पोखरामा नक्कली नोट छाप्ने हेटौंडेली पक्राउ



हेटौंडा ।
पोखरामा नक्कली नोट र छाप्ने उपकरणसहित प्रहरीले हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । एक हजार दरका नक्कली नोट बजारमा छ्याप्छयाप्ती देखिन थालेपछि प्रहरीले अनुसन्धान थाल्दा दुई जना पक्राउ परेका हुन् ।

प्रहरी प्रवक्ता एवम् नायब उपरीक्षक रवीन्द्रमान गुरुङका अनुसार हेटौंडा–९ बस्ने ३३ वर्षीय प्रेमबहादुर तामाङ र हेटांैडा–१ बस्ने २५ वर्षीया सरस्वती बलामीलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुले नक्कली नोट प्रयोग गरी सर्वसाधारणलाई ठग्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ परेकाहरुले एक हजार दरका नक्कली नोट प्रयोग गरी पोखरा–१६, अर्मलास्थित गुरुङ किराना पसलबाट एक सय दरका एनसेलको रिचार्ज कार्ड खरिद गरेका थिए । ९ सय रुपियाँ फिर्ता लिएर जाने क्रममा नोट नक्कली भएको थाहा पाएपछि पसलेले प्रहरीसमक्ष खबर गरेका थिए ।

खोजीका क्रममा पोखरा–५, पस्र्याङस्थित डेरामा नक्कली नोट बनाइरहेको अबस्थामा बगरबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

एक महिना अवधिका उनीहरुले युट्युबमा नक्कली नोट बनाउने भिडियो हेरी सोहीअनुसार बनाउन सिकेको प्रहरीलाई बयान दिएका छन् । कोठामा उनीहरुले नक्कली नोट बनाउने गरेको स्वीकारेका छन् ।

पोखराको विभिन्न स्थानमा गरी २ सय भन्दा बढी ठाउँमा नक्कली नोट दिएर सामान खरिद गर्दै आएको प्रहरीले उल्लेख गरेको छ । उनीहरुले दैनिकरुपमा करिब १० देखि १५ वटासम्म नक्कली नोट साट्ने गरेका थिए । पसलमा केटाकेटी र महिला भए उनीहरुले बढी केन्द्रित गरी सामान किन्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुबाट लेनोभोको ल्याप्टप १ थान, क्यानन कम्पनीको कलर प्रिन्टर १ थान, ओप्पो मोबाइल २ थान, कैंची १ थान, रिचार्ज कार्ड (नेपाल टेलिकम) को १ सय दरका ७९ थान र ५० रुपियाँ दरका ११ थान कार्ड प्रहरीले बरामद गरेको छ ।

नेपाल टेलिकमकै १ सय दरका ७ सय ४० थान कार्ड र ५० रुपियाँ दरका ५६ थान कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ । कटर, पेपर, नेपाली रकम १ लाख २८ हजार ४ सय ३० रुपियाँ र भारतीय रकम १ हजार रुपियाँ बरामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुबाट नक्कली नोट १९ थान फेला पारिएको छ । प्रहरीका अनुसार च २५–६३४१४६ नम्बरका नक्कली नोट १३ थान र च २५–६३४१६३ नम्बरको एक हजार दरको नक्कली नोट ६ थान फेला परेको छ । उनीहरु पोखरामा पुस २७ गते हेटौंडाबाट गएका थिए । ३ दिन पोखराको लेकसाइड होटलमा बसेको उनीहरु त्यसपछि पस्र्याङमा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्