्षित भएको अनुभुति भई रहेपनि जोखिम मोलेर काम गर्न बाध्य भई रहेको प्रहरीको भनाई छ । कार्यालयको भवन मात्र नभई आवास समेत जीर्ण भएकाले निकै समस्या भई रहेको इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी प्रमुख लिलाराम चन्दले बताए । उनले भने वर्षाको त कुरै छोडौ आजभोली आइरहेको पानी चुहिएर राती सुत्न साह्रै गाह्रो भईरहेको छ । जोखिम मोलेर सुत्दै आइरहेका छौ । २०५१ सालदेखी बस्दै आइरहेको भवन मर्मत समेत नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको उनले बताए ।
भवन अभावकै कारण थुनुवालाई इप्रका थारमारे र जिल्ला प्रहरी कार्यालयमा पठाउने गरेको चन्दले बताए । यस इलाकाले पाँचवटा चौकीलाई हेर्दै आइरहेको छ ।

आफ्नो भवन नहुँदा भाडाको भवनमा बसी रहेको र उक्त भवन पनि जीर्ण बनी सकेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । वर्षातको समयमा चुहिने र हावाहुरी लागेको समयमा माटो खस्ने समस्याले जोखिम मोलोर बस्नु परेको इलाका प्रहरी कार्यालय सल्लीबजारका इन्चार्ज सुशिल रावतले बताए । पटक पटक मोथिल्लो निकायमा आग्रह गरिए पनि कुनै सुनुवाई नभएको उनको भनाई छ ।

जनताको सेवा समर्पित प्रहरी आफै जोखिममा बस्नु परी रहेको रावतले बताए । प्रयाप्त मात्रामा जनशक्तिको अभाव र भौतिक संरचना पनि जीर्ण भएपनि विकटबस्तीमा पुगेर जनतालाई सेवा प्रदान गर्र्दै आइरहेको उनले बताए । इलाका प्रहरी कार्यालय रागेचौरमा ३२ जनाको दरबन्दीमा १६ जना र इलाका प्रहरी कार्यालय सल्लीबजारमा २३ जनाको दरबन्दीमा १६ जना नै कार्यरत छन् ।

जीर्ण भवनको बारेमा आफु अवगत भएको माथिल्लो निकायमा लेखा परिक्षण भइ सकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले बताए । उनले जिल्ला प्रहरी कार्यालयको व्यारेक भवन र इलाका प्रहरी कार्यालय सल्लीबजारका लागि प्रदेशबाट बजेट परी सकेको र केही समयभित्रै निमार्णको काम थालनी हुने बताए । प्रहरीकै आफ्नै नाममा जग्गा नहुँदा प्राय ठाउँमा भाडाको घरमा बस्नु परी रहेको र भाडाका घरहरु पनि कच्चि भएका कारण जोखिम उत्तिकै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्