‘म बनाउँछु मेरो जुगल’ भन्दै जागे विद्यार्थी



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

– खेर गइरहेका पानीले जुगललाई झिलिमिली बनाउँछौं । जल, जमिन, जडिवुटी र जंगलको उपयोग गर्दै जुगलको मुहार फेर्नेछौं ।
– कृषि उत्पादन बढाउँदै आयआर्जनमा लाग्नुपर्दछ, पर्यटन प्रवद्धन गर्दै जुगलमा पर्यटकहरु भित्र्याउनु पर्दछ । त्यसका लागि म मेरा ठाउँबाट लाग्न तयार छु ।
– संस्कृतिको जर्गेना गर्छौ, किताव मात्र पढ्दैनौं अब हामी जुगलको भुगोल पढ्छौं । कपिका पानामा मात्रै अक्षर लेख्दैनौं, कुटो कोदालोले खेतवारीमा समृद्धिको भविष्य कोर्नेछौं ।

साताअघि जुगल गाउँपलिकाले आयोजना गरेको ‘मेरो जुगल म बनाउँछु’ शिर्षकको बक्तृत्वकला प्रतियोगितामा सहभागि विद्यार्थीहरुले यी यस्तै अठोट गरे । गाउँपालिकाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा उनीहरुले जुगलको पानीबाट बिजुली निकालेर गाउँबस्तिलाई झिलिमिली पार्नेदेखि संस्कृतिको जर्गेना गर्नेसम्मका प्रतिवद्धता गरे । प्रतियोगितामा उत्कृष्ट स्थानका लागि नभई उनीहरु जुगल समृद्धिका लागि प्रतिवद्धता गर्दै प्रतिष्पर्धा गरिरहेझैं देखिन्थ्यो ।
बिद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगितामा सहभागिहरुले ‘मेरो जुगल म बनाउँुछु’ भन्दै भाषण मात्रै गरेनन्, सम्बृद्ध जुगल निर्माणका लागि प्रतिवद्धतासमेत व्यक्त गरे उनीहरुले । प्रतियोगितामा सहभागीहरुले जल, जमिन, जडिबुटीको उपयोगबाट जुगलको मुहार फेर्नमा घर घरबाट मेरो जुगल म बनाउँछु भन्दै जुट्नुपर्ने बताए । ‘भोलिको आशामा मात्र बसेर हुदैन संबृद्ध जुगलका निर्माणका लागि आजै जुट्नु जरुरी छ’, बक्तृत्वकलामा बोल्दै स्थानीय रामेश्वरी माध्यमिक विद्यालयकी छात्रा सुनिता श्रेष्ठ भन्दैथिईन्,–‘जुगल प्राकृतिक रुपमा सम्पन्न छ अव यसलाई संसारकै उत्कृष्ट गन्तव्य बनाउन हामी सबै लाग्नु पर्छ ।’ प्रतियोगितामा सहभागी कालीदेवी माध्यमिक विद्यालय पाङताङका रुकेश न्यौपानेले कृषि र पर्यटनबाट जुगलको मुहार फेर्न सकिने बताए ।

‘कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउनुपर्दछ, जुगल आरोहणमा पर्यटक भित्र्याएर जुगलले मनग्य आम्दानी गर्न सक्छ’, उनले भने,–‘आफ्नो ठाउँबाट सवै लाग्ने हो भने हाम्रो जुगल, राम्रो र सुखी बन्न सक्छ ।’

प्रतियोगितामा सहभागि १६ विद्यार्थीले बक्तृत्वकला मार्फत जुगल समृद्धिको परिकल्पना प्रस्तुत गरेका थिए । विद्यार्थीका परिकल्पना र वाक क्षमताबाट आफुहरु प्रभावित बनेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘भाषण गर्ने कला विद्यार्थी भाइबैनीमा यतिधेरै विकास भएछ, कि हामीले कल्पनै गरेका थिएनौंं’, अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगितामा रामेश्वरी माध्यमिक विद्यालयकी छात्रा सुनिता श्रेष्ठ प्रथम भईन् । कालीदेवी माविका छात्र रुकेश न्यौपाने द्धितिय भए भने जलदेवी माविकी प्रमिला बिक तृतीय भईन् । उनीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्