म्याद गुज्रिएको सामग्री नष्ट



भोजपुर, सदरमुकामका बजार पसलबाट रु एक लाख बराबरको म्याद गुज्रिएको सामग्री नष्ट गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाइमा खाद्य सामग्री र पेय पदार्थ गरी रु ९७ हजार १७७ को सामग्री नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

होटल, थोक तथा किराना पसलबाट ठूलो परिमाणमा बिस्कुट, पेय पदार्थलगायतका सामग्री नष्ट गरिएको हो । अनुगमन टोलीले सबैभन्दा बढी प्रधान होटल, सजिना किराना पसल, केएफसी होटल, उषा होटल एण्ड लज, सुम्निमा गेष्टहाउस, विनिता होटल, शेर्पा स्टोर्सलगायतका पसलबाट म्याद गुज्रिएका पेय पदार्थ र खाद्यान्नका सामग्री फेला पारेको हो ।

टोलीले जिल्ला अस्पताल छेउका पसलदेखि चार भञ्ज्याङसम्मका २९ पसलको अनुगमन गरेको थियो । पछिल्लो समयमा प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिन थालेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका पसल तथा होटलका सञ्चालकलाई अर्को अनुगमनमा पनि यस्ता सामग्री भेटिएमा कारवाही गरिने सहायक प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्