गायक प्यासी एकल साँझमा



के भुल भयो प्रिया गायक नरेन्द्र प्यासी एकल साँझमा उत्रने भएका छन्। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले सुगम संगीतको प्रवद्र्धन गर्ने उद्देश्यले आज फागुन बिहीबार गायक प्यासीको एकल गायन कार्यक्रम नरेन्द्र प्यासी एकल सांगीतिक साँझ–२०७५ कार्यक्रम आयोजना गर्न लागेको हो।

एकल साँझको सम्पूर्ण तयारी पूरा भएको गायक प्यासीले जानकारी गराएका छन्। २०२२ सालमा काठमाडौंको खिचापोखरीमा जन्मिएका प्यासीले अम्बर गुरुङसँग संगीत सिकेर गायन यात्रा शुरू गरेका थिए। प्यासीले २०३० सालमा झलकमान गन्धर्व र बुबा स्व. प्रतिमान भुसालको संगीतमा पहिलो गीत बिनाबादल असिना पानी, फेरि मायाँ लाउलीकी बैमानी गीत रेकर्ड गराएका थिए भने हालसम्म करिब ४ सय गीत रेकर्ड गराइसकेका छन्।

के भुल भयो प्रिया, तिमीले दिने मायाँ अजम्बरी छ भने, तिमीबिनाको जीवन, तिम्रो दिलमा चोट लाग्दा, म तिम्रो मान्छे बन्न सकिनँ, मायाँ ओ मायाँ, एउटा परदेशी आई, काठमाडौं छुट्यो हेर्दा हेर्दैलगायत दर्जनौं हिट गीत गाएका प्यासीले राष्ट्रिय भावको गीत, भजन, आधुनिक, नेपाली हिन्दी (गजल), लोक र फिल्मी गीत गाउँदै आएका छन्। प्यासीले एकल साँझमा यीसहित १३ गीत प्रस्तुत गर्नेछन्।

उनलाई सांस्कृतिक संस्थानका कलाकारहरू विपीन घिमिरे, आकाश थापा र शिला विष्टले साथ दिनेछन् भने संगीत संयोजनको भूमिका दिनेश रेग्मीले गर्नेछन्। उनले एक दर्जनभन्दा बढी वाद्यवादकका साथ प्रत्यक्ष संगीतमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन्। संस्थानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ व्यवसायिक कार्यक्रमका रूपमा यो कार्यक्रम आयोजना गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्