खोटाङको थामखर्कमा नियमित उडान शुरु



रामधन राई, खोटाङ ।
खोटाङको थामखर्क विमानस्थलमा नियमित उडान शुरु भएको छ । कालोपत्रेको काम शुरु भएसँगै अवरुद्ध खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान शुरु गरेको हो ।
कालोपत्रेको काम सम्पन्न भएसँगै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाडौं–थामखर्क–काठमाडौं तथा बुधबार काठमाडौं–थामखर्क–बिराटनगर र बिराटनगर–थामखर्क–काठमाण्डौं उडान भर्नेस्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताउनुभयो । थामखर्क विमानस्थलमा नियमित उडान शुरु भएपछि खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका साथै छिमेकी जिल्ला भोजपुरका स्थानीयवासी उत्साहित बनेका छन् ।
कालोपत्रेका विभिन्न चरणका काम शुरु गरिएसँगै २०७३ साल चैत्र १३ गतेदेखि उडान रोकिएको थामखर्क विमानस्थल कालोपत्रे भएपछि गत माघ २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको थियो । जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरेर २०५६ सालबाट उडान शुरु गरिएको विमानस्थल कालोपत्रे नहुँदा वर्षा लागेसँगै अवरुद्ध हुने गरेको थियो ।
थामखर्कसँगै तीन वटा विमानस्थल रहेको जिल्लामा मनमायाँ राई खानीडाँडा र लामीडाँडा विमानस्थल अवरुद्ध छ । मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरो गएर र लामीडाँडा विमानस्थलमा कालोपत्रेको काम हुँदै गरेका कारण अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्