अष्ट्रेलियामा अलपत्र विद्यार्थिको उद्धार गर्न कांग्रेसको माग



काठमाडौ (नेस)
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको भन्दै उनीहरुको उद्धार र उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वुधवार एक विज्ञप्ती जारी गरि पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाउन पनि आग्रह गरेको छ । अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको भन्दै काग्रेसले भनेको छ– अष्ट्रेलियाको स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ ।

नेपाली कांग्रेसले यस घटनाका सम्बन्धमा पार्टीको नेपाली जनसम्पर्क समितिलाई तत्काल थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन समेत दिइसकेको छ । प्रवत्ता शर्माले दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन समेत पार्टीको तर्फबाट सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्