वाग्मती सफाईमा समाज



टीका बन्धन
काठमाडौं उपत्यकाको सभ्यताको जननी हो वाग्मती नदी । उपत्यकाका प्राचिन वस्ती, पशुपति, स्वयम्भु, बौद्ध, बुढानिलकण्ठ, चागुनारायण जस्ता ऐतिहासिक सम्पदा, तीन जिल्लाका तीनवटै दरवार क्षेत्र वाग्मती सम्भयतासँग प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएका छन् । वाग्मती सभ्यतासँग वाग्मती सहित विष्णुमति, रुद्रमति, इन्द्रमति, नख्खु, कर्मनासा, हनुमन्ते लगायत विभिन्न १२ नदी जोडिएका छन् । उपत्यकामा १३ वटै नदीको लम्बाई ३ सय ६० किमी र चौडाई ६ सय ३० किमी हाराहारीमा फैलिएको छ । बढ्दो जनघनत्वसँगै नदीको पहिचान मेटिने र मिचिनेक्रम जारी रहँदा नदीको पुरानो पहिचान खोज्ने, नदी र नदी किनारा आसपासको स्वच्छता विगतकै अवस्थामा फर्काउने प्रयास भइरहेका छन् ।

वाग्मती सफाई महाअभियानको धेरथोर प्रभाव उपत्यकाका अन्य नदी र उपत्यका बाहिर पनि परेको छ । २०७० जेठ ५देखि शुरु भएको वाग्मती सफाई महाअभियानले ३ सय हप्ता पार गरिरहँदा सयौ संघ÷संस्था स्वतः स्फूत यस कार्यमा सहभागी हुँदै आएका छन् । यस अवधिमा १ हजार ८ सय मेट्रिकटन भन्दा बढी फोहोर संकलन गरी व्यवस्थापन गरिएको महाअभियानले जनाएको छ । वागद्धारदेखि चोभार गल्छीको ४० किमी क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष सरसफाई अभियान भइरहेको छ ।

उपत्यकाका प्राय सबै नदी किनारामा व्यवस्थित सडक निर्माण गर्ने, हरियाली बढाउने, बगैंचा निर्माण, ढल व्यवस्थापन गर्ने लहरै चलेको छ । वाग्मतीको विभिन्न खण्डमा उस्तै प्रकृतिका र अन्य भौतिक पूर्वाधारका काम भइरहेका छन् । पशुपति क्षेत्रलाई ढल रहित बनाउँदै वाग्मतीमा सफा पानी बहाउने उद्देश्यका साथ अढाई दशकअघि २०५१मा एक समिति गठन भएको थियो । त्यहि समितिको कार्यक्षेत्र विस्तार गर्दै २०६५मा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति गठन भएपछि वाग्मती सफाई अभियानले गति लिदै आएको छ । तर नदी किनारा आसपासको टोल वस्तीमा सामाजिक परिचालनको गतिविधी नजोडिँदा अभियानले अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको पुष्टी भएपछि विगत ४ वर्षयता त्यस्तो गतिविधी पनि हुँदै आएको छ ।

गोकर्ण–सिनामंगल खण्डको फोहोर मैला व्यवस्थापन तथा सामाजिक परिचालनका लागि एकीकृत विकास समाज नेपालको अगुवाईमा नगरपालिका, वडा कार्यालय र संघ÷संस्था नदी सफाईसँग जोडिएका छन् । आगामी एक वर्षभित्र गोकर्ण–सिनामंगल खण्डमा नदीको दुवैतर्फको १४ किमी क्षेत्रले छुट्टै स्वरुप पाउने सामाजिक परियोजनाकी टिम लिडर प्रभा पोखरेल दावी गर्छिन् । उनी भन्छिन्–‘सामाजिक परिचालका विविध गतिविधीपछि विभिन्न ३ वटा नगरपालिकाका १८ वटा वडाले नदी र किनाराको स्वरुप बदल्ने प्रतिवद्धता जनाइसकेका छन्, यस्तो हातेमालोले दीर्घकालका लागि सकारात्मक नतिजा दिनेमा कुनै शंका छैन ।’


परियोजनाले वडा र नगरपालिकासँगको समन्वयमा फोहोर मैला व्यवस्थापन गर्दै नदी किनारा आसपासको वातावरणीय पक्ष सुधार्ने पहल गरेको पोखरेल बताउँछिन् । नदीसँग जोडिएका हरेक वडा कार्यालय, वाग्मती सुन्दरता सरोकार मञ्च, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति वीच दीर्घकालिन हातेमालो गर्ने वातावरण बनाउन परियोजना केन्द्रित रहेको उनले बताइन् । ठोस फोहोर मैला व्यवस्थापनसँगै नदी किनारामा बनेका संरचनाको अपनत्व ग्रहण गर्न वडा कार्यालय र अन्य संघ÷संस्थाले तत्परता देखाएका छन्, अब सिनामंलदेखिको माथिल्लो खण्डले नयाँ स्वरुप पाउनेछ’–पोखरेलले भनिन् ।’

कागेश्वरी मनोहरा, गोकर्णेश्वर र काठमाडौं महानगरपालिकाका विभिन्न १८ वटा वडाको सिमा वाग्मती नदीसँग जोडिएको छ । ४ सय ५८ संघ÷संस्था नदीको सरसफाईमा प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएका छन् । नागरिक समाज, क्लव, आमा समुह, महिला समुह, टोल सुधार समिति, गुठी, विद्यालय, कलेज, सहकारी लगायतका संघ÷संस्था वाग्मतीको स्वरुप बदल्न जुटेका छन् । सफाई अभियानलाई दिगो र प्रभावकारी बनाउन सबै संघ÷संस्थाको छाता संस्थाका रुपमा वाग्मती सुन्दरता सरोकार मञ्च गठन भएको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण तथा अनुदान सहयोगमा वाग्मती सुधार अभियान अन्र्तगत विविध परियोजना सञ्चालनमा छन् । पोखरेल नेतृत्वको सामाजिक परिचालन परियोजना वाग्मती सुधार आयोजनाका विविध प्याकेज मध्येको एक हो ।

एडीबीको आर्थिक सहयोगमा गोकर्णदेखि सिनामंगलको दुवै किनारा (पशुपति क्षेत्र बाहेक)को खण्डमा नदी किनारा सौन्दर्यकरणका विविध काम भइरहेका छन् । नदीका दुवै किनारामा पर्खाल लगाउने, साइकल ट्रयाक, फुटपाथ, वगैंचा, विश्रामस्थल, सार्वजनिक शौचालय निर्माण सहित हरियाली प्रवद्र्धनका गतिविधी भइरहेको छ । पानी छचल्किँदै बहने होचा बाँधको संरचना ‘एरिएसन वेयर्स’ ७ किमी क्षेत्रको विभिन्न स्थानमा निर्माण भइरहेको छ । एरिएसन वेयर्सले पानीमा अक्सिजनको मात्रा बढाउने भएकाले माछा र अन्य जलचरका लागि निकै उपयोगी हुने बताइन्छ । त्यसैगरी घाट र नदी किनारासँग जोडिएका सिँडी १२ ठाउँमा प्रस्ताव गरिएकोमा धेरै ठाउँमा निर्माण सम्पन्न भइसकेको छ भने किरियापुत्री घर पनि निर्माण भएका छन् । सौर्य बत्ति जडान गर्ने काम पनि शुरु भएको छ ।

वाग्मती सुधार आयोजना सुरु भएपछिको अढाई दशकको इतिहासमा सामाजिक परिचालनको अभियान ४ वर्ष अघि मात्रै शुरु भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी बताउँछन् । नदी र नदी किनारा आसपासमा ठोस फोहोरको दीर्घकालिन व्यवस्थापन नगरेसम्म नदीलाई पुरानै स्वरुपमा बदल्न असंभव रहेको वाग्मती सुन्दरता सरोकार मञ्चको ठहर छ । घर–घरबाट निस्कने फोहोरलाई मोहरमा बदल्न मञ्चको अगुवाईमा विभिन्न कृयाकलाप हुँदै आएका छन् । ३ वटै नगरका वडावासीलाई कम्पोस्ट मल बनाउने विधी सिकाउँदै ‘कम्पोस्ट विन’ वितरण गरिएको छ ।

फोहोर कुहाउने विधी, कौसी खेती, करेसाबारी, गमलाखेतीको अभियानले सकारात्मक सन्देश दिन थालेपछि विनको माग निकै बढेको मञ्चका अध्यक्ष एवं वाग्मती सफाईका अभियन्ता उत्तम पुडासैनीले बताए । उनले भने–‘विन त्यसै वितरण गरेर मात्रै हुँदैन, त्यसको प्रयोग विधी पनि थाहा पाउनुपर्छ, त्यसैले विन माग गर्नेहरुलाई लक्षित गर्दै तालिम दिने तयारी भइरहेको छ ।’ यस अघि ९ सय ८१ वटा विन वितरण भइसकेको र १ हजार ५ सयका हाराहारीमा थप माग आएको पुडासैनीले बताए । सामाजिक परिचालन परियोजनाले यस्तो कार्यका लागि आवश्यक जनशक्ति तयार गर्न प्राविधिक सहयोग उपलब्ध गराएको छ । ‘कुहिने र नकुहिने फोहोरलाई स्रोतमै व्यवस्थित गर्न जरुरी छ, स्रोतमै फोहोर व्यवस्थापन गरियो भने मात्रै वाग्मती सफाईले सार्थकता पाउँछ’–पुडासैनीले भने ।

प्रतिक्रिया दिनुहोस्