कपिलवस्तुमा चार लाखको प्रतिबन्धित चल्ला नष्ट



सीताराम चौधरी, कपिलवस्तु ।
सशस्त्र प्रहरी कृष्णनगरले ठूलो परिमाणको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल ३९ नम्बर गुल्म कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र के.सी.को कमाण्डमा खटिएको गस्ती टोलीले मध्यरातमा चल्ला बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा गस्ती टोलीले कृष्णनगर ३, सुरही खोला नजिकबाट चल्ला बरामद गरेको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक मनोज धितालले जानकारी दिनुभयो । सशस्त्रलाई देखेर अबैध कारोबारी फरार भएपछि बेवारिसे अवस्थाबाट चल्ला बरामद गरिएको गस्ती टोली प्रमुख सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र के.सी.ले बताउनुभयो । बरामद गरिएका चल्ला ५सय गोटा रहेको के.सी.ले बताउनुभयो । नेपाली बजारमा बरामद गरिएको ब्रोइलर चल्ला करीब ४ लाख मूल्य पर्ने बताइएको छ ।

ब्रोइलर कुखुराबाट बर्डफ्लू, स्वायनफ्लू जस्ता डरलाग्दा रोग फैलिने भएकाले यस्ता पंक्षीजन्य वस्तुलाई नेपाल भित्र्याउन प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित पंक्षीजन्य वस्तु अबैध रुपमा नेपाल ल्याउन लागेको भन्दै पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो । पशु क्वारेन्टाइनका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि, स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीको रोहबरमा बरामद गरिएको चल्ला नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक धितालले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्