विष खुवाएर नातिनीको हत्या, हजुरआमा र हजुरबुवा पक्राउ



मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालका – १० टोटीकी ७ वर्षीया बालिका ऋितु डगौराको विष खुवाएर हत्या गरेको आरोपमा मृतकका हजुरआमा र हजुरबुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतक डगौराका ४३ वर्षीया हजुरआमा रेशमी डगौरा र ६० वर्षीय हजुरबुवा भर्थरी डगौरा रहेका छन् । मृतककी आमा ज्योती डगौराले उजुरी जाहेरी दिएपछि बुधबार दुवैलार्य पक्राउ गरेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेको परिवार स्रोतले जनाएको छ ।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान दिएको प्रहरीले जनाएको छ ।

मृतककी हजुरआमाले दिएको प्रारम्भीक बयानका क्रममा तरकारीमा छर्किने विषादीका कारण बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनुसार मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको छ ।
दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्