महाकाली सिंचाई आयोजना निर्माणमा बजेट अपुग



मनोज भट्ट, महेन्द्रनगर ।
महाकाली सिंचाई आयोजना तेस्रो चरण अन्र्तगत मुल नहर निर्माणको काम सुरु भएको १२ वर्षमा १३ किलोमिटर नहर निर्माण हुँदा निर्माणको काममा बजेट अभाव भएको छ । विभिन्न ६ प्याकेजमा काम भईरहँदा पनि बजेट अभाव रहेको छ । तर पनि अपुग ५० करोड बजेट आयोजनाको लागि माग गरिएको छ । काम गर्नुपर्ने अवस्थामा पनि विभिन्न क्षेत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय वन रहेका कारण काम गर्न कठिनाई भईरहेको छ । अधिग्रहण गर्नुपर्ने जग्गाको विषयमा पनि टुङगो लाग्न नसक्दा कसरी काम अगाडी बढाउने भन्ने अन्यौलता रहेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवदेखि बेदकोट नगरपालिकाको मुसेपानीसम्म १२ दशमलव ७ किलोमिटर मुल नहर निर्माणको काम गत आर्थिक वर्षमा सम्पन्न भएपछि चालु आर्थिक बर्षमा विभिन्न ६ प्याकेजमा काम भईरहेका छन् । मुल नहरको क्षेत्रमा तीन प्याकेजमा र कमाण्ड क्षेत्रमा तीन प्याकेजमा काम भईरहेको छ । चालु आर्थिक बर्षका लागि कम वजेटले निर्माणको कामले गति लिन सकेको छैन् । अघिल्लो आर्थिक बर्षमै ठेक्का गरिएका कामहरु जारी रहँदा पनि पर्याप्त बजेट रहेको छैन् । चालु आर्थिक बर्षको लागि ५० करोड बजेट अपुग रहेको महाकाली सिंचाई आयोजना तेस्रो चरणका प्रमुख लोकबहादुर थापाले बताए ।

मुल नहर आर्थिक बर्ष २०६६/७६ मा २८ किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएको छ । तर कामका क्रममा वन क्षेत्र र जग्गाको मुआब्जा र क्षतिपुपर्तिको काम हुन नसकेका कारण काममा ढिलाई हुने देखिएको छ । नहर भएर जाने स्थानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज राष्ट्रिय वन क्षेत्र भएकोले वन मन्त्रालयको अनुमतिमा मात्रै नहर खन्ने काम गर्न पाईने प्रावधान रहेको छ । समस्याको समाधान हुन सकेमा काममा अवरोध नआउने आयोजना प्रमुख थापा बताउँछन् ।

त्यसैगरी जग्गा मुआव्जा दिनुपर्ने ठाउँहरुमा ऐलानी प्रति जग्गा भएकोले पनि त्यसको विषयमा जिल्ला प्रशासन कार्यालयले निर्णय गर्नुपर्नेमा त्यो पनि हुन सकेको छैन् । वन मन्त्रालयलाई पत्राचार गरेर वन क्षेत्रमा कामका लागि मन्त्री परिषद्बाट पास गराउनका लागि पहल भएको देखिदैन् । यसका लागि जिल्ला प्रशासनले पनि चासो देखाएको छैन् । तर कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर विष्टले यसको बारेमा जानकारी नभएको बताए ।

आयोजना अन्तर्गत सामुदायिक वन, निकुञ्ज क्षेत्रमा पर्ने रुखको गणना कार्य सकिएको छ । त्यसैगरी घर जग्गाको पनि लगत संकलनको काम भईसकेको छ । मालाखेती र त्रिभुवन वस्तीसम्मको जमीन सिंचाई गर्नका लागि नहर निर्माण गरिनेछ । त्यसका लागि चालु आर्थिक बर्षमा डेढ करोडमा डिपिआर बनाउने काम थालिएको महाकाली सिंचाई आयोजना तेस्रो चरणका प्रमुख लोकबहादुर थापाले जानकारी दिए ।

आयोजनाका लागि वातावरणिय प्रभाव मुल्यांकनको काम भने २०६५ मै गरिएको थियो । आयोजना अन्तरगत ब्रह्मदेवदेखि चुरे फेदी हुदै कैलालीको मालाखेती र कञ्चनपुरको त्रिभुवनवस्तीसम्म १ सय ५१ किलोमिटर मुल नहर निर्माण हुनेछ । सो नहरबाट ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ । थप केही क्षेत्र छुटेकाले सिंचित क्षेत्रफल करिब ४० हजार हेक्टर पुग्ने अनुमान गरिएको छ । २००१ मा गरिएको ईष्टमेट अनुसार आयोजनाका लागि ११ अर्ब लागत अनुमान गरिएको थियो ।

२०१५ मा लागत अनुमान बढेर २७ अर्व पुगेको छ । आयोजना सुरु गर्दा २०१८ मा सक्ने लक्ष्य राखिएको थियो । अहिले पनि २०२२ मा सक्ने लक्ष्य राखिएको छ । अहिलेकै गतिले काम भए ४०÷५० वर्ष लाग्न सक्ने प्राविधिकहरु स्वयम स्वीकार गर्छन् । राष्ट्रिय गौरवको आयोजना वन्न नसक्दा वर्षेनी वजेट अभावले चुनौती वढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्