कारागारका कैदीबन्दीले जेलरलाई सरुवा गराए



भद्रपुर ।
कारागार प्रशासन र कैदीबन्दीबीच विवाद उत्पन्न भएको छ । झापा कारागारको प्रशासन पक्षप्रति असन्तुष्ट जनाउँदै कैदीबन्दीहरुले नाराबाजी गरेपछि विवाद सार्वजानिक भएको हो ।

कारागारका जलेर राजु दाहालले ज्यादती गरेको आरोप लगाउँदै पुरुष तथा महिला कैदीबन्दीहरुले करिब एक घण्टा नाराबाजी गरेका थिए । कारागारका जलेर दाहालले कैदीबन्दीमाथि शोषण र अत्याचार गरेको भन्दै उनीहरुले १७ बुँदे माग अघि सार्दै वुधबार विहान आन्दोलित बनेका थिए ।

अफिसको सम्पूर्ण खर्च , कैदीबन्दीको उपचार ,कारागारको मर्मत संहार,अन्तर जिल्ला अदालत जाँदा सवै खर्च कैदीबन्दीले व्योहर्नु पर्ने , चौकीदार र नाइकेलाइ जेलरको कार्यकक्षमा बोलाएर भने अनुसार नभए असक्षमको आरोप लगाएर सरुवा गर्ने धम्की दिने लगायतको किटानी सहितको लिखित आरोप दाहाललाइ लगाइएको छ । बन्दीहरुले कारागार भवनको छतमा गएर समस्याको बारेमा नारावाजी गरेका थिए । स्थितीले उग्ररुप लिएपछि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल,जिल्लाका एसपी दिनेशराज मैनाली लगायत तत्काल कारागार पुगेर कैदीबन्दीको मागसहितको गुनासा सुनेका थिए । कैदीबन्दीहरुले कारागारका जेलर दाहाललाई तत्काल हटाउनु पर्ने माग प्रजिअ दाहाल समक्ष राखेका थिए ।

कैदीबन्दीको माग सम्बोधन गर्न प्रजिअ दाहालले मौखिक सहमति जनाएपछि कैदीबन्दीले आन्दोलन फिर्ता लिएका थिए ।
कारागारमा नाराबाजी एक्कासी भएको जेलर दाहालको भनाइ छ । समस्याको बारेमा कैदीबन्दी पक्षबाट एकपटक पनि जानकारी नगराएको उनले बताए । समस्या थिए भने भन्दा हुन्थ्यो नि ? नाराबाजी गर्ने कुनै कारण नै थिएन । कारागारको भौतिक पक्ष लगायत अन्य विषय वस्तुमा अहोरात्र खटेको उल्लेख गर्दै सेवाग्राही खुसी नभएपछि त्यहाँ वस्नु उचित नहुने उनले जनाए । कैदीबन्दीबीच कुनै सम्झौता नभएको उनले दाबी गरे । सरुवा भएर आएको तीन महिनाको अवधिमा कैदीबन्दीको हितमा धेरै काम गरेको उनले सुनाए ।

कारागारका चौकीदार मोहन धितालका अनुसार जलेर दाहालले कैदीबन्दीसंग विभिन्न वहानामा रकम माग्ने गरेको आरोप लगाएका छन् । कैन्दीबन्दीलाई राज्यले दिने सेवासुविधा माथि जेलर दाहालले हस्तक्षेप गरी सम्पूर्ण खर्च कैदीबन्दीबाट माग्न थालेपछि हामी आन्दोलित बनेको कैदीबन्दीहरुको गुनासो पोखे ।

घटनापछि तत्काल माग सम्बोधन गर्दै गृह मन्त्रालयमा जानकारी गराइ घटना भएकै दिनबाट तत्कालका लागि दाहाललाइ इलाका प्रशासन कार्यालय गौरीगञ्ज र प्रशासकिय अधिकृत चुडाराज भट्टराईलाइ जेलरको जिम्मेवारी सम्हाल्ने गरी लिखित पत्र दिइसकेको प्रजिअ दाहालले बताए । कर्मचारी हेरफेर गरेपछि कारागारको स्थिती शान्त रहेको दाहाले बताए । दाहालमाथि लागेको आरोपको विषयमा अनुसन्धान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्