सातखाल्डे गोल्डकपको उपाधि सूर्योदय एफसिलाई 



गणेश घिमिरे, इलाम ।
इलामनगरपालिका १ साँखेजुङमा सम्पन्न सातखाल्डे शहिद स्मृति गोल्डकप फूटबलको उपाधि इलाम सूर्योदय नगरपालिकाको सूर्योदय एफसीले उचालेको छ । सूर्योदयले रेडहर्ष फूटबल क्लब इलामलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधि उचालेसंगै सूर्योदयले एकलाख पाँचहजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ । उपबिजेतामा चित्त बुझाएको रेडहर्षले ५२ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

फागुन १ बाट सुरु भएको प्रतियोगिताको फाईनल खेल ७ गते मंगलबार गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण स्थगित भएको थियो । पहिलो हाफ सकिएपछि बाक्लो हुस्सु लागेपछि आयोजकले खेल स्थगित गर्दै बुधबार दोस्रो हाफबाट खेल सुरु गरेको थियो । जसमा पहिलो हाफको २५ औं मिनेटमा कुशल गुरुङ्गको गोलबाट सूर्योदयले अग्रता लिएपनि दोस्रो हाफमा रेडहर्षले गोल फर्काउँदै बराबरी बनाएपछि जितको नतिजा टाइब्रकेरबाट लिएको थियो । मेची अञ्चलका आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको आयोजना नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल क्षेत्र नम्बर ३ इलामले गरेको होे । प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई नेपाली काँग्रेसका जिल्ला सचिब खगेन्द्र देवान, प्रतियोगितामा प्रथम पुरस्कार प्रदान गर्नुहुने युवा समाजसेवी तथा काँग्रेस इलामका युवा नेता डम्बर खड्काले बितरण गरे ।
२०१७ साल पौष १ गते प्रथम जननिर्वाचित सरकारलाई हटाएपछि नेपाली काँग्रेसले संचालन गरेको आन्दोलनमा लागेका सातजना योद्धालाई साबिक सुलुबुङ्ग गाविसको देउरालिमा एकै ठाउँमा खाल्डो खन्न लगाएर हत्या गरिएपछि त्यसको संझनामा तरुण दलले सो प्रतियोगिता गर्दै आएको छ । त्यस स्थानलाई सातखाल्डे पनि भनिन्छ । इलाममा सात जना मुक्ती सेना योद्धालाई तत्कालीन सेनाले इलामको देउराली स्थित २०१९ साल कार्तिक २४ गते विजयादशमीका दिन उक्त घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्