मानव स्वास्थ्यमा असर पार्ने उद्योग बन्द गर्न माग



काठमाडौँ ।
गैरकानूनीरुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट ९अलकत्रा पगाल्ने० उद्योग बन्द गराउन ललितपुर महानगरपालिका वडा नं ४ बाग्डोलस्थित मलपोखरीका स्थानीय बासिन्दले माग गरेका छन् ।

उद्योगले निकाल्ने धुवाँ र ध्वनि प्रदूषणका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका हुन् । स्थानीयवासीले महानगरपालिकाको कार्यालयमा उजुरी दर्ता गराउँदै त्यस्ता उद्योग हटाउन माग गरेका छन् ।

बाग्डोल विकास सेवा समाजका अध्यक्ष राजेश कार्कीले सो स्थानमा सञ्चालित आसफाल्ट उद्योगका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको बताउनुभयो । अस्पताल खोल्ने भन्दै झुक््याएर आसफाल्ट प्लान्ट खोलिएको उहाँले सुनाउनुभयो । उद्योग विभागबाट साविक कीर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा बाग्डोलमा प्लान्ट राखेको छ ।

विसं २०५३ पुस ९ गते काठमाडौँमा दर्ता भएको नेपाल आदर्श कम्पनीले कीर्तिपुरमा वर्कसप तथा ग्यारेज राख्नका लागि अनुमति लिएको थियो । उद्योग दर्ता प्रमाणपत्रमा तोकिएको स्थानभन्दा बाहिर बाग्डोलमा आसफाल्ट उद्योग सञ्चालन गरी कानून उल्लङ्घन गरेको स्थानीय बासिन्दाको भनाइ छ । कम्पनीलाई विसं २०७१ माघमा मन्त्रिपरिषद्को निर्णयअनुसार रु पाँच लाख जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

कम्पनीले सरकार र सम्बन्धित निकायले दिएको निर्देशनसमेत अवज्ञा गर्दै आएको छ । वातावरण विभागबाट अनुगमन हुँदा गैर कानूनीरुपमा उद्योग सञ्चालन गरेको र वातावरण प्रदूषण गरेको भन्दै रु ५० हजार जरिवानासमेत गरेको थियो ।

ब्रह्मायणी महिला समूह बाग्डोलकी अध्यक्ष जयमाला ढुङ्गानाले आसफाल्ट प्लान्ट सञ्चालनका कारण प्रदूषण भएको, बच्चा बिरामी भइरहने गरेको दुःखेसो पोख्नुभयो । हावा चलेका बेला कालो धुलो आउने, सुकाएका लुगा सबै मैला हुने गरेको छ । बिहान उठ्दा घाँटी दुख्ने, बच्चालाई टाउको दुख्ने समस्या आएको स्थानीय रुपा दङ्गालले गुनासो गर्नुभयो ।

गुनासो सुनेपछि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अवैध आसफाल्ट प्लान्ट बन्द गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वडा अध्यक्षको समन्वयमा महानगरपलिकाले स्थानीयवासीको साथ लिएर मानवबस्तीमा कम्पनी सञ्चालन गर्न नदिने बताउनुभयो ।

“वातावरण प्रदूषण गर्ने यस्तो उद्योग मानवबस्तीमा सञ्चालन गरेर म नगरवासीको स्वास्थ्यमा खेलबाड गर्न दिन्नँ, त्यो कम्पनीको चिम्नीबाट धुवाँ आयो भने मलाई खबर गर्नुस्, म जे गर्नु पर्छ, त्यो सबै गर्छु”, प्रमुख महर्जनले गैरकानूनी काम गर्नेलाई छुट नदिने उल्लेख गर्दै भन्नुभयो । प्लान्ट बन्द नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुर्ने स्थानीयवासीको चेतावनी छ ।
रासस

प्रतिक्रिया दिनुहोस्